Comments Add Comment

जीवनसँग भाग्ने आलोकको पदचाप नपछ्याऔं !

अरुण बराल

चलचित्र निर्देशक आलोक नेम्वाङले विहीबार साँझ आत्महत्या गरे । नेपालमा दिनानुदिन बढ्दै गएको आत्महत्याको सूचिमा आलोक नेम्वाङ पछिल्लो नाम हो ।

aalok-death-body

नेपालमा दैनिक १५ जनाले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनको दाबी छ ।

आत्महत्या गर्नेको पदचाप
आत्महत्याको प्रशंगमा चर्चा गर्दा एउटा रोचक प्रशंग यहाँ स्मरणीय छ । नेकपा एमाले मोरङले केही वर्षअघि आत्महत्या गरेका एकजना पूर्वगाविस अध्यक्षको स्मरणमा बिराटनगरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।

सो समारोहमा मन्तव्य दिने एमाले नेताहरुले मृतकको पदचाप पछ्याउन र उनीबाट सिक्न आवश्यक रहेको भाषण गरे । मृतकको परिवारलाई लागेको ऋणसमेत पार्टीबाटै तिरिदिने घोषणासमेत गरियो ।

आत्महत्या गर्ने पूर्वगाविस अध्यक्षबाट सिक्न र उनको पदचाप पछ्याउन नेताहरुले आग्रह गरेपछि एमालेका पुराना एवं प्रौढ कार्यकर्ता भवनाथ पौडेलले मित्रजनसँग ठट्टा गरे- ‘आत्महत्या गर्ने मान्छेको पदचाप कसरी पछ्याउने ? उनीबाट के सिक्ने ? के हामीले पनि उनको पदचाप पछ्याउँदै आत्महत्या गर्ने ?’

बिराटनगरका सुपरिचित पौडेलले त्यसबेला थप व्यंग्य गरे-‘ऋण खाएर मर्‍यो भने कसैले राम्रो भन्दैना्, तर आत्महत्या गर्‍यो भने पार्टीले ऋण पनि तिरिदिँदोरहेछ, महान मान्छे भन्दै पदचाप पछ्याउन भनिँदोरहेछ, त्यसैले ऋण तिर्न सकिएन भने आत्महत्या पो गर्नुपर्छ कि क्या हो !’

आत्महत्याको तथ्यांक

विभिन्न तथ्यांकअनुसार प्रत्येक वर्ष विश्वमा ८ लाख मानिसले आत्महत्या गर्छन् । आत्महत्याको समस्या भारतमा राष्ट्रिय रोगजस्तै बनेको छ । छिमेकी भारतमा प्रत्येक वर्ष १ लाख ३५ हजारले आत्महत्या गर्छन् । दैनिक ३ सय ७० भन्दा बढी भारतीयहरुले आत्महत्या गर्ने गरेका छन् । तथ्यांक अनुसार विश्वभर आत्महत्या गर्नेमध्ये १७ प्रतिशत भारतीय छन् ।

आत्महत्याको समस्याबाट युरोप अमेरिका जस्ता सभ्य मुलुकहरु पनि अछुतो छैनन् । दक्षिण कोरियामा प्रत्येक १ लाख मानिसमा २८ जनाले आत्महत्या गर्ने गरेका छन् । अमेरिकामा पनि पछिल्ला दिनमा आत्महत्या गर्नेहरुको संख्या बढेको छ ।

युरोपका कतिपय देशहरुमा त आत्म हत्या गर्न पाउनुपर्छ भन्ने अभियानसमेत चल्न थालेको छ ।

नेपालमा दैनिक १५ जनाले आत्महत्या गर्छन्

नेपालमा पनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार दैनिक १५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।

डब्ल्युएचओको अथ्यांक अनुसार दक्षिण एशियामा आत्महत्या गर्नेहरुको सूचीमा नेपाल भारतभन्दा पनि अगाडि छ । दक्षिण एशियामा आत्महत्या गर्नेहरुको सबैभन्दा बढी दर श्रीलंकामा छ भने नेपाल दोस्रोमा छ ।

सन् २०१२ मा ५ हजार ५ सय ७२ नेपालीले आत्महत्या गरेको र त्यसमा महिला भन्दा पुरुष बढी रहेको डब्ल्युएचओको तथ्यांकले जनाएको छ ।

आत्महत्यालाई प्रश्रय नदिऔं

कानूनी दृष्टिकोणले आत्महत्या गर्नु अपराध हो भने जीवन-दर्शनको हिसाबले पनि आत्महत्या कारयता र पराजयको पराकाष्टा हो । आत्महत्या गर्नेलाई महान व्यक्तिका रुपमा परिभाषित गर्नु जीवन, व्यवहार र कानूनसँग संगति नमिल्ने विषय हो ।

फौजदारी कानूनले मानिसलाई कसैको पनि हत्या गर्ने छुट दिँदैन । आफैंलाई हत्या गर्ने छुट पनि व्यक्तिलाई हुँदैन ।

तर, नेपालमा यतिबेला आत्महत्याको दरमात्रै बढिरहेको छैन, जीवनसँग हारेर आत्महत्या गर्नेहरुलाई महान व्यक्तिका रुपमा प्रशंसा गरेर आत्महत्यालाई महान कार्यका रुपमा स्थापित गर्ने मनोवैज्ञानिक प्रयत्नसमेत सुरु भएको छ । यस्तो कार्यलाई निरुत्साहित गर्न सकिएन भने आत्महत्या गर्नेहरुलाई थप प्रेरणा मिल्ने निश्चित छ ।

त्यसैले जीवनसँग हारेर आत्महत्या गर्नेहरुको पदचाप नपछ्याउऔं । जीवनमा जस्तै संघर्ष गर्नुपरे पनि परे पनि एकपटक प्राप्त भएको सुन्दर जीवनलाई नष्ट नगरौं । जीवनसँग नहारौं । भगौडा आलोक नेम्वाङको पदचाप कसैले पनि नपछ्याउँऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment