Comments Add Comment

कोरिया घुम्ने सभासदबाट १२ लाख असुल्न माग

२७ असोज, काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एशियाड खेलकुद हेर्ने नाममा राज्यकोषको खर्चमा गएका सभासदहरुबाट सो रकम फिर्ता गराउन सभासदहरुले नै माग गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुले खेलसँग असम्बन्धित व्यक्तिहरु राज्यकोष लुटेर कोरिया गएको भन्दै आपत्ति जनाएका हुन् ।

समिति बैठकमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई बोलाएर एशियाडमा नेपाली खेलकुदको निरस प्रदर्शन, खेलाडी पलायन र असम्बन्धित व्यक्तिहरुको भीड लगिएका बारेमा छलफल गरिएको समितिका सदस्य रामहरी खतिवडाले बताए ।

बैठकमा सभासदहरुले राज्यकोषबाट थप १२ लाख खर्च गराएर सभासदहरुलाई कोरिया लगिएको भन्दै सो रकम सम्बन्धित सभासदहरुबाटै तिराउन माग गरेका थिए ।

मन्त्री पौडेलले संसदका महिला तथा वालवालिका समितिको मौखिक आग्रहमा अर्थ मन्त्रालयसँग थप १२ लाख रुपैया निकास गरेर तीन दलका पाँच सभासदलाई कोरिया लगिएको स्वीकार गरेका थिए ।

कांग्रेसका सुजाता परियार र शारदा पौडेल, एमालेका जयन्ती राई र रीता रावल तथा एमाओवादीकी निशा साह एशियाडकै बेला कोरिया पुगेका थिए ।
बैठकमा खेलाडीभन्दा बढी असम्बन्धित व्यक्तिहरु लगिएकोमा पनि मन्त्री पौडेलले आत्मालोचना गरेका थिए ।

एशियाडका लागि कुल बजेट ६ करोड ३४ लाख विनियोजन गरिएकोमा ६ करोड ३ लाख खर्च भएको विवरण मन्त्रालयले समितिलाई बुझाएको छ ।
नेपालले एशियाडमा २ सय ५० भन्दा बढी खेलाडी लगे पनि पदक भने एउटा काश्यमात्र हात पारेको छ ।

एशियाड खेल्न गएका खेलाडीमध्ये चारजना उतै लुकेको मन्त्री पौडेलले जानकारी दिए । तर, लुक्नेहरुको संख्या अझ बढी रहेको सभासद खतिवडाले बताए ।

एशियाडमा चार प्रकारका मान्छे गएको पाइएको खतिवडाले बताए । उनले समिति बैठकमा भने-एकथरि खेल्न गए, अर्काथरि घुमघाम र सपिङका लागि गए, तेस्रो, मन्त्रीका परिवार र आफन्तहरु गए भने चौथो भाग्नका लागि गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment