Comments Add Comment

पूर्व पर्यटनमन्त्री भन्छन- नीति नै नभएको बोर्डमा के-को नीतिगत भ्रष्टाचार ?

३ कात्तिक, काठमाडौं । पर्यटन बोर्डमा कानुन विपरित दुई सदस्य र कर्मचारी नियुक्त गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठमाथि सभासदहरुले आक्रोस पोखेका छन् ।

बोर्डमा भएको भ्रष्टाचारका बारेमा स्पष्टिकरण दिन सोमबार संसदको लेखा समितिमा उपस्थित भएका श्रेष्ठमाथि सभासदहरु खनिएका हुन् । श्रेष्ठले बोर्डका सदस्यद्धय रेवत बहादुर थापा र ध्रुव नारायण श्रेष्ठलाई उनीहरुको कार्यकाल नसकिदै मन्त्रीस्तरीय निर्णय गराई पुनः नियुक्ती दिएका थिए ।ramkumar shrestha

साथै, श्रेष्ठले आफु मन्त्री हुँदा पीए निरज श्रेष्ठकी श्रीमती सहनशीला श्रेष्ठ लगायतका कर्मचारीहरुलाई बोर्डमा सिधै नियुक्त गरेका थिए । मन्त्रीले आफ्नो शक्तिको दूरुपयोग गरेर ठाडो आदेशमा सदस्य र कर्मचारी नियुक्त गरेको सभासदहरुको आरोप छ ।

‘कुनै ठाउँमा आर्थिक अनियमितता प्रत्यक्ष हुन्छ भने कुनै ठाउँमा अप्रत्यक्ष रुपमा हुने गर्छ, पर्यटन बोर्डमा मन्त्री श्रेष्ठले नीतिगत भ्रष्टाचार गरेका छन’ सभासद धनराज गुरुङले भने- ‘कार्यकाल नसकिदै कानुन मिचेर पुनः नियुक्ती दिँदा त्यहाँ शंका उत्पन्न हुन्छ, आर्थिक अनियमितताको आशंका गर्न सकिन्छ ।’

पूर्वमन्त्री श्रेष्ठले भने आफ्नो कार्यकालमा बोर्डमा कुनै पनि भ्रष्टाचार नभएको भन्दै आफ्नो बचाउ गरेका थिए । उनी भन्दै थिए- मेरो कार्यकालभर बोर्डमा भ्रष्टाचार तथा अनियमितता भयो भनेर एउटा पनि उजुरी आएन ।

सभासदले नीतिगत भ्रष्टाचार गरेको भन्ने आरोपको खण्डन गर्दै श्रेष्ठले नीति नै नभएको ठाउँमा कसरी नीतिगत भ्रष्टाचार हुन्छ भन्दै प्रतिप्रश्न गरेका थिए । एकपटक योग्य ठहरिएर सदस्यमा नियूक्त भइसकेको व्यक्तिलाई पुनः नियुक्त गर्न उसको योग्यता खोज्न र प्रकृया अपनाइरहन नपर्ने उनले दाबी गरे ।

श्रेष्ठले नियुक्त गरेका दुई जना सदस्यहरुको नियुक्ती अदालतले बदर गरेको थियो । ‘सदस्य नियुक्ती प्रकृया गलत भएकै देखेर अदालतले बदर गर्‍यो होला, सही ढंगबाट नियुक्ती गरेको भए किन बदर हुन्थ्यो, नियम विपरित सदस्य नियुक्ती गर्ने अनि नियमसंगत गरेको भनेर दाबी गर्न पाइन्छ ?’ अर्का सभासद रामहरी खतिवडाले श्रेष्ठलाई प्रश्न गरेका थिए ।

सदस्यहरुको पुनः म्याद थपिएको यो पहिलो घटना भएको जानकारी दिँदै पूर्वमन्त्री श्रेष्ठले कार्यअवधि नसकिदै म्याद थप गर्नुमा आफ्नो कुनै गल्ती नभएको दाबी गरेका थिए । ‘दुई दिन अगाडी पुनः नियुक्त गर्दा त्यहि मान्छे गलत हुने, कार्यअवधि सकिएपछि नियुक्त गर्दा त्यहि मान्छे राम्रो हुने कसरी ?’ उनले सभासदमाथि प्रश्नहरु तेर्साउँदै थिए ।

दुई जना सदस्य श्रेष्ठ र थापालाई कार्यअवधि सकिनुभन्दा दुई दिन अगाडी मन्त्रीस्तरीय निर्णयबाट पुनः नियुक्ती दिइएको थियो । उनीहरुको नियुक्ती अदालतले बदर गरेपनि बोर्डका महत्वपूर्ण बैठक तथा निर्णय प्रकृयामा उनीहरुको उपस्थिती रहने गरेको थियो ।

मन्त्रीको पीएको श्रीमतिलाई बोर्डमा नियुक्त गर्न मिल्दैन भन्ने नियम कहीँ नभएको हुँदा योग्यता भएमा नियुक्त गर्न मिल्ने श्रेष्ठले दाबी गरे । सहनशीला श्रेष्ठको नियुक्तीमा आफुले कही तोक नलगाएको उनको स्पष्टोक्ति थियो ।

सभासद धनराज गुरुङले सदस्य र कर्मचारी नियुक्त गर्दा पूर्वमन्त्री श्रेष्ठले कानुन उल्लघंन गरेको जिकिर गरेका थिए । बोर्डमा सदस्य चयन गर्दा मनोनयन सिफारिस समिति गठन हुनुपर्ने, कर्मचारी नियुक्त गर्दा विज्ञापन गर्नुपर्नेमा दुबै नभएको उनको भनाई थियो ।

सभासद रामहरि खतिवडाले आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार नभएको भन्ने श्रेष्ठको पुष्टाईं गलत भएको बताएका थिए । उनले गल्ती गरेको देखिएमा मन्त्रीलाई पनि नछोडिने चेतावनी दिएका थिए ।

लेखा समितिले पूर्वमन्त्री श्रेष्ठसहित टान तथा एनएमएका पदाधिकारीहरुलाई स्पष्टीकरणका लागि बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment