Comments Add Comment

‘अन्तर्राष्ट्रिय विमानस्थलले ९ वर्षपछि यात्रुको चाप थेग्न सक्दैन’

२६ कात्तिक, काठमाडौ । नेपाल नागरिक उड्डेयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले आगामी नौ वर्षपछि यात्रुको चाप थेग्न नसक्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको बुधवारको पहिलो सत्रमा बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले सन् २०२३ पछि यात्रु क्षमता थेग्न नसक्ने भएकाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको बताए ।

airport-4

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु थेग्न नसक्ने भएकै कारण अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढेको महानिर्देशक सुमनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९० प्रतिशत आन्तरिक र १० प्रतिशत मात्रै अन्तर्राष्ट्रिय उडान गर्ने उल्लेख गर्दै उनले विमानस्थलको स्तरउन्नतिको काम भइरहेको जानकारी दिए ।

चार चरणमा सम्पन्न गर्नेे स्तरउन्नतिको परियोजनाको दोस्रो चरणको भने टुङ्गो लागिनसकेको उनले बताए ।

महानिर्देशक सुमनले दोस्रो विमानस्थलको रुपमा निर्माण कार्य जारी रहेको निजगढ विमानस्थललाई ट्रान्जिट एयरपोर्टको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

यस्तै, सम्मेलनमा नेपाल एभिएशन प्लानिङका सल्लाहकार शान्टियागो गोमेजले अन्तर्राष्ट्रिय विमानस्थल राज्यले ठूलो आम्दानी गर्ने विमानस्थल भएकाले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा जति लगानी गर्‍यो, त्यति नै सरकार र निजी क्षेत्रलाई फाइदा हुने बताए ।

उनले राजश्व उठाउने विषयमा सरकार भन्दा निजी क्षेत्र सफल हुने भएकाले निजी क्षेत्रले लगानी गर्नुपर्ने र सरकार नियामक निकाय हुनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिलो तस्विर भएकाले पूर्वाधार निर्माणमा कञ्जुस्याइँ गर्नु नहुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment