ध्रुवहरि अधिकारी
घटना असोज २७ गते सोमबारको हो । त्यस दिन ‘नागरिक’ दैनिक पत्रिकाका पाठकले पहिलो पृष्ठको सिरानमै एक हँसिलो मुद्रामा देखिने एक युवकसित साक्षात्कार गरे, त्यसमुनिको पेटबोली पढेर थाहा पाएँ – ती युवकले त्यसै प्रकाशन गृह ‘नेपाल रिपब्लिक मिडिया’ को अंग्रेजी अखबार ‘रिपब्लिका’ को सम्पादक पदमा नियुक्ति पाएका रहेछन् ।
समाचार अद्योपान्त पढेपछि नव-नियुक्त सम्पादक सुभाष घिमिरेको शैक्षिक पृष्ठभूमि दह्रै रहेको थाहा हुन्छ: अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘पब्लिक पोलिसी’ मा स्नातकोत्तर उपाधि । राजनीति गर्न अथवा योजना आयोगजस्ता निकायमा छिर्न उपयोगी हुने शैक्षिक पृष्ठभूमि हो यो । तर, पत्रकारितामा प्रवेश गर्न खोज्नेसित अपेक्षा गरिने योग्यता यस्तो हुँदैन । कि पत्रकारिता पढेको हुनुपर्यो, कि पत्रकारिता गरेको देखिनुपर्यो । अनि मात्र सिकारु संवाददाता (कब) भएर कुनै अखबारमा कुनै साप्ताहिक, दैनिक अखबारमा पस्न पाइन्छ ।
सबैभन्दा माथिको पद ‘सम्पादक’मा पुग्न त सिकारुले त्यस्तो भर्याङ उक्लिनुपर्छ, जसमा धेरैवटा खुड्किला हुन्छन् । र, हरेक खुड्किलोमा दह्रोसित खुट्टो नटेकिकन माथिल्लो खुड्किलोमा पाइला हाल्न पाइँदैन ।
यस हरफको लेखलगायत नेपालको पत्रकारिता फाँटका धेरै जनालाई थाहा छ, विद्यावारिधि (पीएचडी) गरेका युवक-युवतिले समेत ‘रिपोर्टर’ भएर पत्रकारिता थालेका उदाहरण छन् । आधारभूत सैनिक तालीम नपाएको व्यक्ति सेनापति हुन सक्दैन । भयो भने अनर्थ हुन्छ, अनिष्ट निम्तिन सक्छ । त्यसैगरी, प्रहरीको प्रारम्भिक तालीम नपाएको व्यक्ति शैक्षिक प्रमाणपत्रकै आडमा मात्र सङ्गठन प्रमुख भयो भने उसको नेतृत्वमा बस्नेहरुले विद्रोह गर्छन् ।
अनुमान गर्छु, असोज २६ गते सुभाष घिमिरे नियुक्त भएको उद्घोषण सुन्दा रिपब्लिक मिडियाका सबैजसो सञ्चारकर्मीहरु स्तब्ध भएको हुनुपर्छ, विद्रोहको मानसिकताले उद्वेलित भएको हुनुपर्छ । चर्चित ‘नियुक्ति’ को समाचार लेख्न खटिएको पत्रकार नै आक्रोशमिश्रति छटपटाहटमा परेको हुनुपर्छ ।
संस्थागत अनुशासनले बाँधिएर बसुञ्जेल आक्रोशको अभिव्यक्ति सार्वजनिक गर्न मिलेन, त्यसैले त्यहाँका सञ्चारकर्मी उकुसमुकुस खपेर बसेका होलान् । हुन पनि हो पत्रकारिता पढेर, रगत पसीना बगाएर अनुभव बटुलेका सञ्चारकर्मीको अवमूल्यन हुनेगरी पत्रकारिताको ‘प’ मा पनि प्रवेश नगरेको व्यक्तिलाई सम्पादक बनाइदिँदा नेपालमा सम्पादक पद पनि राष्ट्रिय राजनीतिका घृणित क्रियाकलापसित दाँजिन पुगेको छ ।
नेताहरुले ज्ञान, सीप, क्षमता, दक्षता नभएका नातेदार वा पैसावालालाई उच्च सरकारी ओहोदा दिलाएर ओहोदाकै उपहास गरेको देखिन्थ्यो, अब त्यो रोग पत्रकारितामा पनि सरेको देखियो ।
नसुहाउँदो छनोट
त्यसै पनि आश्चर्य लाग्ने कुरो । पत्रकारिताको लामो व्यवहारिक प्रशिक्षण र अनुभव सँगालेपछि सम्पादक भएका कसमस विश्वकर्माको उत्तराधिकारीमा पत्रकारिताको क, ख, ग सित समेत चिनारी नभएको व्यक्ति ! फेरि सँगैमा उही प्रकाशनगृहको ‘नागरिक’ मा सम्पादकको जिम्मेवारी बहन गरिरहेका प्रतीक प्रधान छन्, जसको शैक्षिक योग्यता, तालीम, अनुभव सबै प्रशंसनीय स्तरको छ । ‘को रहेछ प्रतीक प्रधान ?’ – यस्तो प्रश्न कसैले गर्दैन ।
यहाँ पनि प्रधानकाबारे म कुनै सन्देह प्रकट गर्दिनँ । तर, एउटा जिज्ञासा भने हुन्छ: पत्रकारिताको ज्ञान, सीप र अनुभव केही पनि नभएको व्यक्तिलाई आफ्नो समकक्षी मान्नुपर्दा प्रतीकलाई कस्तो अनुभूति भैरहेको होला ?
रिपब्लिकातर्फ पनि संस्थापक-सम्पादक अमित ढकाल अनुभवी र परिचित पत्रकार भैसकेपछि मात्र नेतृत्वको जिम्मेवारी लिने ठाउँमा पुगेका हुन् । उनीपछिका कसमस विश्वकर्मा पनि रिपोर्टर समेतका अनुभव बटुल्दै सम्पादक बनेका हुन् ।
कसमसका वरिष्ठ सहयोगी विमल गौतमको पत्रकारको छवि पनि विशिष्टै छ । रेडियो, टेलिभिजन र अखबारमा काम गर्दा खारिएको उनको क्षमतालाई मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रेस सल्लाहकार बनाएर उपयोग गरेकै हुन् । रिपब्लिकाका कैयन् सञ्चारकर्मीहरुले रोजी-रोटीको बाध्यताले अहिले खुलेर विरोध नगरेका हुन सक्छन् । तर, यस हरफको लेखकले बुझेसम्म त्यहाँ काम गर्ने झण्डै चारदर्जन पत्रकार कसैले पनि नयाँ सम्पादकको नियुक्तिलाई मन पराएका छैनन् ।
राष्ट्रिय समाचार समिति (रासस) जस्तो समाचारको मूलस्रोतमा काम गरिसकेका मोहनवीर सिंहजस्ता पाका सहकर्मीहरुको मनोबल कस्तो होला ? पिटर जे. कार्थक र पुरन बिष्ट जस्ता सिद्धहस्त सञ्चारकर्मीको स्वाभिमानमा कति ठेस लागेको होला ?
अखबार, रेडियो, टेलिभिजन, अनलाइन जहाँसुकै होस् समाचार कक्ष (न्यूज रुम) सञ्चालन विशिष्ट ज्ञान, कलाको आवश्यकता पर्ने ठाउँ हो । त्यहाँ कुनै वाद, सिद्धान्त वा विद्यावारिधिको ठाउँ हुँदैन । पेशागत ज्ञान र निष्पक्षताको छवि नभैकन त्यस ठाउँमा कुनै सञ्चारकर्मीले काम गर्न सक्दैन । सर्वत्र यही प्रचलन छ ।
लगानीकर्ताले युवापुस्ताका व्यक्तिलाई ‘मौका’ दिएको भनेर आफ्नो निर्णयको बचाउ गरेको पनि सुनिन्छ । तर, कुरो उमेरको मात्र होइन, दक्षता, क्षमता र अनुभवको पनि हो । अर्को कुरो, सम्पादक प्रयोग (एक्स्पेरिमेन्ट) गर्ने पद हुँदै होइन । सुभाष घिमिरेको नियुक्तिको समाचारमा परेको यो एउटा वाक्यले नै पत्रकारितासितको उनको साइनो कति टाढाको रहेछ भन्ने प्रष्ट पार्छ: “अमेरिकाबाट प्रकाशित हुने ‘हफिङ्गटन पोस्ट’मा उनका नेपालसम्बन्धी लेख प्रकाशित छन् ।” यथार्थमा त्यो ब्लगमात्र हो । यसरी कतै कुनै बेला एकाध लेख छपाउनु नै योग्यता हो भने त्यस्ता व्यक्ति नेपालमा दर्जनौं होलान् ।
भन्नु परोइन, नेपाल रिपब्लिक मिडियाले घिमिरेलाई त्यस कम्पनीको महाप्रबन्धक अथवा प्रबन्धकको जिम्मेवारी दिएको भए वातावरण यतिविधि धमिलिने थिएन । बरु त्यस जिम्मेवारीमा रहेका बखत सम-सामयिक विषयमा लेख, विवेचना, विश्लेषण छपाएर आफ्नो क्षमता प्रदर्शन गरेको भए उनी कालान्तरमा सम्पादकको पदमा पुग्न पनि सक्थे । तर अहिलेको स्थिति त्यस्तो होइन ।
रिपब्लिक मिडियाका साहुले मैले चाहें भने जसलाई पनि सम्पादकको आसनमा बसाइदिन सक्छु भनेर आफ्नो शक्तिको चरम दुरुपयोग गरेकोजस्तो भएको छ । दम्भ र अहंकारको परिणाम देखिएको छ – राणाहरुको हुकुमी शासनका बेला हुने पर-पजनी झझल्को गराउने गरी ।
जग-जाहेर छ, अहिलेको युगमा राणाकालको जस्तो जहानीयाँ शासन धान्न गाह्रो छ । मेरो लगानी भएको कम्पनीमा म आफूखसी गर्छु त भन्ने तर्क आउला, तर समकालीन चनाखो समाजले त्यस्तो कुरा कसरी मान्ला, के पत्याउला ? आखिर पत्यार अर्थात् विश्वसनीयता पत्रकारिताको धरोहर हो । त्यसमा आँच आउने काम गरे अन्ततोगत्वा लगानीकर्ताकै नोक्सानी हुन्छ । सजग पाठकले भन्न थाल्नेछन् – योग्यता, क्षमता केही नभएको सम्पादकले निकालेको अखबार के विश्वसनीय होला र ? हरेक दिन सर्वसाधारणको माझमा पुग्ने अखबारका प्रकाशकलाई समाजले कुरीकुरी गर्ने अवस्था आउनेछ ।
तुलना गर्न सकिने एउटा परिस्थिति कल्पना गरौं: कुनै एक सम्पन्न व्यक्तिले आफ्नो सम्पत्तिको एक भाग लगानी गरेर एउटा औषधि कारखाना खोलेछ । त्यहाँ उसले कसलाई कामको मुख्य जिम्मा देला त – औषधि विज्ञान पढेको, जानेको मानिसलाई कि त्यस आकर्षक युवकलाई, जसले मोटरमर्मत कारखानाको मिस्त्रीको काम सीप सिकेको छ ? मोटर मिस्त्री औषधि उत्पादक भएको थाहा पाउने उपभोक्ताले यस्तो कम्पनीको औषधि नै किन्दैन । किनभने त्यस्तो कारखानाको औषधि खाने विरामी निको हुनेभन्दा मर्ने खतरा रहन्छ । स्पष्टै छ, विश्वसनीयता गुमेपछि लर्तरो खती हुँदैन । यो कुरो आफैंले बेहोरेपछि थाहा हुन्छ । आफैं नमरी स्वर्ग देखिँदैन ।
नेपाल रिपलब्लिक मिडियाका वर्तमान सञ्चालक ‘कान्तिपुर’ प्रकाशन समूहमा छँदा एउटा त्यस्तै उदेकलाग्दो काम भएको थियो । सम्पादक नियुक्तिको सम्बन्धमा । नेपालमा बसेर पत्रकारिता गरेको अनुभव ‘शून्य’ भएका युवकलाई एकैपल्ट सम्पादकको जिम्मेवारी दिइयो । यस्तो पहिले भएको उदाहरण थिएन । योगेश उपाध्यायको ठाउँमा युवराज घिमिरेलाई छनोट गर्दा त्यसबखत देशभित्र पर्याप्त सम्भाव्य उम्मेदवार नपाइएको अवस्था देखाइएको हुनसक्छ । र, खास परिस्थिति वा परिबन्दले गर्दा प्रकाशकले त्यससम्बन्धी निर्णय आफूले मात्र गर्न नसकेको अड्कल उतिखेरै सुनिएको हो ।
जे होस्, युवराज घिमिरे पत्रकारितामा परिचित नाम थियो । छिमेकको लोकतान्त्रिक मुलुक भारतमा बसेर पत्रकारिता सिकेको, गरेको अनुभव नेपालमा नसुहाउने प्रश्न पनि थिएन । त्यसैबीच, बीबीसी नेपाली सेवासितको सम्बद्धताले घिमिरेलाई हिन्दी र अंग्रेजीबाट नेपालीमा रुपान्तरित हुन सघाउ पनि पुर्यायो होला । तैपनि प्रारम्भमा उनबाट केही टड्कारा गल्ती भए । जस्तो, भारतको पश्चिम बंगाल प्रान्तका मुख्यमन्त्री ज्योति बासुले सो पदबाट राजीनामा दिँदा घिमिरेले भारत र पश्चिम बंगाल उल्लेखै नगरी एकैचोटि ‘मुख्यमन्त्री ज्योति बसुले राजीनामा दिनुभएको छ’ भन्ने बेहोरा लेख्नपुगे । त्यस्तो लेखाइले ज्योति बसु नेपालकै ‘मुख्यमन्त्री’ थिए जस्तो हुन गयो । त्यसमाथि त्यस समाचारलाई चाहिनेभन्दा बढी महत्व दिएर प्रथम पृष्ठको माथिल्लो भागमा, ठूलो शीर्षकमुनि राखियो ।
त्यस्तै, नेपालमा ‘शान्ति सुरक्षा’ को उल्लेख हुनेगर्छ, तर केही समय कान्तिपुरले ‘कानून व्यवस्था’ को थेगो समात्यो । किनभने भारतका हिन्दी सञ्चारमाध्यम त्यसैगरी प्रस्तुत हुने गर्छन् । र, त्यहाँ लामो समय काम गरेका पत्रकारमा त्यो छाप पर्नु स्वभाविकै हो ।
स्वागतयोग्य सोच
युवराज घिमिरेपछि ‘कान्तिपुर’ ले बाहिरबाट डाकेर सम्पादक नियुक्त गर्ने परिपाटी त्याग्ने स्वागतयोग्य काम गर्यो । नारायण वाग्ले र प्रतीक प्रधानलाई संवाददाताबाट सिक्दै, अनुभव सँगाल्दै गरेपछि मात्र सम्पादकको पद प्राप्त भएको हो । पछि सुधीर शर्मा र अखिलेश उपाध्यायको आगमन भयो, प्रारम्भमा दुबैलाई ‘कलिलो उमेरका’ भनियो । यद्यपि दुबैजना नेपाली पत्रकारितामा नयाँ, अपरिचित नाम थिएनन् । बरु अहिलेका प्रतिस्पर्धी प्रकाशनगृहले ‘साहुजीका सम्पादक’ को परिपाटी बसालेको दृश्यले सुधीर र अखिलेशस्तरका सञ्चारकर्मीलाई हतोत्साही गराएको होला । वृत्तिविकासको क्रममा रहेका अन्य प्रकाशन/प्रसारण गृहका सञ्चारकर्मीमा पनि नैराश्य छाएको होला ।
निचोडमा, नेपाल रिपब्लिक मिडियाको यो नवीनतम् नियुक्तिले त्यस प्रकाशनगृहलाई विवादमा पारेको छ । सम्पादक पदको अवमूल्यन गराएको छ । सञ्चारकर्मीहरुको सिङ्गो समुदायको उपहास हुन गएको छ । यो वास्तवमा आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेसरहको नकाम हो । तसर्थ घिमिरेको नियुक्ति सम्बन्धमा गरेको निर्णयमा कम्पनीले पुनर्विचार गर्नुपर्छ । विनयशील रुपमा प्रस्तुत भै अहिलेको हास्यास्पद स्थितिको अन्त्य गर्नुपर्छ । भूलसुधार सम्पादकले मात्र होइन, ऐन-मौकामा प्रकाशकले पनि गर्नु वाञ्छनीय हुन्छ ।
अन्त्यमा-
महात्मा गान्धीको वचन छ:– दुष्कर्मको निन्दा गर, त्यस्तो कार्य गर्ने व्यक्तिको निन्दा नगर (हेट द सिन नट द सिनर) । यहाँ पनि प्रवृत्तिको आलोचनासम्म गरिएको हो, व्यक्तिको होइन । हो, परिस्थितिको वर्णनको क्रममा केही नाम चर्चामा आएका छन् त्यसलाई अन्यथा अर्थ नलागाउन आग्रह गर्दछु ।
(अधिकारी बरिष्ठ पत्रकार हुन् । प्रस्तुत लेख उनको व्यक्तिगत विचार हो)