Comments Add Comment

सार्कका नाममा कुन मन्त्रालयले कति सिध्याए ?

१८ मंसिर, काठमाडौं । सार्क सम्मेलनका लागि सरकारले विभिन्न मन्त्रालयमार्फत् दुई अर्ब रुपैयाँ सिध्याएको छ । तर, अहिलेसम्म यथार्थ विवरण जनसमक्ष सार्वजनिक नगर्दा सार्कका नाममा ठूलो भ्रष्टाचार भएको जनगुनासो आउन थालेको छ ।

SAARC ko Kharchaसार्क सम्मेलन र त्यसको पूर्वसन्ध्यामा अर्थ मन्त्रालयले  विभिन्न ९ वटा मन्त्रालयलाई शीर्षक नै तोकेर १ अर्ब ८१ करोड निकासा गरेको छ ।

त्यस्तै अन्य शीर्षकमा २० करोड रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटा बताउँछन् ।

‘कुन मन्त्रालयमार्फत के कति खर्च भयो भनेर अहिलेसम्म बिल पेस गरिएको छैन,’ देवकोटाले अनलाइनखरसँग भने, ‘मन्त्रालयहरुले खर्चको बिल पेस गरेपछि मात्रै सार्कको यथार्थ खर्च विवरण आउनेछ ।’

सबै मन्त्रालयहरुले लगेको पैसाको हिसाब बुझाएपछि अर्थ मन्त्रालयले सार्कको सम्पूर्ण खर्च सार्वजनिक गर्ने सहसचिव देवकोटाले बताए ।

अर्थ मन्त्रालयले जनताको गुनासो सुन्न अघिल्लो साता ‘विगुल कक्ष’स्थापना गरेको छ । मन्त्रालयसँग केही गुनासा भए सर्वसाधारणले त्यसमार्फत जानकारी गराउन सक्ने देवकोटाले बताए ।

अमेरिका लगायतका देशहरुमा बढी खर्च गर्नुपर्ने भए सरकारले संसदको अनुमति लिनुपर्ने प्रचलन छ । तर, नेपालमा भने सरकारले दुई अर्ब रुपैयाँ खर्च गर्दा पनि व्यवस्थापिका संसद र त्यस अन्तरगतमा समितिहरुको त्यसको खर्च विवरण माग्न चासो देखाएका छैनन् ।

अर्थ मन्त्रालयबाट प्राप्त तथ्यांक हेर्दा कतिपय खर्च सार्कका लागि स्वाभाविकै देखिए पनि यसमा निकै ठूलो घोटाला र मनपरि भएको हुनसक्ने देखिन्छ ।

तथ्यांक अनुसार सार्कका बेला सुरक्षाका लागि भन्दै गृहमन्त्रालयले ३४ करोड ५० लाख लगेको छ । तर, सार्कका बेलामा ड्युटीमा खटिएका प्रहरीले भोकै बस्नुपरेको थियो । उनीहरुले पर्याप्त भत्तासमेत नपाएको गुनासो गर्दै आएका छन् । गृहले लगेको साढे ३४ करोडको हिसाब-किताब अहिलेसम्म कसैले खोजेको छैन ।

त्यसैगरी रक्षा मन्त्रालयले सुरक्षाका मागि १२ करोड ३० लाख रुपैयाँ लगेको थियो । रक्षा र गृहमार्फत् सार्कको सुरक्षाका लागि मात्रै कुल ४६ करोड ८० लाख निकासा भएको छ ।

सार्कका बेला सडक निर्माण र मर्मतका लागि भन्दै भौतिक योजना मन्त्रालयले ७८ करोड ३५ लाख लगेको छ । त्यसको हिसाब पनि अहिलेसम्म अर्थ मन्त्रालयमा बुझाइएको छैन ।

राजधानीको सडकलाई हरियाली बनाउने र बगैंचा निर्माण गर्ने भन्दै सहरी विकास मन्त्रालयले २५ करोड ४१ लाख लगेको छ । माइतीघर-तीनकुने सडकमा डेढ करोड खर्च भएको चर्चा चले पनि २४ करोड रुपैयाँ कहाँ गयो, अहिलेसम्म कसैले खोजेको छैन ।

स्थानीय विकास मन्त्रालयले सभागृह श्रृंगार पटारका लागि भन्दै ८ करोड ७६ लाख लगेको छ ।

परराष्ट्र मन्त्रालयले होटल तथा गाडी व्यवस्थाका लागि २० करोड १० लाख लगेको छ । त्यस्तै पर्यटन मन्त्रालयले लगेको २ करोड २ लाख रुपैयाँको खर्च विवरण अहिलेसम्म अर्थ मन्त्रालयमा बझाइएको छैन ।

सार्कका क्रममा सूचना तथा सञ्चार मन्त्रालयले १ करोड ३६ लाख रुपैयाँ अर्थमन्त्रालयबाट लगेको छ ।

यसरी खर्च रकम लिने कुनै पनि मन्त्रालयले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment