Comments Add Comment

कोलम्बो लगेर टी-२० र एकदिवसीय खेलाउन नेपाल र हङकङको प्रस्ताव

फाइल फोटो
फाइल फोटो

५ मंसिर, दम्बुला (श्रीलंका) । पानीका कारण दाम्बुलामा खेल हुन नसकेपछि नेपाल र हङकङले कोलम्बो लगेर  एउटा मात्र भएपनि टी-२० क्रिकेट खेलाउन प्रस्ताव गरेका छन् । यसमा सहमति भएमा नेपाल र हङकङबीच एउटा टी-२० अन्तराष्ट्रिय र एक एकदिवसीय खेल हुनेछ ।

दाम्बुलामा लगातार तीन दिन खेल स्थगित भएपछि आईसीसीका प्रतिनिधिसहितको मिटिङ रनगिरी दाम्बुला अन्तराष्ट्रिय रंगशाला भएको थियो । बैठकमा नेपाल र हङकङले कोलम्बो लगेर एउटा मात्र भएपनि टी-२० अन्तराष्ट्रिय खेलाउन प्रस्ताव गरेका छन् ।

नेपाल र हङकङको टी-२० सेरिज अन्तराष्ट्रिय मान्यता प्राप्त भएकाले दुबै टीमले यसमा जोड दिएका छन् । २४ नोभेम्बरमा तय भएको बनडे भने मैत्रिपूर्ण मात्र हो ।

बैठकपछि कप्तान पारस खड्काले अनलाइनखबरसँग भने-यहाँ खेल हुने सम्भावना कमै छ । त्यसैले अन्यत्र लगेर भएपनि एउटा टी-२० र एउटा एकदिवसीय खेलाउन आग्रह गरेका छौं ।’

इंग्ल्याण्डको टीम श्रीलंका भ्रमणमा रहेकाले कोलम्बोको अधिकांश रंगशाला खाली छैनन् । वनडे मान्यता प्राप्त एक मात्र रंगशालामा २६ नोभेम्बरबाट श्रीलंका र इंग्ल्याण्डको सेरिज छ ।

आईसीसीले सहमति जनाएमा कोलम्बोमा नेपाल र हङकङबीच एक टी-२० अन्तराष्ट्रिय र एक एकदिवसीय म्याच हुनेछ ।

यसबारे शनिबार विहान ८ बजे बस्ने मिटिङमा निर्णय हुने नेपाली टीम म्यानेजर शैलेश चौधरीले बताए । यद्यपि मौसममा सुधार आएमा शनिबार दाम्बुलामा नै खेल हुने झिनो आश पनि कायमै छ ।

कोलम्बो सार्ने सहमति भएमा भोलि शनिबार नै दुबै टीम कोलम्बो प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment