Comments Add Comment

अर्थमन्त्रीले भने- निर्यात नबढाई प्रगति हुँदैन

Ramsaran-Mahat

१४ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले निर्यात नबढाई कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने बताएका छन् । उनले मुलुकको आर्थिक विकासका लागि गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए ।

नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित २५औं बाषिर्क साधारण सभाको उद्घाटनका क्रममा उनले सो बिचार व्यक्त गरेका हुन् । उनले भने, अहिले निर्यातको युग हो । जापानलाई उछिनेर चीन अगाडि आउने कारण उसको निर्यात हो ।

नेपालले पनि निर्यात बृद्धिका लागि भारतसँग विद्युत व्यापार सम्झौता गरी विद्युत उत्पादनलाई जोड दिएको महतको भनाई थियो । उनले नेपालले जलविद्युतको निर्यात गरी आम्दानी बढाउन सक्ने बताए ।

सयौं बर्षदेखि विद्युत उत्पादन भैरहेपनि नेपालले सम्भावनाको १ प्रतिशत विद्युत उत्पादन गरिरहेको जानकारी दिँदै उनले जलविद्युतको विकासका लागि सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्न थालिसकेको जानकारी गराए । उनको भनाई थियो, भारतसँग बिद्युत व्यापार सम्झौता भएको छ ।

यसैबीच नेपालले जीएमआर र सतलजसँग ठूला जलविद्युत आयोजना सञ्चालनका लागि सम्झौता पनि गरिसकेको छ । तनहुँ जलविद्युत आयोजना सञ्चालनमा आउँदैछ । बूढीगण्डकी आयोजना पनि चाँडै नै सञ्चालनमा आउँदैछ ।

विद्युत व्यापार सम्झौता भएपछि उत्साहित नर्बेले तामाकोशी तेस्रो आयोजनालाई सञ्चालनमा ल्याउने भएको छ । अब धमाधम नयाँ-नयाँ विद्युत आयोजनाहरु सञ्चालनमा आउनेछन । भारतसँग विद्युत व्यापार सम्झौतापछि विद्युत उत्पादन र निर्यातको सम्भावना बढेको छ ।

विदेशी मुद्रा कमाउने मुलुक नै आगामी दिनमा प्रगति पथमा जाने भन्दै उनले सरकारले जलविद्युत र पर्यटनबाट विदेशी मुद्रा कमाउने र कृषि उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन र पछि निर्यात बृद्धि समेत गरिने उल्लेख गरे । निर्यात बढाएपछि मात्र नेपालको अन्य मुलुकसँगको करिब ६ खर्बको व्यापारघाटा पनि घटाउन सकिने उनको भनाई थियो ।

लगानी बढाउन शान्ति सुरक्षा र लगानीको सुरक्षाका लागि सरकार कडा भएर आउने जानकारी दिँदै अर्थमन्त्री महतले भने, लगानीलाई कतैबाट पनि अवरोध हुनुहुँदैन । लगानीको सुरक्षाका लागि अब राज्यले कडा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु बन्ने भन्दै उनले चाँडै नै निजगढको अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्ने जानकारी दिए । उनका अनुसार काठमाडौं तराई द्रतमार्ग पनि टेण्डर प्रक्रियामा रहेको छ ।

मोहोरबाट २०४८ सालमा स्थापित बिकु बचत तथा ऋण सहकारी संस्थाले अहिले करिब १ अर्बको निक्षेप परिचालन गरिरहेको र करिब १५ हजार सेयरधनीहरुलाई सेवा पुर्‍याइरहेको जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment