Comments Add Comment

लेखक-साहित्यकारलाई परिचयपत्र वितरणको तयारी

१५ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक-साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ ।

मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।

छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था छ ।

समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए । राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए ।

समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लान बताए ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment