Comments Add Comment

मोदीको सभा र साइकल बाँड्ने कार्यक्रमप्रति सभासदहरुको आपत्ति

Rajya-byabastha-samiti

२७ कात्तिक, काठमाडौं । सार्क सम्मेलनका लागि आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठाउँ ठाउँमा सभा गर्ने र साइकल बाँड्ने कार्यक्रमप्रति सभासदहरुले आपत्ति जनाएका छन् ।

संसदको राज्य व्यवस्था समितिमा बिहीबार प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई बोलाएर सभासदहरुले यसबारेमा जानकारी समेत मागेका छन् ।

सभासदहरुले चुनावका बेलामा जस्तो साइकल बाँड्ने, टोल टोलमा भाषण गर्दै हिड्ने कार्यक्रमले कुटनीतिक मर्यादा उल्लंघन हुने भन्दै ध्यानाकषर्ण गराएको  राज्य व्यवस्था समितिका सदस्य एमाले सभासद यज्ञराज सुनुवारले बताए ।

‘अन्य सार्क मुलुकका सरकार प्रमुखहरुले पनि यसैगरी भाषण गर्ने, साइकल बाँड्ने र नागरिक अभिनन्दन खाने चाहना व्यक्त गरे पनि सरकारले व्यवस्था मिलाउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेका छन्’ सभासद सुनुवारले भने-‘यस्ता कुराले कुटनीतिक मर्यादा र अर्को देशको सार्वभौमिकतामाथि के असर पर्छ भन्ने बुझ्न पनि जरुरी छ ।’

बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रवहादुर केसीले सार्क सम्मेलनलाई मोदीमय बनाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए । उनले एक मित्रलाई खुसी पार्न सरकार लत्रिएको भन्दै अरु देशका सरकार तथा राष्ट्र प्रमुख पनि आउँदैछन् भन्ने हेक्का राख्न आग्रह गरे ।

सभासदहरुले सार्कको सुरक्षा, सार्वजनिक विदा, ट्राफिक व्यवस्थापन लगायका विषयमा पनि सरकारसँग जानकारी मागेका थिए । सार्क व्यवस्थापनका नाममा सर्वसाधारणलाई सास्ती नदिन सभासदहरुले आग्रह गरेका थिए ।

भाषण होइन, नागरिक अभिनन्दनको कार्यक्रम मात्र

बैठकमा प्रधानमन्त्री कोइरालाले सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाले बिभिन्न ठाउँमा जान चाहँदा सरकारले व्यवस्थापन गर्नुपर्ने बताए । उनले सार्क ऐतिहासिक हुने दावी समेत गरे ।

गृहमन्त्री गौतमले मोदीबाट साइकल बाँड्ने कार्यक्रम नरहेको भन्दै टोल टोलमा भाषण गर्ने भन्दा पनि नागरिक अभिनन्दनको कार्यक्रम रहेको जानकारी दिएका थिए ।

गृहमन्त्री गौतमले मोदीले जनकपुर र लुम्बिनीमा भाषणा गर्ने दाबी गरे । उनले मोदीले जनकपुर, लुम्विनी र मुक्तिनाथको तीर्थ गर्नु अन्तराष्ट्रिय गौरवको विषय भएको बताए ।

राज्य व्यवस्था समितिले सार्क सम्मेलनको सुरक्षा व्यवस्था बलियो बनाउन र ट्राफिक व्यवस्थापन गरि सर्वसाधारणलाई सहज आवागमनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment