Comments Add Comment

सौर्यको व्यवसायिक उडान सुरु, २० मिनेटमा विराटनगर

bombardier-crj200_sourya
१ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले सोमबारदेखि व्यवसायीक उडान सुरु गरेको छ । कम्पनीले विहान माउन्टेन फ्लाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो ।

माउन्टेन फ्लाइटपछि विमान करिव पौने तीन बजे ३५ जना यात्रु बोकेर विराटनगर गएको कम्पनीका मुकेश खनालले अनलाइनखबरलाई बताए । उनका अनुसार विमान काठमाडौं फर्किदा पुरै भरिएको थियो ।

क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २००’ जेट इञ्जिन विमान ५० सीट क्षमताको हो । विमान माउन्टेन फ्लाइटमा जाँदा कम्पनीका एमडीसहित २२ जना पर्यटकहरु रहेका थिए ।

कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट आन्तरिक उडानका लागि गत हप्ता उडान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको थियो । मुलुकमै पहिलो पटक जेट इञ्जिन जहाजबाट पर्यटकहरुले हिमाल हेर्ने अवसर प्राप्त गरेको खनालको भनाई थियो ।

सौर्यको यो जहाज करिव २० मिनेटमा विराटनगरमा अवतरण गरेको थियो । अन्य विमानलाई विराटनगर पुग्नका लागि झण्डै ४५ मिनेट लाग्ने गर्छ । ‘सीआरजे २००’ विमानमा यात्रा गर्दा जेट विमानको मज्जा लिनुका साथै समयको समेत बचत हुने कम्पनीले बताएको छ ।

सौर्यले माउन्टेन फ्लाइट दुईवटा, विराटनगर दुईवटा र भैरहवा एक गरी दैनिक पाँच उडान गर्ने खनालले बताए । भैरहवामा भने कम्पनीले बुधबारबाट मात्र उडान सुरु गर्ने बताइएको छ ।

विमानले विहान ७ बजे र साढे ८ बजे गरि दुईवटा माउन्टेन फ्लाइट गर्ने छ, त्यसपछि १० बजेट भैरहवाका लागि उड्नेछ, त्यहाँबाट फर्किएर ११ः५० र १ः५० मा गरी दुईपटक विराटनगर उडान भर्ने छ’ कम्पनीका खनालले भने- ‘अन्य विमानभन्दा सीआरजे २०० निकै तिब्र गतिमा उड्ने हुँदा दैनिक पाँचवटा उडान कार्यतालिका बनाइएको हो ।’

sourya-air-banner-final

कम्पनीले धनगढी, नेपालगञ्ज र भद्रपुरमा पनि उडान भर्ने लक्ष्य राखेको छ । यसका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको खनालले जानकारी दिए । ‘निकट भविष्यमा हामीले माथिका तीन गन्तव्यमा उडान सेवा सुरु गर्छौं’ उनको भनाई थियो ।

अहिले एउटा जहाजबाट उडान थालेपनि कम्पनीले केही महिनाभित्रमा यही मोडलको जहाज थप्ने बताएको छ । कम्पनीका अनुसार तीन महिनापछि तीन जहाजबाट उडान गर्ने तयारी भइरहेको छ ।

यस्तो छ भाडादर

सौर्यले अन्य निजी क्षेत्रका एयरलाइन्सले भन्दा सस्तो भाडामा यात्रुहरुलाई सेवा दिन लागेको दाबी गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार माउन्टेन फ्लाइट प्रतिव्यक्ति १० हजार ६ सय ५० रुपैयाँमा गराइने भएको छ । त्यस्तै, विराटनगरका लागि सबैभन्दा सस्तो भाडा ४ हजार ६ सय रुपैयाँ र सबैभन्दा महंगो ७ हजार ५० रुपैयाँसम्म तिर्नुपर्ने बताइएको छ ।

भैरहवाका लागि सबैभन्दा कम ४ हजार ३ सय रुपैयाँदेखि बढी ६ हजार २ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने खनालले जानकारी दिए । जेट विमान भइकन पनि सस्तोमा यात्रुहरुलाई सेवा प्रदान गर्न लागेको उनको भनाई थियो ।

जहाजको टिकट पहिला नै बुकिङ गरेको यात्रुले सस्तो दरको टिकट भेटाउने छ भने जति ढिला भयो यात्रुको चापका आधारमा टिकटको मूल्य बढ्दै जाने खनालको भनाई थियो ।

कसलार्इ छुट ?

कम्पनीले तत्कालका लागि सामान्य भाडामा दुई वर्षसम्मको बच्चालाई निःशुल्क, १२ वर्षसम्मका केटाकेटी र ६५ वर्ष माथिका बृद्धबृद्धालाई ३३ प्रतिशत र महिलालाई १० प्रतिशत छुट प्रदान गर्ने बताएको छ ।

सम्बन्धित समचार

सौर्य एयरले पायो उडान अनुमति, सोमबारदेखि व्यवसायिक उडान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment