Comments Add Comment

बद्नाम भन्दै भरत सुवेदीलाई राजश्व अनुसन्धानमा हाजिर गर्न रोकियो

२७ कात्तिक, काठमाडौं । विवादस्पद र बद्नाम सहसचिव भरत सुवेदीलाई अर्थमन्त्री रामशरण महतले कानुन विपरित अर्थ मन्त्रालय लगेर राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाएपछि उनलाई विभागमा हाजिर हुन रोकिएको छ ।

Bharat-subadiसुवेदीलाई निजामति ऐन विपरित बिभागमा हाजिर गराउन नमिल्ने भन्दै बिभागका कर्मचारी प्रशासन प्रमुख तीर्थ खनालले उनको काज सरुवाका बारेमा नीतिगत प्रश्न उठाएका हुन् ।

खनालले अर्थ मन्त्रालयबाट सुवेदीलाई हाजिर गराउन भनी पठाइएको पत्रमा प्रश्न उठाउदै कुन कानुन अनुसार काज सरुवा भएको भन्दै जानकारी मागेका छन् । ‘यसपत्रमा नाम उल्लेख भएका व्यक्ति नेपालको निजामति सेवा इतिहासकै सबैभन्दा विवादस्पद र बद्नाम व्यक्ति भएका हुदा निजको हकमा काज सरुवाको सबै पक्ष स्पष्ट हुनुपर्छ’ खनालले टिप्पणीमा यस्तो प्रश्न उठाएका छन् ।

उनले तोकिएको अड्डा भन्नाले कहाँबाट तलब खाने ? नेपालका कुन प्रचलित कानुनको अधिनस्थ सरुवा भएको हो ? र त्यसको निर्णयको प्रतिलिपि हेर्न पर्ने कि नपर्ने ? भन्ने प्रश्न उठाएको स्रोतले जनाएको छ ।

उनले यो प्रश्न उठाउँदै हाजिर हुन नदिने भनेपछि महानिर्देशक बालकृष्ण घिमिरेले मन्त्रालयबाट अर्को पत्र बनाएर आफ्नै कार्यकक्षमा हाजिर गराएको स्रोतले जनाएको छ ।

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा २६ मा, अनुसन्धानका क्रममा जुनसुकै कर्मचारीलाई पनि महानिर्देशकले काजमा ल्याई काममा लगाउन सक्ने भनिएकोले सुवेदीलाई सोही अनुसार ल्याइएको दाबी महानिर्देशकको छ  ।

तर, सो दफा अनुसार उनलाई विज्ञका रुपमा केही समय निश्चित मुद्दा हेर्न दिन सकिए पनि मन्त्रिस्तरीय निर्णयबाट उपमहानिर्देशक बनाइनु गैरकानुनी रहेको कर्मचारीहरुले बताएका छन् ।

उनको अधिकार प्रत्यायोजनको पत्र अर्थमै अड्किएको र सामान्य प्रशासनले श्रम मन्त्रालयलाई सुवेदीको काज सरुवाको कानुनी हैसियतबारे स्पष्टिकरण सोधिसकेकाले यो काज सरुवा बदर हुने अर्थका उच्च अधिकारीले बताए ।

‘खटाएको ठाउँमा ९० दिनसम्म हाजिर नभए जागिर जानुपर्नेमा भरत सुवेदी श्रम मन्त्रालय अन्तर्गतको सिप विकास केन्द्रमा ६ महिनासम्म हाजिर नभएकोमा उल्टै पुरस्कृत गर्ने कुरा गैरकानुनी छ’ एक उच्च अधिकारीले भने-‘अर्थ मन्त्रालयमा काज सरुवा हुने दिनमात्र उनले केन्द्रमा गएर हाजिर गरेका छन्, सामान्यले उनलाई कारवाही गर्नुपर्छ ।’

अधिकार प्रत्यायोजन नभइसकेका र हाजिर नै विवादमा परेका सुवेदीले बिहीबार  महानिर्देशक र निर्देशक नभएको मौकामा कर्मचारी भेला गरेर दुई तीन घण्टाजति आफ्ना कुरा राखेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment