Comments Add Comment

जनजातिले आन्दोलनको मोर्चा बनाउन भेला बोलाए

Janajati-andolan

  • आन्दोलनबारे छलफल गर्दै जनजाति अगुवाहरु । तस्वीरः कुमार लिङदेन

२७ असोज, काठमाडौं । पद्मरत्न तुलाधरको नेतृत्वमा आन्दोलनको मोर्चा बनाउन जनजातिहरुले भेला बोलाएका छन् । पहिचानसहितको संघीयतासहितको माग राख्दै तुलाधरको नेतृत्वमा संघर्ष समिति बनाउन ३० गते जनजातिहरुको भेला बोलाइएको छ ।

‘संघीयताको सवालमा पहिचानको मुद्दा नै हो तर, यो एउटा सवाल मात्र हो’ आन्दोलन गर्नु पर्नाको कारणबारे तुलाधरले भने-‘गणतन्त्र भनिएको छ, समावेशी भनिएको छ तर, जनजातिको पहिचान मात्र होइन, अस्तित्वलाई नै स्वीकार गरिएको छैन । सबै विभेद यथावत राखिएको छ ।’

अब आन्दोलन नगर्ने हो भने हिजो राजाले एक थान संविधान दिएका थिए । अहिले ठूला पार्टीहरुले पनि एक थान संविधान दिन्छन्- तुलाधर

जनजातिले जातीय राज्य नभए पहिचान र अधिकार मागेको भन्दै उनले जातीय राज्य भनेर भ्रम फैलाइएको बताए । उनले भने-‘२५/२६ बटा मिटिङ गरिसकेँ । कसैले पनि जातीय राज्य हुनुपर्छ भनेका छैनन् ।’ गणतन्त्र आएपछि प्रधानमन्त्री भएका सातजना बाहुन भएको भन्दै उनले भने-‘योचाँहि एक जातीय राज्य जस्तो भएन ।’

नेतृत्वका लागि तुलाधर तयार

नेताहरुका अनुसार आन्दोलनका लागि तुलाधरको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति बन्नेछ । नाम भने टुङ्गो लागेको छैन । आन्दोलनलाई बैरागी काइँला र सत्यमोहन जोशीले पनि साथ दिने बताएका छन् ।

तुलाधरले सामूहिक नेतृत्व प्रणालीअनुसार चल्ने गरी आफू पनि रहने बताए । ‘११ सदस्यीय समितिमध्ये एक-एक रहन्छ । नेतृत्व सामूहिक प्रणालीको हुनेछ’ उनले भने-‘उमेरले बुढा भए पनि बैरागी काइला र सत्यमोहन जोशीले समेत आन्दोलनका लागि ढिला भइसक्यो भन्नु भएको छ ।’

तुलाधरको नेतृत्वमा बन्न लागेको मोर्चामा आदिवासी जनजाति महासंघसहित विभिन्न जातीय मोर्चा तथा समूहहरु सहभागी हुनेछन् । यसका लागि पासाङ शेर्पा, सुरेश आलेमगर, कृष्ण भट्टचन, मल्ल के सुन्दरसहितका जनजाति अगुवाहरुले लामो समयदेखि पहल गर्दै आएका थिए ।

आन्दोलनको विकल्प छैन

आन्दोलनको अगुवाइ गर्न तयार भएका तुलाधर निर्णायक आन्दोलन नगरे आदिवासी जनजाति, मधेसीलगायतले अधिकार नपाउने बताउँछन् ।

अब हुने आन्दोलन सम्झौतामा गएर टुङ्गिन नहुने अगुवाहरुको शर्त छ । ‘अब आन्दोलन नगर्ने हो भने हिजो राजाले एक थान संविधान दिएका थिए । अहिले ठूला पार्टीहरुले पनि एक थान संविधान दिन्छन्’ उनले भने ।

जनजातिले पहिचान मागेको तथा कांग्रेस एमाले लगायतका दलहरुले भौगोलिक विभाजनको कुरा गरेको भन्दै उनले आन्दोलन भए केही अधिकार पाउने बताए ।

प्रचण्ड मोर्चासँगको सम्वन्ध

तुलाधर नेतृत्वमा हुने आन्दोलनलाई गैरराजनीतिक बनाउने बताइएको छ । तर, मोर्चाले पहिचान पक्षधरका दलहरुमा आवद्ध नेताहरुको बाहुल्यता रहनेछ । ‘अरु कुरा ननपोलिटिकल भएपनि पहिचानको मुद्दामा एउटै होला’ तुलाधरले भने-प्रचण्ड मोर्चासँगको सहकार्यबारे छलफलकै क्रममा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment