Comments Add Comment

बधशालामा मासु काट्दा ध्यान दिनुपर्ने कुरा

केदार  कार्की

स्वस्थ्य राँगा, खसी, बोका, बंगुर आदि दैनिक विभिन्न नगर क्षेत्रमा वध गरिन्छ । तर, वध गरिने पशु मात्रै स्वस्थ्य भएर नपुग्ने रहेछ । यसका लागि वधस्थलमा न्युनतम सरसफाइ तथा स्वस्थताको मापदण्ड आधुनिक तथा व्यवस्थित वधशाला नबन्दासम्म चाहिन्छ ।

सरसफाइको न्युनतम पूर्वाधार नभएमा स्वस्थ्य पशु नै वध गरे पनि वधस्थलको भौतिक संरचनाको सम्पर्क, प्रयोग गरिने पानी, औजार अनि अचानोबाट हाम्रा लागि मासुबाट प्राप्त हुने उत्कृष्ट प्रोटिन मात्र हैन, सित्तैमा के रोग लगाउने जीवाणु र विषाणु ल्याउने हो भन्न सकिन्न ।

meat

समस्या कहाँ छन् ?

हाम्रो आफनो परिवेशमा शहरी क्षेत्रमा खसी, कुखुराका केही फ्रेसहाउस मिट सेन्टरहरुमा सफाइ स्वस्थ्य वातावरण एवं मासु काटछाट गरी भण्डारणका केही आधारभूत संरचना तयार भएका देखिन्छन् । अन्यथा हाम्रा टोलमा वध गर्ने र मासु बिक्री गर्ने पसलमा भने चौपाया प्रजाति वध गर्ने वधस्थलहरुमा भुईंमा नै वध गरिन्छ । छाला पनि भुईंमा नै काडिन्छ । अनि मासु काटछाँट पनि भुईंमा नै गरिन्छ । त्यो माटो, धूलो, हिलोमा लसपस भएको कति सफा र स्वस्थ्य होला ?

कम्तिमा छाला काढिसकेपछि मासु काटछाँट गर्दा झुन्डाउने व्यवस्था त गर्न सकिन्छ । अझ एउटा पशु वध गरी त्यसबाट प्राप्त हुने मासु तयार हुँदानहुँदै अर्को पशु त्यहीँ वध गरिहाल्ने वा अर्को वध गर्न तयार पशु त्यही छेउमा बाँधेर पाल्ने चलन छ ।

छाला काढिसकेको मासु र भरखर वध गरिएको पशुको छालासँग लसपस हुँदा प्रदुषित हुन जाने संभावना हुन्छ । अझै बिक्रीपछि वध गर्न राखिएका पशु त्यहीँ पाल्दा तिनले विसर्जन गर्ने मलमूत्र, तीनले प्रयोग गर्ने दानापानीजन्य प्रदुषणबाट तयार गर्न लागिएको मासु कति सफा तथा स्वस्थ्य होला ?
मासु विज्ञानमा भनिन्छ, छाला काढिसकेपछि पशुको छाती तथा पेटका भाग खोली मुटु, कलेजो, मृगौला तथा पेट र आन्द्राभुँडी सावधानीपूर्वक, मासुजन्य तन्तुबाट छुट्टै राख्नुपर्छ । किनभने आन्द्राभुँडी फुटी यसभित्रको पचे-नपचेको लादी मासुजन्य तन्तुको सम्पर्कमा आए धेरै रोगजन्य किटाणु मात्र हैन, पशुले खाएको विषाक्तिहरुको अवशेष र पशुको शरीरमा अपच हुँदा उत्पन्न विषाक्तिको सम्पर्कमा आउन सक्छ । यस पृष्ठभूमिमा वधस्थलमा पछि वध गर्ने गरी राखिएका पशुले विसर्जन गर्ने मलमूत्रको सम्पर्कमा आएको मासु कति सफा, स्वस्थ होला ?

बाँकी रहेको मासु पुनः बिक्रीका लागि सञ्चय गर्दा रातो लुगा वा बोराले छोपी बेला बेला पानी छर्किई सञ्चय गर्ने आम हाम्रो मौलिक चलन छ । यसरी दिउँसो तापक्रममा पानी छर्की छोपेर राख्दा उत्पन्न हुने हुमिडिटी (गुम्साइएको) ले मासु बिग्रने तथा जीवाणुको संख्या वृद्धि गराउन मद्दत पुर्‍याउँछ ।
अझ हामीकहाँ टिनका बाकस वा खट्कुलोमा दाउरा बालेर रौं भुत्ल्याउने पानी तयार गरिन्छ । पानी सबै रौं भुत्ल्याउने गरी तात्छ वा तात्दैन, पानी पुग्छ पुग्दैन विचार गर्नुपर्छ । एकैपटकको पानीले सब्ौ भुत्ल्याउन पर्छ । भनिन्छ, पशुको शरीरमा प्रवेश गर्ने सबैखाले जीवाणु विषाणुको पहिलो प्रवेशद्वार पशुको रौंको माध्यमबाट छाला हुँदै आफ्नो गन्तव्यमा पुग्छ ।

राम्ररी नभुत्ल्याएको अनि छाला पनि नकाढेको मासु कति सफा र स्वस्थ्य होला ?

kedarji
लेखक

हाम्रो समाजमा छाला नभएको मासु त के मासु ? बरु प्रायजसो हाम्रा वधस्थल अनि मासु पसल एउटै थलोमा रहेका छन् । मासु काट्ने अचानो हेर्ने हो भने त्यो पनि काठको प्रयोग शुरु गरेको दिनदेखि त्यसको सरसफाइ गर्ने जाँगर किन पर्‍यो ? बेच्नेलाई काटछाँट गरी बेच्नै हतार, उपभोक्तालाई मासु लगि भान्सामा पकाउन हतार ।

गर्नु पर्ने त के हो भने प्रत्येकपटक मासु काटछाँट गरेपछि सम्पूर्ण अचानो बेस्सरी तातेको पानीले राम्रोसँग सफा गरे हुन्छ । तर, त्यो पशु वधशालामा पशु भुत्ल्याउन त मनग्यै पानी भए पो ?

काटछाँट गर्न प्रयोग गरिने हतियार त्यो फलामे खुकुरी, खड्ग, चक्कु, छुरी प्रयोग पछि तातो पानीले सफा गर्ने चलन विरलै छ किनभने धार खिइने डर हुन्छ ।

वधपछि निस्कने लादि, हाड, खुर, रगतको व्यवस्थापन गर्ने चिन्ता र फुर्सत कसलाई ? त्यही छेउमा थुपारे भयो । लगे महानगरपालिका, उपनगरपालिका, नगरपालिका वा कुनै फोहोर व्यवस्थापन गर्ने संस्थाले लैजाला, हैन भने छेउछाउका फिरन्ते कुकुर, बिरालो, झिंगा, लामखुट्टे त छँदैछन् । त्यसैले हाम्रा वधस्थलमा मासुमा किटजन्य जीव त साक्षी बसेकै देखिन्छ ।

कुकुरले मासु लुछ्दै, सामान्य झिंगा, नीलो झिंगा त मासु पसलमा किन लुकेर बस्छ ? अझ पशु वध गर्ने, छाला काढ्ने, भुत्ल्याउने, भित्रान्स अनि आन्द्राभुँडी सफा गर्ने तथा हाडखुर छुट्याउने तथा मासु काटछाँट गर्ने कामदार पो कति सफा सुग्घर र स्वस्थ्य होलान् ?

अब के गर्ने ?

· प्रत्येक वधस्थलमा न्युनतम रुपमा कम्तिमा वध गर्ने भुईं त सिमेन्ट ढलान भएको होस् ताकि एउटा पशु वध गरेपछि सरसफाई सहज होस् ।
· वध गरिने पशुको किसिमअनुसार पर्याप्त तातोचिसो पानीको व्यवस्था होस् ।

· वध गरेको पशुलाई छाला काढ्ने प्रयोजनदेखि भित्रान्स, आन्द्राभुँडी छुट्याउन तथा मासु काटछाँट गर्दा कम्तिमा भुईंमा नछुने गरी झुन्ड्याउने व्यवस्था त काठकै खम्बा ठड्याएर गर्न सकिन्छ ।

· वधपछि निस्किने वधस्थलका उप-उत्पादन जस्तै रगत, लादि, रौं, हाड, खुरको उचित व्यवस्थापनको व्यवस्था वधस्थलमा होस् । भनिन्छ, वधस्थलबाट निस्कने कुनै फोहर खेर जाँदैन ।

· वधस्थलमा पछि वध गरिने पशु राख्ने बेग्लै व्यवस्था हुनुपर्छ ताकी वध गरिएको पशुको बिक्री वितरणका लागि तयार गरिने मासुसंग यिनको सम्पर्क नहोस् ।

·  वधस्थलमा काटमार गर्न मासु तयार गर्न प्रयोग गरिने हतियार, औजार खिया नलाग्ने खालका हुनुपर्छ । नभए निर्मलीकरण तथा निसंक्रमण गर्ने व्यवस्था होस् ।

·  मासु काटछाँट गर्न प्रयोग गरिने त्यो काठको अचानो राम्रोसित तातो पानीले सफा गर्दा पनि हुन्छ । पसलमा मासु बिक्री गर्ने काम सकिएपछि धोई पखाली घाममा सुकाए पनि त निसंक्रमित हुन्छ ।

·  बिक्रीपछि बाँकी मासु फ्रिज, डिप फ्रिजमा सञ्चय गरी राख्ने ।

·  कामदारको व्यक्तिगत सरसफाइ, वधस्थल वरपर फिरन्ते कुकुरको निरिक्षणमा निषेध, वधस्थल वरपर चुन छरे पनि आधा सुरक्षित हुन्छ । यसो त राज्यले पशु वधशाला तथा मासु जाँच ऐन, नियमावली अनि, निर्देशिका तयार गरेर राखेको छ, त्यो त आधुनिक एवं व्यवस्थित वधशाला बनेछ भने लागु गरौंला । यी सबै हुन उपभोक्ता आफै सजग हुनु पर्ने छ । किनभने पशु वधशाला तथा मासु जाँच ऐन, नियमावली अनि, निर्देशिका तयार गरेर मात्र नपुग्ने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment