Comments Add Comment

प्रचण्ड रोल्पा जाँदा वार्ताबाट भागेको भन्नु गलतः एमाओवादी

baburam and narayan kaji press meet

२७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी पार्टी अध्यक्ष प्रचण्ड रोल्पा गएको बेला माओवादी वार्ता र सहमतिको प्रक्रियाबाट भागेको भनेर गलत प्रचार भएको बताएको छ ।

साथै संविधानका विवादित विषयमा प्रस्ताव दर्ता गर्ने भए सम्वाद समिति नभए संविधानसभामा जान समेत चुनौती दिएको छ ।

सम्वाद समिति प्रस्ताव गर्ने थलो होइन, साँच्चै प्रस्ताव दर्ता गर्ने हो भने संविधानसभा छ । कसैले रोक्दैन- नारायणाकाजी

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरेर सम्वाद समितिमै सहमतिको सम्भावना रहेको बताए । ‘प्रचण्ड रोल्पा गएको सन्दर्भमा कांग्रेस-एमालेले माओवादी वार्ताबाटै भागेको भनेर प्रचार गरेको छ । यसको पूर्ण खण्डन गर्छौं’ श्रेष्ठले भने-‘हामी अहिले पनि छलफलका लागि तयार छौं र गरिरहेका पनि छौं ।’

साथै उनले संविधानसभाबाटै संविधान निर्माण गर्न माओवादी प्रतिवद्ध रहेको बताए । १२ बुँदे यताका सहयात्रीहरुबीच सहमति हुनु पर्ने भन्दै माओवादी उपाध्यक्ष श्रेष्ठले भने-‘हामी सहमतिबाटै संविधान बनाउनुपर्छ भन्नेमा छौं र सहमति सम्भव छ ।’

एउटै विकल्प सहमति भएन भनेर प्रतिवेदन पठाउने

माओवादीले संंवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा देखिएको गतिरोध अन्त्य गर्न कांग्रेस र एमालेलाई आग्रह गरेको छ ।

संविधानसभाले पठाएको विवादित विषयमा सहमति गरेर प्रतिवेदन पठाउने वा सहमति नभए त्यसको जानकारी गराउने मात्र जिम्मेवारी सम्वाद समितिको भएको माओवादीले बताएको छ । सहमति हुँदै हुँदैन भन्ने निष्कर्षका साथ प्रश्नावली बनाउन समेत प्रमुख दलहरुबीच सहमति भइनसकेको भन्दै माओवादी उपाध्यक्ष श्रेष्ठले भने-‘यस्तोमा सम्वाद समितिको एउटै विकल्प हुन्छ सहमति भएन भनेर प्रतिवेदन पठाउने ।’

साँच्चै प्रस्ताव दर्ता गर्ने भए संविधानसभा छ

कांग्रेस, एमालेसहितका दलको साझा प्रस्ताव सकारात्मक भएपनि आफूहरुको सहमति नभएको माओवादी उपाध्यक्ष श्रेष्ठले प्रष्ट पारेका छन् ।  कांग्रेस, एमालेको प्रस्ताव सम्वाद समितिले संविधानसभामा पठाउन नसक्ने भन्दै श्रेष्ठले भने-‘सम्वाद समिति प्रस्ताव गर्ने थलो होइन, साँच्चै प्रस्ताव दर्ता गर्ने हो भने संविधानसभा छ । कसैले रोक्दैन ।’

माओवादी आफ्नो अडानमा लचिलो भएको भन्दै माओवादी उपाध्यक्ष श्रेष्ठले कांग्रेस टसमस नभएको र एमालेले अडान छाडेको बताए ।

सहमति भए प्रश्नावली बनाएर पठाउँछु

सम्वाद समितिका सभापति समेत रहेका डा. बाबुराम भट्टराईले दलहरुबीच सहमति हुन्छ भने प्रश्नावली बनाएर पठाउन आफू तयार रहेको बताए । ‘कांग्रेस र एमालेको प्रस्तावमाथि सम्वाद समितिमा छलफल गराएको छु र अन्य प्रस्तावहरु पनि आएका छन्’ भट्टराईले भने-प्रश्नावली बनाएर पठाउन जुन प्रक्रिया अपनाउने हो, त्यसमा पनि सहमति हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment