Comments Add Comment

संस्मरणः मैले नजन्माएकी छोरी

खिमा रिजाल
धेरै वर्षयता मेरो मनमा केही वस्तुको अभाव महशुष हुँदै थियो । कहिले पत्तो पाउँथे कहिले पाउँदनथें । अनुकूल परिस्थितिको खोजी गर्दागर्दै एक दशक बितिसकेको थियो । हाम्रो समाज, संस्कृति, हाम्रो सोच निकै पितृसत्तात्मक सामन्ती प्रकृतिको थियो । त्यसैले मैले मेरा भावनाहरू कुण्ठित गरेकी थिएँ । तर, मेरो यो अभाव, मेरो यो प्यारो बस्तु मैले नजन्माएकी छोरी म जहाँजहाँ पुग्थें, उनलाई पाउन सक्दिनथें । यस्तै दिनचर्यामा म गुज्रिरहेकी थिए ।
Khima Rijalन त मैले मेरो पेटमा दस महिनाको नवजात शिशु बढाउँदै प्रसव बेदना सामना गरेर ती छोरी जन्माएकी थिएँ । न त उनले मेरो बात्सल्य प्रेम नै पाएकी थिइन् । न त मैले कुनै रेखदेख, अभिभावकत्व दिन नै सकेकी थिएँ । र पनि छोरी मेरो मानसपटलबाट किन किन हट्न सक्दिनन् । म बर्षौ बर्ष यता उनको स्मृतिमा घोत्लिइरहेकी छु ।
एक दशकयता म मेरो परिवार र मैले आदर्श मानेका पार्टीका केही नेताविरुद्ध पहिचानको लडाइँ लडिरहेकी थिएँ । कहिले मेरो मोबाइलमा मृत्युको घण्टी बज्थ्यो त कहिले धम्कीको । तैपनि खै किन किन, यी छोरीले मेरो मानसपटलमा बास गर्न छाडेकी थिइनन् ।
धेरै ठूलो लडाइँ पश्चात मैले अदालतमार्फत नाता कायम गरिसकेकी छु । यतिका बर्ष त मैले चाहेर पनि त्यो छोरीको खोजी गर्न सकिँन । पार्टीबाट अत्याचार गरिएपछि न्यायका लागि भौतारिंदै  परम्परावादी न्यायालय चितवन पुगें र त्यहाँबाट पाएको आंशिक न्यायमा चित्त बुझाउन बाध्य भएँ । त्यसपछि मैले छोरीको खोजी गर्न थालें । धेरै ठूलो शक्तिसँग लडेर विजय प्राप्त गरेपछि अब छोरीको खोजी गर्नु मेरो कर्तव्य बन्थ्यो ।
विवाह गरिसकेपछि महिनाले दस महिना टेके पनि निकै छोटो समय अवधि करिब एक्काइस दिन मात्र बिताएकी थिएँ सहीद शिवहरिसँग ।
सायद छिट्टै सहादत हुने रहेछ र उनले सधैं मसँग एउटी छोरीको माग गर्थे । मेरो शारीरिक अस्वस्थता, भिषण दमनले पनि होला, मैले कहिल्यै बच्चा जन्माउने मनस्थिति तयार गर्न सकिँन ।
सायद त्यसैले होला शिवहरिले रुपन्देही, गजडी-मसिनाकी मुस्कान(रोजिना पौड्याल)लाई मेरी छोरी भन्थे । ०६० सालमा रोजिना मात्र एक बर्षकी थिइन् ।
खोलाको ढिकमा फल्याक नै फल्याकले बेरेको सामान्य घर थियो रोजिनाको । उनका बाबु रोजगारीका लागि साउदी गएका थिए ।
रोजिना साह्रै सानी थिइन् र त्यत्तिकै ज्ञानी पनि । म पनि त्यतिबेला निकै मसिनी, पातली थिएँ । शिवहरि मसिनी छोरी रोजिनालाई देखाउँदै देख्यौं यी तिमीजस्तै मसिनी छन् अनि ज्ञानी पनि भन्थे । त्यसैले यी छोरी तिमीले मेरो निम्ति जन्माइदिएकी हौ भन्थे ।
म मौन बस्थें । किनकि देशको संकटकालीन अवस्थामा यातनाले ग्रसित मेरो शरीर मलाई नै घाँडो लाग्थ्यो । बच्चा जन्माएर हुर्काउन सक्छु भन्ने आँट नै थिएन । बरू मनमनै बल्ल शिवहरिले एउटी राम्री छोरी भेट्टाए भन्ने लाग्थ्यो ।
छोरी पनि बिचित्रकी थिइन् । आमालाई सताएर रोइरहेकी भए पनि शिवहरिको आवाज सुन्नासाथ चुप लाग्थिन् । काखमा राखेर शिवहरिले आँखा चिम्म गर भने चिम्म गर्ने, निदाउ भने साँच्चै निदाइ दिने ।
एकदिनको कुरा हो, शिवहरिले हेर ! मेरी छोरी कति ज्ञानी छन्, तिमी कल्पना पनि गर्न सक्दिनौं भन्दै छोरी तिमीलाई जति चाहिएको छ ! त्यो पैसा झिक भनेर आफ्नो पर्स दिए । नभन्दै पर्समा रहेको हजारको नोट छोडेर उनले एकसय मात्र निकालिन् । मैले अचम्म मानें ।
एघार वर्षपछि म उनै रोजिनाको खोजीमा रुद्रप्रकाश दाइसँग बाहनमा बसी नवलपरासीबाट रुपन्देही हानिएँ । मलाई रुपन्देहीको रुद्रपुरतिर हो त्यो छोरीको घर भन्ने मात्र थाहा थियो, उनको गाउँको नाम केही थाहा थिएन । त्यसैले मैले पहिल्यै सहकार्य गरेकी बैनी बसन्ती जीसीलाई लिएर ०७१ जेठमा रुपन्देहीको बाँसगढीबाट दक्षिणतिर हानियौं ।
धुलैंधुलो बाटो हामी करिब दुईघण्टा अगाडि बढ्यौं । बाटोमा रुद्रप्रकाश दाइले तपाईले परिवारसँग कुरा गरेर छोरी मागेर ल्याउनु, तपाई सक्षम नबनुन्जेल मैले राम्रै बोर्डिङ्गमा पढाइदिन्छु, जब तपाई सक्षम बन्नु हुनेछ, अनि आफैं लगेर पढाउनुहोला भन्नुभयो ।
म भने निकै आतुर थिएँ प्यारी छोरीलाई ढिलै भए पनि अंकमाल गरेर आˆनो बात्सल्य प्रेम साट्न । मुटुभरि उनको माया सजाउन ।
सानोमा नपाएर होला ठूलै भए पनि उनीसँग लडीबुडी खेल्ने मन थियो । आत्तिएकी थिएँ छोरीलाई छातीमा टाँसेर एकछिन भए पनि शिवहरिका बारेमा कुरा गर्न । त्यसैले मौन थिएँ म ।
निकै सोधीखोजी पश्चात हामी त्यो ठाउँमा त पुग्यौं । तर, त्यहाँ त कुनै घर नै थिएन । दुईचारवटा रुखहरू मात्रै थिए । निकै उजाड थियो ।
म रोजिनाको भत्केको घरनेर भुँइमा थुचुच्क बसें । छोरीको घर यही थियो । छोरी यही आगनमा खेल्थी । तर, आज उफ् । मैले मेरो मुटुको टुक्रा कहिल्यै भेट्ने भइँन । न त  शिवहरि नै जीवित । न त छोरी नै भेट्टाउने भएँ । अनयासै मेरा आँखाबाट आँसु आए ।
सायद मेरो अवस्था देखेर होला, दाइले नआत्तिनु, हामी नेपालमै छौं । खोजी गरेपछि भेटाउँला नि भन्नुभयो ।
अन्त्यमा सोही ठाउँबाट अलि टाढा खेतको बारीमा रहेको एउटा झुप्रोमा पुगेर सोध्यौं । त्यो घर चौधरीको रहेछ । उनीहरूले पर्रोहा-३, सोरउली बाटोबाट तेस्रो घर उनीहरूको हो र उनीहरू पौड्याल हुन्, जानुस् भेटिन्छ भने ।
ममा फेरि छोरीलाई छातीमा टाँस्ने रहर पलाएर आयो । ती चौधरी परिवारलाई धन्यवाद दिँदै हामी बाटो लाग्यौं ।
चौधरी परिवारले भनेजस्तै गरी हामीले पर्रोहा-३, सोरउलीमा खोजी गर्दा उनीहरू त ०६३ सालमा नै बसाइ सरेका रहेछन् ।
रोजिनाकी आमाले पहिलेको घर नजिकैको छिमेकीसँग बिहे गरिछन् । पछि साउदीबाट नेपाल आई पहिलेको ठाउँमा रोजिनाको बुवा बस्न नमानेकाले बेचेर बसाइँ सरेका रहेछन् । रोजिनाको उनीभन्दा दुइ वर्ष ठूलो एउटा दाइ पनि थिए । हामीले केही उत्साहित त केही निराश हुँदै उनीहरुको खोजी गर्‍यौं ।
नभन्दै चौधरी परिवारले भनेकै घर रोजिनाको रहेछ । त्यहाँ दुइतले निकै राम्रो घर बनाएका रहेछन् । त्यसको पाँच मिनट फरकमा अर्को भाइ रोजिनाका काकाको घर रोजिनाको भन्दा पनि अझै राम्रो थियो ।
रोजिनाका बुवा त्यसबेला साउदीमा भएकाले मलाई चिन्दैनथे । तर, शिवहरि र मेरा बारेमा आमाले घरमा कुरा गरेको र रोजिनालाई शिवहरिले माया गरेको बारेमा बताएकाले मलाई उहाँहरूसँग परिचित हुन बेरै लागेन । अनि मेरो आग्रह अनुसार रोजिनाका बुबाले मलाई मेरी प्यारी रोजिनाको हजुरआमाकोमा पुर्‍याइदिनुभयो ।
एकछिन त आमाले मलाई चिन्नुभएन । तर, म हाँसेपछि उहाँले रीता भन्दै अंकमाल गर्नुभयो । हाम्रो ११ वर्षपछिको भेट थियो त्यो । हामीलाई देखेर रोजिनाका हजुरबुवा र रुद्रप्रकाश दाइ दुबै अकमक्क पर्नुभयो ।
शिवहरिलाई सम्झेर आमाले आँशु खसाल्दै हुनुहुन्थ्यो । मैले आमालाई आँशु झारेर कमजोर नबनौं आमा, हामी त वीरहरुका परिवार हौं, त्यसैले बलियो खम्बा बन्नुपर्छ भनें । तर, मलाई त शिवहरिभन्दा पनि मेरो प्यारो मुटुको टुक्राको बारेमा बुझ्न आतुर रहेकाले आमाको कुरा बीचैमा काटेर छोरी कहाँ छे, कतिमा पढ्छे ? पढाइ कस्तो छ भनेर सोधें ।
रोजिना सौतेनी आमासँग बस्छे । ५ कक्षामा पढ्छे । कक्षामा पहिला हुन्छे, निकै अनुशासित छे । सौतेनी आमा भए पनि उसलाई आफ्नै आमाले भन्दा पनि प्यारो गरेर हुर्काएका छन् भनेपछि ममा फेरि केही खुसी पलायो । किनकि सौतेनी भन्नासाथ नराम्रो व्यवहार गर्छन् भन्ने परेको मेरो दिमाग आमाको भनाइले फराकिलो बन्दै थियो ।
छोरीलाई भेट्न कि त उनी पढेको स्कुलमा जानुपर्ने, कि त साँझसम्म बस्नुपर्ने म दुबैको निम्ति असमर्थ थिएँ । मनमा छटपटाहट पैदा भएको थियो । कम्तिमा मैले छोरीलाई आफ्नै लाम्टो चुसाएर हुर्काउन पाइँन, काखमा च्यापेर उनकी आमा बन्न सकिँन । शिवहरिले भनेजस्तै नजिकबाट अभिभावकत्व दिन सकिँन । ती सानी दुधे बच्ची छाडेर उनकी आमा अन्तै भौंतारिँदा आमाको अभावमा छटपटिएकी निर्दोष मेरो मायाको पोकोलाई तातोचिसो गराउन सकिँन । तर, पनि उनलाई मुटुभित्र सजाउने रहर भने कहिल्यै मेटिएन ।
एक बर्षकी दुधे बालक देखेकी हुँ । अहिले यौवन फक्रिँदै गरेकी, उमेरले १३ लागेकी छोरी कल्ललाउँदी, भर्भराउँदी होली । मैले कल्पना गर्दै थिएँ । टम्म परेका दाँत, सलक्क परेकी, मुुुसुक्क हाँस्ने । हिस्सी परेकी फूलजस्ती होली । एकपटक छोरीलाई सुम्सुमाउन पाए पनि मन हल्का हुने थियो ।
एकोहोरो टोलाइरहँदा आमाले चिया नास्ता ल्याइदिनुभयो । आमाले पनि नजिकै बसेर सँगै खाजा खानुभयो । मेरो मनमा खै किन किन सुनामी आउन छाडेन ।
शिवहरिको शहादतको एक महिनापछि म उनको घरबाट र्फकंदा गौरीचोककी जमुना पन्थीकी आमाले छोरी कहाँ छोडेर आउनुभाको त बैनी ? भन्दा मैले सहजताका साथ जन्माएकै होइन । कुन छोरीको कुरा गर्नु भाको त भनें । तर, मैले त्यसबेला तिनै छोरी काखमा च्यापेर ओठ चुसिरहेका शिवहरी र रोजिना सम्भिmरहेकी हुन्थें ।
जब जब मलाई मान्छेहरूले छोरी कहाँ राख्नुभएको छ भनेर सोध्थे । म फेरि उनै रोजिनाको स्मृतिमा घोत्लिन्थंे । मैले बच्चा जन्माउने कहिल्यै सोच नै बनाइँन । बच्चा छैन भनेर कहिल्यै नमीठो मानिँन । तर, मैदानमा धेरैले मेरी छोरी खोज्थे । म दङ्ग पथेर्ं ।
नेपाली समाज त छोराको ढोंगी हो । किन सधैं मेरी छोरीको माग गरेका छन् । शिवहरिले पनि सधैं छोरीको माग गरे । कहिल्यै छोरा उच्चारण नै गरेनन् । न त कहिल्यै कसैको छोरा बच्चा समाते ।
तर, शिवहरिको शहादत भएको पनि एक दशक बितिसकेको छ ।  तर, मैले छोरी रोजिनालाई छातीमा टाँसेर दुनियाँलाई हेर, मैले नजन्माएकी मेरी छोरी यिनै हुन् भन्न नै सकें ।
मलाई मन थियो, रोजिनालाई शिवहरिले छातीमा टाँसेर रातभपरि सुताएको, एउटै थालमा खाना ख्वाएको कुरा सुनाउन ।  मैले नजन्माएकी भए पनि शिवहरिको अभाव महशुस कहिल्यै हुन  नदिन । उनले जति माया गरेर उनलाई मेरो बात्सल्य सुम्पने कुरा सुनाउँदै सयौं पटक म्वाइँ खान । तर, सम्भावना क्षीण बन्दै थियो ।
सँगै बाटो देखाउन गएकी बसन्ती जीसी कलिलै उमेरमा माओवादी आन्दोलनमा होमिएकी थिइन् । एक दशकयता सम्पन्न उनको परिवारमा दुई दाजु, एक भाइ, एउटी दिदी र उनी माओवादी कार्यकर्ता बनेपछि परिवार तहस-नहस बन्यो । अहिले  उनले आˆनो एउटा बच्चा पनि कसरी पढाउने होला दिदी भनेर आँखाभरि आँसु पार्दैछिन् ।
सीमित नेताहरूको बंगला बनेको छ । तर, हजारौं हजार कार्यकर्ता आज सडकमा भांैतारिरहेका छन् ।
केहि समयअघि रोजिनालाई मागेर पढाउन ल्याउने हाम्रो सपना वास्तवमै सपना बनेको छ ।
माओवादी आन्दोलनमा जीवनको मुख्य भाग लगानी गरेकाले हामी आज सडकमा छौं । तर, खोलाको ढिकमा भत्केको नराम्रो घर भएको रोजिनाको परिवारको अवस्था सुदृढ बनेको छ । दाइ र मैले मुखामुख गर्‍यौं ।
यतिको परिवारले हामीलाई के दिन्थ्यो र छोरी । हामीले कुरै निकालेनौं । बरू छोरीको पढाइमा कुनै कमी नगरौं, उनलाई राम्रो मान्छे बनाउनुपर्छ भन्यौं ।
हाम्रो व्याख्या सतही बने पनि मैले नजन्माएकी छोरीलाई स्मृतिमा अंगालोभरि सजाउँदै बाहिरिएँ । छोरी, म तिमीलाई कहिल्यै आˆनो न्यानो मायाबाट बञ्चित गर्नेछैन । सधैभरि मुटुमा सजाउने छु । चाहे तिमी दुनियाँको जुनसुकै कुनामा किन नहोऊ । बाटामा म एक्लै गुन्गुनाएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment