Comments Add Comment

भिजन २०२० सफल बनाउन पर्यटन व्यवसायी एकजुट, हानले गर्‍यो नेतृत्व

Vision-2020-TaksForce

३० असोज, काठमाडौ. । भिजन २०२० सफल बनाउन सरकारले ठोस तयारी नगरेपछि पर्यटन व्यवसायीहरु आफै तातेका छन् । उनीहरुले भिजन २०२० का लागि निजी क्षेत्रको छुट्टै कार्यदल बनाएका छन् ।

होटल संघ नेपालका महासचिव विनायक शाहको अध्यक्षतामा पर्यटन सम्बद्ध सबै संस्थाहरुका महासचिव सदस्य रहेको कार्यदल गठन गरिएको हो ।

सन् २०२० सम्म मुलुकमा २० लाख पर्यटक भित्राउने लगायतका महत्वपूर्ण लक्ष्यसहित भिजन २०२० तयार पारिएको थियो । भिजन २०२० को लक्ष्य पुरा गर्न पर्यटनसम्बद्ध निजी क्षेत्रका संघ-संगठनहरुले आफ्नो तर्फबाट तयारी थाल्ने भएका हुन् ।

होटल संघ नेपालको सचिवालयमा बुधबार बसको पर्यटनसम्बद्ध संघ-संगठनका पदाधिकारीहरुको बैठकले भिजन २०२०को लक्ष्य पूरा गर्न सहकार्य गर्ने सहमती गरेका छन् । उनीहरुले पूर्वतयारीका लागि राष्ट्रियस्तरको कार्यक्रम गर्ने निर्णय समेत गरेका छन् ।

भिजन २०२०का लक्ष्यहरु कसरी पूरा गर्ने भन्ने सन्दर्भमा आउँदो एक महिनाभित्र राष्ट्रियस्तरको कार्यशाला गर्ने निर्णय बैठकले गरेको छ । कार्यदलले उक्त कार्यशालाको सबै तयारी गर्नेसमेत निर्णय भएको छ ।

बैठकमा होटल संघ नेपाल, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल, नेपाल ट्राभल एन्ड टुर एजेन्ट्स, प्यासिफिक एसिया ट्राभल एजेन्ट्स, नेपाल एशोसियसन अफ टूर अपरेटर्स तथा नेपाल पर्वतारोहण संघका पदाधिकारीहरु सहभागी थिए ।

बैठकपछि कार्यदलका अध्यक्ष शाहले भने, ‘भिजन २०२० आफैमा महत्वपूर्ण कार्यक्रम भएपनि सरकारको तयारी सुस्त भएकाले हामी आफै यसको लक्ष्य प्राप्तिका लागि तयारी गर्ने निर्णय गरेका हौं ।’

अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्द्धन गर्ने निकाय नेपाल पर्यटन बोर्ड आन्तरिक विवादका कारण प्रभावहिन रहेको अवस्थामा भिजन २०२० को लक्ष्य जटिल भएको बेलैमा यस विषयमा सरकार गम्भीर हुनुपर्ने शाहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment