Comments Add Comment

सार्क उर्जा सम्झौता : नेपाललाई अवसरको बाटो

SAARC_2nd day (33)१२ मंसिर काठमाडौं । काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच उर्जा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

यो सम्झौतासँगै जलस्रोतको विश्वकै दोस्रो धनी देश नेपाललाई ठूलो अवसरको बाटो खुलेको छ । नेपालसँग ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको विज्ञहरु बताउँछन् । तर, हालसम्म ७ सय मेगावाट मात्रै विद्युत उत्पादन भएको छ ।

उर्जाबाट नेपालले भरपुर फाइदा लिन आधा दर्जन कानून निर्माण गर्नुपर्ने निजी क्षेत्रका उर्जा उत्पादक गुरुप्रसाद न्यौपाने बताउँछन् । नियम-कानूनको अभावमा देशभित्रै उर्जाको विकास हुन नसकिरहेको अवस्थामा सार्कबाट नेपालले फाइदा लिन निकै कठिन हुने उनको भनाई छ ।

कानून अभाव

‘सार्क राष्ट्रबाट नेपालले उर्जा क्षेत्रमा फाइदा लिने हो भने विद्युत ऐन, नेपाल विद्युत प्राधिकरण ऐन र विद्युत नियमन आयोग ऐन तत्काल निर्माण गर्नुपर्छ,’ न्यौपानेले अनलाईनखबरसँग भने, ‘त्यसबाहेक पनि अन्तःशुल्क, व्यापार र प्रसारणलाईन सम्बन्धी ऐनको खाँचो छ ।’

तत्काल ऐन निमय बनाउन नसक्ने हो भने उर्जा सम्झौता ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ सरह हुने उनले बताए ।

विद्युत ऐन र नेपाल विद्युत प्राधिकरण ऐन संसोधनको चरणमा छन् । यद्यपि ति ऐनहरु संसदमा प्रवेश गरिसकेका छैनन् । विद्युत नियमन आयोगको मस्यौदा निर्माण भइरहेको छ । तर, अन्तशुल्क, व्यापार र प्रसारणलाइनसँग सम्बन्धित ऐन भने बनाउने कुनै सुरसार गरिएको छैन ।

सार्क सम्झौताले नेपाललाई ठूलो अवसरको बाटो खुलेको स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष शैलेन्द्र गुरागाई बताउँछन् । ‘अब हामी कसरी अवसरको सदुपयोग गर्ने भन्नेतर्फ केन्दि्रत हुन जरुरी छ,’ उनले भने ।

राष्ट्रिय पुँजीपतिलाई विषेश नीति

सरकारले अब राष्ट्रिय उद्योगी वा पुँजीपतिका लागि विषेश नीत बनाएर अघि बढ्नु पर्ने बताउँछन् उपाध्यक्ष गुरागाईँ ।

‘उर्जामार्फत राज्य मात्रै होइन राष्ट्रमा बसोबास गर्ने सबै जनताले अधिकतम लाभ लिनुपर्छ,’ उनले भने ।

सम्मेलनले सार्क ग्रीड निर्माण गर्न सैद्धान्तिक सहमति गरेकोप्रति उनी सकारात्मक देखिए । ‘ग्रीड बनाउन सके हामीले उत्पादन गरेको विद्युत सार्कका जुनसुकै राष्ट्रमा सीधै बेच्न सक्छौं,’ गुरागाईँले भने ।

अहिले बंगलादेश, भुटान र नेपालले भारतको बोर्डरसम्मको प्रसारण लाईनमार्फत विद्युत व्यापार गरिरहेका छन् । बोर्डरमा साट्ने गरि मात्रै प्रसारण लाईनको व्यवस्था छ ।

‘प्रसारणलाईन भनेको सडक हो भन्ने मान्यतालाई अनुसरण गरेर अघि बढ्न आवश्यक छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment