Comments Add Comment

बिहीबारदेखि पोखरामा औद्योगिक व्यापार मेला

Pokhara-Mela
३ मंसिर, काठमाडौं । पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी अन्तिम अवस्थामा आइपुगेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको  सहयोगमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको मेला मंसिर ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

मुलुकको औद्योगिक विकास, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यसहित मेला आयोजन गर्न लागिएको हो ।

‘लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मुल नारासहित आयोजना गर्न लागिएको मेलामा २९५ वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।

मेलामा औद्योगिक उत्पादन, हस्तकला, कृषिजन्य उत्पादन, पूष्प, अटो, सूचना तथा प्रविधिहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्था, स्थानीय कला र संस्कृति झल्कने स्टललगायत दैनिक उपभोग्य वस्तुहरु, घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका  सामानहरु प्रर्दशनीमा राखिने छ ।

मेलाका सबैजसो स्टलहरु बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ । मेलाका लागि झण्डै १५ लाख ५० हजार रुपैयाँ बराबरको प्रायोजन भइसकेको छ भने मेलामा राखिएका सबै स्टल, सामाग्री तथा सहभागीहरुको बीमा गर्ने काम पनि सम्पन्न भइसकेको छ ।

मेलास्थलमा रहेको डोममा ७८, रेष्टुरेष्ट १५, अटो ४७, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलाका ३६, फ्लोरिकल्चरका ७, गार्मेन्टका २० र बाँकी साधारण स्टलहरु रहने आयोजकले बताएको छ । मेलामा राखिएको मेड इन नेपाल पेभेलियनमा रहने नेपाली उत्पादनहरुले उद्यमशिल बन्न चाहानेहरुलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

मेलामा साँस्कृतिक कार्यक्रमका साथसाथै फेशन शो, हाँस्य प्रहशन, शारिरीक सुगठन प्रतियोगिता, तेक्वाण्डो र जिम्न्याष्टिकको प्रस्तुति, ख्यातिप्राप्त  ब्याण्डहरुको लाइभ  सांगीतिक कार्यक्रम तथा लोकदोहोरी, सुगम संगीत तथा पप गीतका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।

मेलाबाट ९५ लाख रुपैयाँ आम्दानी र ७०  लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । मेला प्रवेशका लागि विद्यार्थीहरुले ३५ रुपैयाँ र सर्वसाधारणले ५० रुपैयाँको टिकट काट्नुपर्ने छ ।

दैनिक बिक्री हुने टिकटमध्येबाट गोलाप्रथा गरी एक जनालाई सामसुङको आकर्षक सेट उपहार प्रदान गर्ने र पोखरामा दमकल खरिदका लागि  प्रति टिकट २ रुपैयाँ, बालश्रम न्यूनिकरण कार्यक्रमको लागि १ रुपैयाँ, समग्र पोखराको विकासका लागि २ रुपैयाँ छुट्टाइने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment