Comments Add Comment

मानिसको फेरिँदो संस्कार र चाडवाडहरु

mohan-bikram-singh1
लेखक

– मोहनविक्रम सिंह
पहिले गाउँका बारीमा मकै फलेपछि धार नदिई (न्वागी नगरी) खान हुँदैनथ्यो । तराईमा पनि भुँडेबाबालाई नचढाई खान हुँदैनथ्यो । त्यसरी मकै खाने कार्यलाई देवी, देवता वा धार्मिक कार्यसित जोडिएको छ । मकै खान लायक नहुँदासम्म त्यसलाई खाएर नष्ट नगरियोस् भन्नका लागि प्रतिबन्ध लगाउन पनि त्यस प्रकारको पूजाको विधि अपनाउने गरियो ।

मानव जीवनसित जोडिएका विभिन्न संस्कारहरूलाई नै हेरौँ । कुनै बच्चा जन्मेपछि मात्र होइन, कुनै महिलालाई गर्भ रहेपछि पनि विभिन्न प्रकारका पूजा गरिन्छ वा उत्सव मनाइन्छ । हिन्दुस्थान वा हाम्रो देशको तराईमा पनि त्यस्तै एउटा पूजा गरिन्छ, जसलाई ‘गोद भराइ’ भनिन्छ । त्यो पूजा, एकातिर, कुनै बच्चाले गर्भ धारण गरेकोमा प्रसन्नताको सूचक हो भने अर्कातिर, त्यो गर्भमा रहेको बच्चाको सुरक्षाको कामनाद्वारा निर्देशित हुन्छ । तर त्यो मानवीय भावनालाई धार्मिक रूप दिइएको छ ।

बच्चा जन्मेपछि कैयौँ धार्मिक कार्यहरू गरिन्छन्, जस्तो कि ६ दिनमा छैठी, ११ दिनमा न्वारान, ६ महिनामा भात ख्वाई आदि । यी सबै कार्यको व्यावहारिक वा सामाजिक महत्त्व प्रस्ट छ । बच्चा जन्मेपछि परिवार वा इष्टमित्रमा प्रसन्नता हुन्छ । त्यही प्रसन्नता व्यक्त गर्न नै छैटी मनाइन्छ । कुनै व्यक्ति जन्मेपछि नाम राख्नुपर्ने आवश्यकता हुन्छ । त्यस दृष्टिकोणले न्वारानको महत्त्व हुने प्रष्ट छ । त्यही कुरा भात ख्वाईका सन्दर्भमा पनि सत्य हो । जन्मेपछि बच्चाहरूले आमाको दूध खान्छन् । तर केही महिनापछि उनीहरूलाई अन्न ख्वाउनुपर्ने आवश्यकता हुन्छ । त्यसैलाई भात ख्वाई भनिन्छ ।

मानिसको जीवनमा अन्य कैयौँ महत्त्वपूर्ण चरणहरू हुन्छन्, जस्तो कि विवाह, चौरासी पूजा, मृत्युको बेलामा गरिने किरिया वा मृत्युपछि गरिने श्राद्ध आदि । भौतिक वा सामाजिक दृष्टिले तिनीहरूको महत्त्व छ । विवाह जीवनको महत्त्वपूर्ण चरण हो ।

त्यसै गरेर चौरासी पूजा पनि कुनै व्यक्ति वृद्ध भएपछि ऊप्रति प्रकट गर्ने आदर वा सम्मानको एउटा रूप वा अभिनन्दन हो । परिवारका कुनै व्यक्तिको मृत्युबाट परिवार वा इष्टमित्रलाई धेरै नै दुःख लाग्छ । त्यो बेला किरिया बस्दा कैयौँ दिनसम्म सेता कपडा लगाउने, कपाल काट्ने, नून नखाने वा बेग्लै बस्ने गरिन्छ । त्यो कुनै व्यक्तिको मृत्युपछि शोक प्रकट गर्ने एउटा पद्धति हो ।

मृत्युपछि पनि एक-एक वर्षमा श्राद्ध गर्ने गरिन्छ । त्यो मृत व्यक्तिको सम्झना वा उसप्रतिको आदर हो । उक्त विषयहरूमा संसारका विभिन्न देशहरूमा बेग्लाबेग्लै प्रचलन पाइन्छन् ।

माथि उल्लिखित सबै कार्य भौतिक, सामाजिक वा मानवीय दृष्टिले महत्त्वपूर्ण छन् । व्यवहारिक दृष्टिले पनि तिनीहरूको उपयोगिता भएको कुरा प्रष्ट छ । अध्यात्मवादीहरूले खालि मानव जीवनसित सम्बन्धित विषयहरूमा मात्र होइन, कैयौँ भौतिक विषयहरूलाई पनि धार्मिक पक्ष वा देवी देवतासित जोड्ने गर्दछन् ।

मानव जीवनमा तिनीहरूको ठूलो महत्त्व भएको कुरालाई स्वीकार गरिन्छ । पृथ्वीबारे कैयौँ धार्मिक वा देवी देवताको कल्पना गरिएको छ । तिनीहरूबारे हाम्रो दृष्टिकोण जे भए पनि पृथ्वीको आवश्यकता, महत्त्व वा उपयोगिता अस्वीकार गर्न मिल्दैन । पृथ्वीलाई निषेध गरेर कहाँ गएर बस्ने ? आगो, पानी, नदी, आकाश, वायु, वनस्पतिसितका कैयौँ अवधारणाहरू, धार्मिक विश्वास वा अन्धविश्वासका कारणले तिनीहरूको उपयोगितालाई निषेध गर्ने कुरा सोच्न पनि सकिन्न । त्यही कुरा जन्मदेखि मृत्युसम्मका सबै संस्कारहरूका बारेमा पनि सत्य हो ।

दसैँ, तिहार, तीज, देवाली पूजा, ल्होसार, इद, बकरिद, बडादिन आदि सबैका सन्दर्भमा त्यो कुरा सत्य हो । यी सबै चाडपर्वलाई एक वा अर्को रूपले धर्मसित जोड्ने कार्य गरिएको हुन्छ । उदाहरणका लागि दसैँलाई राम-रावण युद्धपछि रामको अयोध्या आगमनसित जोडिएको छ ।

तीजलाई नै लिउँ। त्यसको धार्मिक पक्ष जे भए पनि त्यसलाई महिलाहरूको विशेष चाडका रूपमा लिइन्छ । मीठो खान्छन् । नयाँ कपडा लगाउँछन् । एक अर्कासित प्रसन्नताको आदान-प्रदान गर्दछन् । नाचगान गर्दछन् । वास्तवमा ती सबै चाडबाडहरू मानिसबीचको सम्बन्धका माध्यम हुन्छन् । उदाहरणका लागि कुल पूजा वा देवालीलाई नै लिऊ । बेग्लाबेग्लै थर र जातिहरूले बेग्लाबेग्लै प्रकारले कुल पूजा गर्दछन् । त्यसका सन्दर्भमा विभिन्न प्रकारका धार्मिक विधि अपनाउँछन् । तैपनि ती सबै गौण पक्षहरू हुन् । प्रधान पक्ष कुल पूजाका अवसरमा त्यो थर र जाति विशेषका मानिसहरूका बीचको सामाजिक सम्बन्ध हो । त्यो बेला त्यो थर र जाति विशेषका मानिसहरू टाढा-टाढाबाट आउँछन् र आपसमा भेटघाट हुँदा उनीहरू प्रसन्न हुने गर्दछन् ।

अध्यात्मवादीहरूमा कुनै चीजलाई धार्मिक रूप दिने प्रवृत्ति यति धेरै पाइन्छ कि त्यस प्रकारको प्रवृत्तिबाट प्रायशः कुनै पनि चीज बाहिर हुन्न । कुनै मानिसको आँखा वा शरीरको कुनै अङ्ग फरफराउँछ । त्यसको धार्मिक रूपले व्याख्या गरिन्छ । घरबाट निस्कँदा भरिएको वा रित्तो गाग्री, मुर्दा आदि देखियो, बिरालो वा सर्पले बाटो काट्ने आदि कैयौँ प्रसङ्गहरूमा बेग्लाबेग्लै धार्मिक व्याख्याहरू गरिएका हुन्छन् । मानिसले सपना देख्दछन् । तिनीहरूको पनि धार्मिक रूपले बेग्लाबेग्लै प्रकारले व्याख्या गरिएको हुन्छ । मानिसको मृत्यु हुन्छ ।

मृत्यु जीवनको सबैभन्दा अन्तिम र दुःखद पक्ष हो । कसैको मृत्यु भएपछि शोक मनाउनु सामान्य र स्वाभाविक कुरा हो । मृत्युपछि कुन प्रकारको शोक अपनाउने ? त्यसबारे हाम्रो देशमा पनि विभिन्न धार्मिक वा सामाजिक सम्प्रदायहरूमा कैयौँ भिन्नता पाइन्छ ।

मुस्लिम, इसाई, विभिन्न जनजाति आदिमा त्यसबारे बेग्लाबेग्लै विधि अपनाइन्छन् । संसारका बेग्लाबेग्लै देशहरूमा पनि त्यस प्रकारका कैयौं विधिविधान छन् ।

आज पनि हिन्दु समाजमा मरेका बाबुबाजेले खान्छन् भन्ने अन्धविश्वासमा पिण्ड चढाउने, ती मृतकहरूले पाउँछन् भन्ने भ्रममा बाहुनलाई गाई, पलङ, लत्ताकपडा र प्रशस्त द्रव्य दान गर्ने प्रचलन हराएको छैन ।

आज सहजजस्तो देखिने यो प्रचलन अध्ययन र मानव चेतनाको विकाससँगै भावी पुस्ताका लागि एउटा आश्चर्य र दन्त्यकथाको विषयजस्तो बन्ने छ । त्यसबारे संसारका विभिन्न देशका धर्म र जातिहरूमा बेग्लाबेग्लै प्रकारका व्याख्याहरू पाइन्छन् ।

महिला रजस्वला हुन्छन् । त्यसबारे पनि हाम्रो देशमा बेग्लाबेग्लै विधिहरू अपनाइन्छन् । हिन्दु समाजमा कैयौँ दिनसम्म घरपरिवारसित नछोईकन बस्नु पर्दछ । तर नेवार वा विभिन्न जनजातिहरूमा त्यस प्रकारको परहेज गरिन्न । सुदूरपश्चिमी पहाडहरूमा छाउपडी प्रथा पाइन्छ । त्यो बेला रजस्वला भएकी महिला घरभन्दा बाहिर गोठ वा अन्यत्र बस्नुपर्दछ । ती सबै कुराहरूलाई हामीले दुई भागमा बाँडेर हेर्नु पर्दछ : पहिलो, ती सबैसित जोडिएका भौतिक, सामाजिक र भावनात्मक पक्ष । दोस्रो, तिनीहरूसित जोडिएका धार्मिक पक्ष । पहिलो पक्षको व्यावहारिक महत्त्व छ र तिनीहरूको उपयोगिता वा महत्त्वलाई पूरै अस्वीकार वा निषेध गर्नु सही हुनेछैन ।

हिन्दुको बडा दसैँ वा मुस्लिमहरूको इदको प्रकृति धार्मिक भए पनि तिनीहरूले व्यापक सामाजिक रूप ग्रहण गरेका छन् । त्यही कुरा नेपालका जनजातिहरूका ल्होसार, तीज, तराईको छठ पूजा, विभिन्न थर र जातिहरूका कूल पूजा आदिबारे पनि सत्य हो । ती सबैसित जोडिएका धार्मिक पक्षहरूलाई कुन रूपमा ग्रहण गर्ने ? त्यसबारे बेग्लाबेग्लै पक्ष वा व्यक्तिहरूका बेग्लाबेग्लै मतहरू हुन सक्दछन् वा कतिपयले तिनीहरूसित जोडिएका धार्मिक अवधारणालाई अस्वीकार गर्न सक्दछन् । तर तिनीहरूसित जोडिएका सामाजिक पक्षहरूलाई विरोध गर्नु वा सामाजिक रूपमा तिनीहरूमा सहभागिता हुन अस्वीकार गर्नुलाई सही मान्न सकिन्न ।

जीवनसित जोडिएका विभिन्न संस्कार, आचरण, चाडपर्व र मेलाहरूको स्वरूपमा लगातार परिवर्तन हुँदै आएको छ । पहिलेका कैयौँ प्रचलनहरू शिथिल हुँदै गएका छन् वा मानिसहरूका त्यही प्रकारका कतिपय संस्कार वा प्रचलनहरू लुप्त हुँदै गएका छन् ।

यस सन्दर्भमा यस्ता केही प्रचलनहरूको उल्लेख गर्नु अप्रासाङ्गिक हुने छैन, जसबारे कुनै समयमा समाजमा ठूलो द्वन्द्व थियो, तर अब त्यस प्रकारका कुनै विवाद वा द्वन्द्व बाँकी रहेको छैन र ती प्रचलनहरू पूरै लुप्त भइसकेका छन् । हामी केटाकेटी छँदा बाहुनहरूले मात्र होइन, क्षेत्रीहरूले पनि धोती फेरेर मात्र खाना खानु पर्दथ्यो । कसैले धोती नफेरिकन खाना खायो भने उनीहरूलाई जातबाट बहिष्कृतसम्म गरिन्थ्यो । बाहुनहरूले प्याज, लसुन खानु ठूलो पाप ठानिन्थ्यो । कुनै मानिस भारतमा गएर र्फकदा प्रायश्चित गर्नुपर्दथ्यो, गोदान गर्नुपर्दथ्यो । त्यसलाई ग्रामीण भाषामा पत्ते गर्ने भनिन्थ्यो ।

भारतमा इस्ट इण्डिया कम्पनी सरकारले शासन गरेको समयमा नेपालका धेरै बाहुन क्षेत्री तिनीहरूको पल्टनमा भर्ती भएका थिए र दोस्रो विश्वयुद्धमा अङ्ग्रेजको पक्षमा लडेका थिए । बाँचेर घर नो घरमा पसेका थिए । तिनीहरूले गोदानफर्केका सबै प्रायस्थित वा पत्ते गरेर मात्र आ पनि गरेका थिए । गोदानको अर्थ हुन्थ्यो, कुनै नदीमा ४ पैसा बाहुनलाई दान दिएर चोखिनु । पछिसम्म पनि तीर्थवर्त वा कुनै काम विशेषले भारतमा गएका व्यक्तिहरूले पनि त्यही प्रकारले पत्ते गर्नुपर्ने प्रचलन थियो ।

छोरीहरूले नै अनुभव छ । २०१०/११ सालमा जब हामीलेपढ्नु अत्यन्त नराम्रो मानिन्थ्यो । मलाई आ प्युठानको ओखरकोटमा एउटा प्राइमरी स्कुल सुरु गर्‍यौँ, महिला र दलितलाई स्कुलमा पढाउनेबारे गाउँमा ठूलो विरोध थियो । उनीहरूको जोड यो कुरामा थियो कि दलितका छोराहरू आए पनि उनीहरूलाई स्कुलमा ढोकाबाहिर नै राख्नु पर्दछ ।

माथि उल्लिखित सबै कुरा अब इतिहास भइसकेका छन् । त्यस्ता कुराहरू गर्दा नयाँ पुस्ताका मानिसले सोच्न सक्दछन्, के त्यस्तो पनि थियो र ? अब बाहुन वा क्षेत्रीहरूले धोती फेरेर भात खाएको कतै देखिन्न । उनीहरूले होटेलमा गएर खाना खाए पनि कसैले कुरा उठाउँदैनन् ।

बाहुनहरूले आम रूपमा लसुन, प्याज खाने गर्दछन् । लसुन, प्याज खाएको कारणले कुनै बाहुनको जात गएको मानिँदैन । बाहुनहरूले लसुन, प्याज खानेबारेमा समाजमा विवाद वा सङ्घर्ष चल्ने गर्दथ्यो । मुलुकी ऐनमा त्यसबारे कानुनी व्यवस्था गरिएको थियो । पछि त्यो प्रचलन हट्दै गयो र त्यसअनुसार मुलुकी ऐनमा पनि संशोधन गरियो ।

पहिले विभिन्न जातका मानिसलाई ‘पानी चल्ने’ र ‘पानी नचल्ने’ जातको रूपमा विभाजन गरिएको थियो । ‘पानी चल्ने’ जातका मानिसले ‘पानी नचल्ने’ जातको मान्छेलाई छोएमा ‘छिटो’ हाल्नु पर्दथ्यो । तर अब छोइछिटो हाल्नुपर्ने प्रचलन पूरै हटिसकेको छ । बाहुन, क्षेत्रीले कुखुराको मासु वा रक्सी खाए पनि त्यो अब सामान्य कुराजस्तै भएको छ । व्रतबन्ध गर्ने चलन पनि हराउँदै गएको छ । कसैले व्रतबन्ध गर्दैन वा जनै लगाउँदैन भने पनि समाजमा त्यसबारे कुनै खास आपत्ति गरिदैन ।

पहिले १४ पुस्ताभित्र वा अन्तरजातीय रूपमा विवाहलाई निषेध गरिएको थियो । १४ पुस्ताभित्र विवाह गर्नेलाई कडा सजायको व्यवस्था थियो । दलित जातिको कुनै पुरुषले ‘उच्च’ जातिको कुनै महिलासित विवाह गरेमा १४ वर्ष जेल जानु पर्दथ्यो । पछि अन्तरजातीय विवाहको प्रचलन बढ्दै गयो । त्यसपछि अन्तरजातीय विवाहलाई निषेध गर्ने कानुनलाई नै खारेज गरियो ।

खास गरेर कुनै ‘उच्च’ जातिका मानिसहरूले ‘तल्लो’ जातका बीचमा विवाह भयो भने अहिले पनि त्यसको कडा प्रतिवाद गरिन्छ । पहिले १४ पुस्ताभित्र विवाह गर्न नपाउने कानुनमा परिवर्तन गरेर ७ पुस्ताभित्र मात्र विवाह गर्न नपाउने व्यवस्था गरिएको छ ।

माथि दिइएका उदाहरणहरूबाहेक समाजमा प्रचलित अरू कैयौँ संस्कार पनि लगातार बदलिँदै वा लुप्त हुँदै गएका छन् । तर, मूल रूपमा जन्मदेखि मृत्युसम्मको जीवनको क्रम एकै प्रकारले अगाडि बढिरहेको हुन्छ । त्यो मूल वस्तुगत पक्ष हो । त्यसमाथि बनेको सामाजिक संरचना गौण र उपरी पक्ष हो, जसमा भौतिक जीवनमा वा मानिसका धारणाहरूमा हुने परिवर्तनअनुसार परिवर्तन हुँदै जान्छ । त्यसपछि धार्मिक विधि, विधान, संस्कार, सामाजिक मान्यता वा कानुनहरूमा पनि परिवर्तन हुँदैजान्छ ।

निश्चय नै, त्यस प्रकारका सुधार वा परिवर्तनहरूका लागि कैयौँपल्ट दार्शनिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरूमा ठूला सङ्घर्षहरू चल्ने गरेका छन् । सतीप्रथालाई नै लिउँ । कुनै समयमा हिन्दु समाजमा त्यो सर्वमान्य मान्यता थियो । अब कुनै पुरुष मरेपछि उसकी पत्नीलाई जिउँदै जलाउने कुरा कसैले सोच्न पनि सक्दैन । तर त्यस प्रकारको सुधार वा परिवर्तनका लागि भारतमा ठूला सामाजिक आन्दोलनहरू चलेका थिए ।

छुवाछूत प्रथाको नै कुरा गरौँ । मनुस्मृति वा कैयौँ धार्मिक ग्रन्थहरूमा त्यसबारे कडा व्यवस्था गरिएको छ । तर त्यसबारे कडा धार्मिक बन्देज हुँदाहुँदै पनि आज त्यो प्रथा धेरै हटेर गएको छ । तैपनि आज पनि छुवाछूत प्रथाका पक्षमा ठूलो जनमत र एक प्रकारले भन्ने हो भने समाजको एउटा समूहले त्यो प्रथालाई कायम राख्न जोड लगाउने गरेको पाइन्छ । तर स्पष्ट छ, पहिलेका समाजका अन्य कैयौँ प्रचलनहरू इतिहासका विषय बनेझैं भविष्यमा यो प्रथाबारे पनि मानिसहरूले प्रश्न गर्नेछन् : के कुनै दिन छुवाछूत प्रथाजस्तो प्रचलन पनि समाजमा थियो ?

पुरुषहरूले बहुपत्नी राख्ने प्रथालाई नै लिउँ । केही समय पहिलेसम्म त्यो समाजमा आम रूपमा प्रचलित चलन थियो । तर अब त्यो प्रथामाथि कानुनले प्रतिबन्ध लगाएको छ । अब त्यसबारे मानिसहरूको दृष्टिकोण पनि बदलिएको छ । एउटी पत्नी छँदा वा ऊसित सम्बन्धविच्छेद नभई कसैले अर्को विवाह गर्‍यो भने त्यसलाई राम्रो मानिन्न । पहिले विधवा विवाहका विरुद्ध समाजमा कडा दृष्टिकोण अपनाइयो । अहिले पनि त्यस प्रकारको दृष्टिकोण प्रशस्त पाइन्छ । तर, विधवा विवाहविरुद्ध पहिलेजस्तो कडा रूप अपनाइन्न ।

माथिका जीवनसित जोडिएका संस्कारहरूको चर्चाबाट के प्रष्ट हुन्छ भने जीवनका विभिन्न अवसरमा अपनाइने कुनै पनि संस्कारको दैवी वा शाश्वत स्वरूप छैन । तिनीहरूसँग जोडिएका पाप, पुण्य, स्वर्ग, नर्क आदिका धारणाहरू मानवीय कल्पनाहरू मात्र हुन् । ती सबै संस्कार सामाजिक आवश्यकता वा मानिसहरूको विश्वासअनुसार अपनाइएका प्रचलनहरू हुन् र मानिसहरूका धारणामा हुने परिवर्तनअनुसार लगातार परिवर्तन भइरहन्छ ।

हिन्दुहरूका दृष्टिमा गाईगोरुको मासु खानु ठूलो पाप मानिन्छ । तर, मुस्लिम वा इसाईहरूमा त्यसका लागि खुला छुट छ र त्यसो गर्नु पाप मानिन्न । त्यही कुरा विभिन्न चाडबाडका सन्दर्भमा पनि सत्य हो ।

अब कसैले धार्मिक विधि नपुर्‍याईकन, जग्गे नराखीकन विवाह गरे पनि त्यो कुनै खास आपत्तिजनक कुरा बन्दैन । कसैले बाबुआमाको मृत्युपछि विधिपूर्वक किरिया नबसे पनि वा अशौच नबारे पनि विवाह, किरिया वा अशौचका विधिहरू छोटयाए पनि केही टीकाटिप्पणी हुन्छ, तर त्यसको गम्भीर प्रकारले आपत्ति गरिन्न ।

मृत्युपछि किरिया बस्ने, अशौच बार्ने, श्राद्ध गर्ने आदि कार्यहरूको सट्टा शोकसभा मनाउने, श्रद्धाञ्जलि दिने वा स्मृति दिवस मनाउने आदि गरिन्छ । तीजको चाडलाई महादेवी पार्वतीको कथासित जोडेर धार्मिक विधिले मनाउने प्रचलनका ठाउँमा त्यसलाई महिलाहरूको चाड, महिलाको हक र अधिकारको प्राप्ति तथा सांस्कृतिक रूपान्तरणको आन्दोलनको रूपमा मान्ने प्रचलन बढ्दै छ । दसैँ, तिहार, देवाली, ल्होसार, इद, बकरीद आदिलाई त्यस प्रकारले रूपान्तरण गर्ने प्रयत्न गर्दै जानु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment