२७ कात्तिक, मलङ्गवा । सर्लाही जिल्लाको मुर्तिया गाँउ विकास समिति वडा नं १ बाट एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।
मानसिक सन्तुलन गुमाएकी ३९ वर्षीया भगवती लुइटेल आफ्ना २ छोरीहरु १३ वर्षीय पुनम र ९ वर्षीय आशीका सहित बेपत्ता भएकी हुन् ।
छोरीहरु लिएर कार्तिक १७ गते घरबाट हिडेकी श्रीमतीलाइ प्रहरीको सहयोगमा खोजी गर्दा कही कतै फेला नपरेको श्रीमान त्रिलोचन लुइटेलको भनाइ छ ।
आमासँगै हराएका छोरीले पनि १० दिनसम्म कुनै सम्पर्क नगरेकाले तीनैजनालार्इ कसैले बेपत्ता पारेको आशंका परिवारजनको छ । पुनम कक्षा ७ र आशिका कक्षा ४ मा पढ्ने छात्रा हुन् ।
बेपत्ता भएकाको परिवारजनले मुर्तियाको इलाका प्रहरी कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका छन् । प्रहरीले हराइरहेका व्यक्तिको खोजी भइरहेको जनाएको छ ।।