Comments Add Comment

खुम्बु पुगे पौने ७ हजार पर्यटक, लुम्विनीमा घटे, घोरेपानीका होटलमा लगानी बढ्यो

१६ कात्तिक, सोलुखुम्बु । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु क्षेत्र असोज महिनामा ६ हजार ८ सय १० विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार जोरसल्लेबाट ६ हजार ७५३ जना, स्याङ्बोचे चेकपोष्टबाट ४६ जना र राष्ट्रिय निकुञ्जको कार्यालयबाट ११ जना गरी कुल ६ हजार ८ सय १० पर्यटक खुम्बु क्षेत्र प्रवेश गरेका हुन् ।

कार्यालयको तथ्यांकअनुसार खुम्बु क्षेत्र भ्रमणमा आउने विदेशी नागरिकमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका ९५० जना, अमेरिकाका ७५२ जना र तेस्रोमा जर्मनीका ७२२ रहेका छन् ।

Solukhumbu

असोज महिनामा भ्रमणमा आएकामध्ये १० वर्ष मुनिका १० जना बालबालिकाले निःशुल्क प्रवेशाज्ञा पाएका थिए । असोज महिनाको एक महिने तथ्याङ्कमा सार्क क्षेत्रबाट भने भारतबाट २०५, श्रीलङ्काबाट छ र बङ्गलादेशबाट १० जना आएका थिए । अघिल्लो वर्षको असोज महिनामा भने छ हजार ४६२ विदेशी नागरिकले भ्रमण गरेका थिए ।

यसैबीच, असोजमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले एक करोड ६१ लाख ४० हजार ७१३ रुपैयाँ ६० पैसा राजस्व संकलन गरेको छ ।

मालिङ्गो पुर्जी, बालुवा, हेली अवतरण, पर्यटन प्रवेश शुल्क, पर्यटन भरिया शुल्कलगायतबाट यो राजस्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।

लुम्बिनीमा पर्यटक घटे

बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीमा आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । चीन, थाइल्यान्ड, श्रीलङ्का, जापान, कोरिया, म्यानमारलगायतका तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

सन् २०१३ को सेप्टेम्बरसम्ममा तेस्रो मुलुकबाट ८३ हजार ४८५ पर्यटकले लुम्बिनीको भ्रमण गरेकामा सन् २०१४ मा घटेर ८३ हजार २७७ मा झरेको छ । विगतको वर्षमा भन्दा यो सङ्ख्या २०८ ले कमी हो ।

सन् २०१३ मा सबैभन्दा बढी पर्यटक लुम्बिनी आएको श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, जर्मनीलगायतका देशबाट आउने पर्यटकको सङ्ख्या हृवात्तै घटेको हो । सन् २०१३ मा सबैभन्दा बढी ३५ हजार ४२४ जना पर्यटकले लुम्बिनीको अवलोकन गरेकामा यस वर्ष घटेर २७ हजार ३७८ जनाले मात्रै लुम्बिनीको अवलोकन गरेका छन् ।

Lumbini

साउथ इन्डियनहरूले श्रीलङ्कन पर्यटकमाथि गरेको दुव्र्यवहार, बोधगयामा भएको बम विस्फोटका घटना र थाइल्यान्डमा भएको आन्दोलनका कारण पर्यटकको सङ्ख्यामा कमी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०१३ मा चीनबाट १३ हजार ५६१, जापानबाट दुई हजार २५६, म्यानमारबाट १६ हजार ७९७, कोरियाबाट पाँच हजार ४२८, श्रीलङ्काबाट ३५ हजार ४२४, थाइल्यान्डबाट ३० हजार ६५५ र भियतनामबाट तीन हजार ७३० जना पर्यटकले लुम्बिनीको अवलोकन गरेका छन् ।

त्यस्तै, २०१४ मा चीनबाट १३ हजार ३५८, जापानबाट एक हजार ९४३, म्यानमारबाट नौ हजार ६६, कोरियाबाट तीन हजार ७९५, श्रीलङ्काबाट २७ हजार ३७८, थाइल्यान्डबाट १४ हजार १५४ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् ।

घोरेपानीका होटलमा लगानी र सुविधा थपिँदै

म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय स्थल घोरेपानीका होटलमा लगानी र सुविधा थपिन थालेको छ ।     अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत म्याग्दीको घार गाविसमा अवस्थित घोरेपानीमा आन्तरिक तथा बाहृय पर्यटकको आगमनसँगै व्यवसायीबीच प्रतिस्पर्धा हुन थालेपछि सुविधा थपिन थालेको हो ।

पुराना होटलले कोठा थप्ने, क्षमता बढाउने, निःशुल्क वाइफाई इन्टरनेट, तातोपानीमा स्नान गर्नेलगायतका सुविधा दिन थालेका घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

घोरेपानीको सबैभन्दा ठूलो सन्नी होटलका सञ्चालक पुनले गएको अफ सिजनमा रु एक करोडभन्दा धेरै लगानी गरेर आठवटा कोठा थपेको जानकारी दिनए । हाल ७ सय जना बास बस्न सक्ने २२ वटा होटल रहेको घोरेपानीमा यस वर्ष थप दुईवटा नयाँ होटल निर्माण भइरहेका छन् ।

Ghorepani-Myagdi

काठले बारेर बनाइएका कोठालाई प्लास्टर गर्न थालेका छन् । पर्यटकको चाप र स्थानीय व्यवसायीबीच कसले राम्रो सुविधा दिने भन्नेमा प्रतिस्पर्धा रहेकाले सेवा सुविधा बढाएको अध्यक्ष पुनले बताए ।

संघका उपाध्यक्ष टेकसर बुद्धुजा पुनका अनुसार घोरेपानीका होटलले सुविधा र क्षमता बढाएकाले पहिलेजस्तो बास नपाउने समस्या हटेको छ । धेरैजसो होटलमा निःशुल्क वाइफाई इन्टरनेट उपलब्ध छ । केहीले सोलार र ग्यास राखेर तातोपानीले नुहाउने सुविधा दिएका छन् ।

स्थानीय रत्न पुनले पर्यटकले धेरै सुविधा खोज्न थालेकाले उनीहरूको चाहनाअनुसार सुविधायुक्त होटल बनाउन लागेको बताए ।

सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य एकै स्थानबाट अवलोकन गर्न सकिने विशेषता रहेको घोरेपानी क्षेत्रमा वाषिर्क ५० हजारको अनुपातमा आन्तरिक तथा बाहृय पर्यटक पुग्ने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment