Comments Add Comment

सोची ओलम्पिक अब नेपाली हुलाक टिकटमा

२४ मंसिर, काठमाडौं । हुलाक सेवा विभागले ‘सोची शीतकालीन ओलम्पिक-२०१४’ सम्बन्धी नयाँ हुलाक टिकट बुधबारदेखि प्रचलनमा ल्याएको छ ।

शीतकालीन ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाएको सम्झनामा विभागले सोची ओलम्पिकको लोगोसहित हिउँमा स्केटिङ गरिएको संस्मरणात्मक टिकट प्रकाशन गरेको हो ।

शीतकालीन ओलम्पिकको २२ औं संस्करण रुसको सोची शहरमा सन् २०१४ को फेब्रुअरी ५ देखि २३ सम्म आयोजना भएको थियो । जहाँ नेपाललगायत विश्वका ८९ मुलुकका करीब दुई हजार ८७३ खेलाडीहरुले भाग लिएका थिए ।

सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले बुधबार हुलाक सेवा विभागद्वारा आयोजित एक समारोहमा हुलाक टिकटमा प्रकाशनको पहिलो टाँचा लगाए ।

कार्यक्रममा मन्त्री रिजालले विश्वकै चर्चित शीतकालीन ओलम्पिक प्रतियोगितामा नेपालको सहभागितालाई स्मरणीय बनाउने बताए । उनले टिकट प्रकाशनले नेपाललाई विश्वमा पहिचान गराउनुको साथै नेपाल र रसियाबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले शीतकालीन ओलम्पिकसम्बन्धी हुलाक टिकट नेपालको पहिचानलाई स्थापित गराउन महत्वपूर्ण हुने बताए ।

नेपालका लागि रुसी महासंघका राजदूत डा सेर्गेइ भेसिलीभिच भेलिच्किनले हुलाक टिकट इतिहासको महत्वपूर्ण कागजात भएको र यसले रसिया र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्न मद्दत पुग्ने धारणा राखे ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक बाबुराम पाण्डे र नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष डा रमेशकुमार श्रेष्ठले पनि धारणा राखेका थिए ।

प्रकाशित टिकटको नमुना हुलाक सेवा विभागका कलाकार पूर्णकला लिम्बू विष्टले तयार पारेकी हुन् । दुई रुपियाँ मूल्यका १० लाख टिकट प्रकाशन गरिएको विभागले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment