Comments Add Comment

जर्सीसमेत नहुँदा एकदमै नराम्रो लाग्छ : पारस खड्का

paras khadka 1

-कप्तान पारस खड्का

हङकङसँग पहिलो टी-२० सेरिज खेल्न श्रीलंकाको दाम्बुला आएको नेपाली राष्ट्रिय टीमका निर्धारित दुई खेल पानीका कारण स्थगित भए । कतिखेर पानी रोकिएला र खेल्न पाइएला भन्ने प्रतिक्षा गर्दै दुवै देशका टीम मैदानमा बादल हेर्दै बसे ।

लाइभ अपडेटका दाम्बुला आएको अनलाइनखबर टीमले यही मेलोमा नेपाली टीमका कप्तान पारस खड्कासँग नेपाली क्रिकेट टीमको मानसिकता र ब्यबस्थापनमा देखिएको समस्याबारे कुरा गर्‍यो । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको संक्षेप-

पहिलो र दोस्रो खेल हुन सकेन । ब्यबस्थापन समक्ष हामीले के कुरा राखेका छौं ?

– ५० ओभरको पनि एउटा खेल खेल्ने भनिएको थियो । त्यो मैत्रिपूर्ण जस्तो मात्र भएकाले ट्वान्टी-२० लाई प्राथमिकता दिएका छौं । मौसमले साथ दियो भने भोलि रेष्ट डेमा पनि खेल हुन्छ । सकेसम्म २४ तारिखसम्म ३ वटा टी-२० खेल्ने योजना बनेको छ आयोजकको तर्फबाट । आश गरौं, मौसमले साथ दिनेछ र हामी खेल्न पाउनेछौं ।

भन्नाले, हामी एकदिवसीय छाड्न तयार छौं ?

– हो । टी-२० अन्तराष्ट्रिय पनि भयो । हङकङ पनि टी-२० इन्टरनेशन खेल्न इच्छुक छ । त्यसैले दुबै टिमको सहमतिमा आयोजकले मिलाएको छ ।

भोलि रेष्ट डेमा पहिलो टी-२० हुन्छ कि दोस्रो त ?

– त्यो भन्न सकिएन । भोलि खेल भयो भने लगातार तीन खेल हुनसक्छ । जे होस्, हामी भोलि खेल्नका लागि तयार भएर आउँछौं ।

यो पटक आरिफ शेख, मेहबबु आलम र रामनेरश गिरीलाई पनि श्रीलंका ल्याउन भनिएको थियो । किन आएनन् ?

– उनीहरुलाई टी-२० र एकदिवसीयका लागि बोलाउने कुरा थियो । तर, दुभाग्यवस बजेट, फ्लाइटसहितको कारणले हुन सकेन । टीमका रुपमा हामी पनि दुःखी छौं । हामी चाहन्यौं कि उनीहरु पनि आउन ।
खेलाडीका लागि त जति धेरै खेल्न पायो त्यति राम्रो हो र हरेकको इच्छा हुन्छ कि धेरै खेलौं । तर, यहाँ भएकामा खेलाडीहरुमा पनि क्षमता छ र राम्रो गर्नेछन् भन्ने आश गरौं । भविश्यमा अरुले पनि मौका पाउने आश गरौं ।

तपाईहरुको टीम श्रीलंका हिडेपछि क्यानमा ठूलो परिर्वतन भएको छ । अपडेटमै हुनुहुन्छ ?

paras khadka– हामी हिँडेकै दिन क्यान विघटन भयो, निलम्बित भयो भन्ने आयो । यसमा पनि वादविवाद भइरहेको छ । हामी त खेलाडी हौं, खेल्ने हो । खेल बाहिर व्यवस्थापनको कुरा छ, चाँडो भन्दा चाँडो समाधान हुनुपर्छ । यसले प्रत्यक्ष रुपमा टीमलाई पनि असर गर्छ ।

खेलमा मात्र ध्यान दिँदा पनि व्यवस्थापनमा स्थिरता भएन भने हामीलाई पनि कति कुराहरु गर्न गाह्रो हुन्छ । आश गरौं, चााडो समस्या समाधान हुन्छ ।

यो बिबादले नेपाली क्रिकेट टीमलाई कति प्रभावित गर्छ ?  

– प्रभावित त नेपाली क्रिकेटसँग सम्वन्धित सबै क्षेत्र हुन्छ । नेपाली राष्ट्रिय टीम पनि क्यानकै अंग भएको प्रभावित हुनु स्वभाविक हो ।

अहिले कुन चाहीँ क्यान आधिकारिक हो ? निलम्बित भएको हो कि विघटन भएको हो ? भन्ने छ । त्यसैले सबै सम्वन्धित पक्ष बसेर चााडो भन्दा चााडो समस्याको समाधन खोजेर अघि बढ्नुपर्छ ।

डिभिजन टूको तयारीलाई असर गर्छ कि ?

– टीमलाई चाहिने कुराहरु हामीले भनिसकेका छौं । यहाँबाट फर्किएको १० दिनपछि हामी पुनः खेलमा फर्कन्छौं । बाहिर जस्तो विवाद भएपनि हामीलाई बानी परिसक्यो नै भनौं ।

बिबाद हुनु दुःख लाग्दो कुरा हो । तर, पनि हामी डिभिजन टूमा एकदमै केन्द्रीत छौं । हामीसँग अझै राम्रो र मेहनत गर्न डेढ महिना समय छ । बाहिर जे जस्तो भएपनि मैदानमा प्रवेश गरेपछि कुनै पनि खेलाडीले बाहिर के भइरहेको छ भनेर धेरै सोचेर बस्छ जस्तो लाग्दैन । हामी निरन्तर अभ्यासमा लाग्छौं । मलाई लाग्छ त्यसबेलासम्म समस्या समाधान पनि होला ।

हामीले डिभिजन टूका लागि दक्षिण अफ्रिका भ्रमणमा जान प्रयास गर्छौं ?

– हो । त्यसका लागि प्लानिङ भइरहेको छ । हामीले जान्छौं भनेर मात्र भएन । उनीहरुबाट कस्तो रेस्पोन्स आउाछ । अहिलेसम्मको योजनाअनुसार हामी १० दिनजति त्यहाँ जान्छौं भन्ने छ ।

नेपाली क्रिकेट टीमले राम्रो गरिरहेको छ । तर, व्यवस्थापनमा चाँही झन्पछि झन् कमजोरी देखिन थालेको छ । यो पटक पनि जर्सी नै आएन । हिजो खेल भएको भए के हुन्थ्यो ?

– वर्ल्डकपमा पनि त्यस्तै स्थिति थियो । डे/नाइट म्याच थियो । खेल हुनुअघि दिउँसो मात्र जर्सी आएको थियो । यहाँ अझैसम्म आएको छैन ।

यो दुःखलाग्दो कुरा हो । यो म्यानेजमेन्टको कुरा हो । क्रिकेट व्यवस्थापनमा सिरियसनेस हुनुपर्छ ।

हामी खेलाडीले एउटा निश्चित लेभलसम्म पुर्‍याउन सक्छौं । व्यवस्थापन पक्ष जबसम्म स्थिर हुँदैन र हामीले गर्वका साथ भन्न सक्दैनौं कि हाम्रो व्यवस्थापन सबैभन्दा राम्रो छ, त्यसबेलासम्म निकै गाह्रो हुन्छ ।

मलाई के लाग्छ भने काम गरेर देखाउने हो भने गाह्रो छैन । स्थिती कस्तो छ भने हामी बोल्छौं धेरै । सानो-सानो कुराले टीमलाई असर गरेको हुन्छ भन्ने ख्याल गर्दैनौं । त्यो एकदमै दुःख लाग्दो कुरा हो । तर, अघि भनेझैं बानी परिसक्यो ।

मैदान बाहिरको बिबादका कारण मनोबलमा पनि समस्या होला, त्यसले पर्फमेन्समा पनि विस्तारै असर गर्ला हैन ?

-एकदमै नराम्रो फिल हुन्छ । सायद हिजो वा आज खेल भएको भए ? आईसीसीको नियमअनुसार इन्टरनेशनल म्याचमा टेप टालेर पनि खेल्न पाइँदैन । त्यसले म्याच रेफ्रीले यहाँको म्याचबारे रिपोर्ट लेख्नुपर्थ्यो र नेपालबारे नराम्रो म्यासेज जाने थियो आईसीसीमा ।

एकले अर्कालाई दोष लगाउन सजिलो छ । म्यानेजरलाई दोष लगाउने कि क्यानलाई ? खेलाडी कि स्पोन्सरलाई ? यो दोष दिने भन्दा पनि जिम्मेवारीको कुरा हो, आफ्नो  जिम्मेवारी पुरा गरे समस्या हुन्न ।

यो भ्रमणमा पानीले साथ दिएन । बर्षातको समयमा श्रीलंका छान्नु गलत पो भयो कि ? यसको सट्टा अरु देश जानु पर्ने थियो कि ?

– श्रीलंका हामीले पहिलादेखि नै टुर गरिरहेको ठाउँ हो । श्रीलंकाबाट हामीले पहिलोदेखि नै राम्रो रेस्पोन्स पाएका छौं । दुर्भाग्यबस यो पटक पानीले साथ दिएन ।

अर्को कुरा टी-२० इन्टरनेशनलल भएकाले वनडे स्टाटस पाएको मैदानमै हुनुपर्ने लगायतका मापदण्ड छन् । जसले गर्दा पर्याप्त छनौटको अबसर भएन होला । तर, यो पटक मौसमले अलिकति साथ नदिएको भने पक्कै हो ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment