Comments Add Comment

बाँकेमा फेरि दुई महिला जले, अवस्था गम्भीर

आरपी सुवेदी

२७ असोज, नेपालगन्ज । बाँकेमा एकैदिन दुई महिला जलेर गम्भीर घाइते भएका छन् । बाँके ईन्द्रपुर-९ मानपुर की १९ वर्षीया पुजादेवी नाउ र खासकारकाँदो-२ भुजईगाउँकी २५ वर्षीया हेमकुमारी धोवी आफ्नै घरभित्र आगोमा जलेर घाइते भएका हुन् ।

PUJA-&-HEMKUMARI-NEPALGANJबच्चालाई दूध खुवाउदै गर्दा बच्चाले अचानक कोल्टे फेर्दा टुकी पल्टेर आगो लागेको पुजाले बताईन् ।

आईतबार साँझ ७ बजे भएको सो घटनामा उनीमात्रै जलेकी छन् । उनको शरिरको ४५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । तर, काखमा रहेको बच्चालाई भने केही पनि भएको छैन ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले उनका पति पवन नाउलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पुजाकी सासु मुनका नाउले भनिन्-‘म घरको अर्को कोठामा पूजा गर्दै थिएँ । आगो लागेको हल्ला आयो । दौडेर बाहिर निस्कदा मेरो माईलो छोरोले बुहारीको आगो निभाउदै थियो ।’

तर उनको छोरा तथा पुजाको श्रीमान पवनलाई घरबाट भाग्दै गरेको अवस्थामा खजुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुजाकी सासु मुनकाले छोरा-बुहारीबीच पहिला झगडा हुने गरेको जानकारी समेत दिएकी छन् ।

हेमकुमारी पनि जलिन्

यसैगरी नेपालगन्जको भुजईगाउँकी हेमकुमारी पनि आगोमा जलेकी छन् । घाईते हेमकुमारीको शरिरको ९० प्रतिशत भाग जलेको छ ।

उनले खाना पकाउदै गर्दा आफ्नो शरिरमा आगो सल्केको बताईन् । तर, घटनास्थलमै गएर बुझ्दा उनले भनेको जस्तो नभएको प्रहरीको भनाइ छ ।

घटना आइतबार राति ८ बजे भए पनि उनलाई सोमबार विहान साढे तीन बजे मात्रै परिवारका सदस्यहरुले उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज पुर्‍याएका थिए । घटनास्थल नेपालगन्ज नगरबाट ४-५ किलोमिटरको दुरीमा पर्दछ ।

हेमकुमारीका बुवा रंगिलाल धोबीले आफ्नी छोरीलाई ज्वाईं गयाप्रसादले जलाएको जिकीर गरे । ‘साँझै घटना भएको रहेछ मैले विहान मात्र थाहा पाएँ,’ रंगिलालले भने, ‘ज्वाईंले छोरीलाई पटक-पटक पिटेर अनुहारै निलो हुनेगरी घरबाट लखेट्ने गरेकोले यो घटनामा पनि ज्वाईकै हात छ ।’

करिव अढाई महिना अघि गर्भवती अवस्थामै छोरीलाई पिटेर ज्वाईंले माईत पठाएको उनले जानकारी गराए ।

घाइते हेमकुमारीका २ छोरा र १ दुई महिनाकी छोरी छन् ।

के भन्छ प्रहरी ?

बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक शेखर कोइरालाले हेमकुमारीले भनेको जस्तो भान्सामा खाना बनाउदा उनी जलेको कुनै संकेत घटनास्थलमा नदेखिएको बताए । उनले भने-‘पीडितले भनेअनुसार घटनास्थल छैन । घटना बाहिर आँगनमा भएको देखिन्छ ।’

प्रहरीले घटना अनुसन्धानको लागि हेमकुमारीको पति गयाप्रसादलाई नियन्त्रणमा लिएको छ ।

अवस्था गम्भीर भएपछि काठमाडौं रिफर

आगोमा जलेका पुजा र हेमकुमारी दुबैको अवस्था गम्भीर छ । घाईते दुबै जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि काठमाडौं रिफर गरिएको भेरी अञ्चल अस्पतालका सर्जरी वार्डका सर्जन रुपानन्द अधिकारीले जानकारी दिए ।

उपचारको पहल

यसैबीच घटनाबारे जानकारी पाएलगत्तै महिला विकास कार्यालय जिल्ला लैंङ्गिक हिंसा उद्दार समितिले पुजा र हेमकुमारीको स्वास्थ्य उपचारको लागि पहल सुरु गरेको छ । महिला विकास कार्यालय बाँकेकी सुपरभाईजर विन्दू कुँवरका अनुसार उपचारको लागि ईन्सेक नेपालगन्ज, माईती नेपाल र बिभिएसलगायतका संस्थाहरुले पहल गरेका छन् । उनीहरु दुबैजनाको काठमाडौंमा विभिएसले निःशुल्क उपचार गरिदिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment