Comments Add Comment

काठमाडौंको सडक बटुवाका लागि असुरक्षित (भिडियोसहित)

roadcrossing at kathmandu
नयाँबानेश्वर-बबरमहल सडकखण्डमा असुरक्षित तरिकाले बाटो काट्दै गरेकाहरु

२४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका फराकिला सडकलाई पैदल यात्रु मैत्री बनाउन सडक पेटी र जेब्राक्रस बढाइने भएको छ । तर, सडक विभागसँग जेब्राक्रस बनाउने रंग सकिएकाले भारतबाट झिकाउनुपर्ने भएको छ ।

सडक बिस्तारसँगै सडकको बीचमा बगैंचा र फूलबारी बनाएर शहर सुन्दर बनाइएको छ । तर, पैदल यात्रुले सडक पार गर्ने ठाउँ नपाएको गुनासो बढेपछि जेब्राक्रसको संख्या बढाउन लागिएको हो ।

‘सडकमा हिँड्ने पेटी पनि भएन र बाटो काट्ने जेब्राक्रससम्म पुग्नका लागि धेरै समय लाग्यो भनेर गुनासो आएपछि ग्रीनल्याण्डबाट प्यासेज वे बनाउने तयारी हुँदैछ’ काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख योगेस पराजुलीले अनलाइनखबरसँग भने ।

मेटिए जेब्राक्रस

विशेष गरी पछिल्लो समय माइतीघर-तीनकुने सडक खण्डमा बाटो काट्ने ठाउँ भएन भनेर धेरै गुनासो आएको प्राधिकरणले जनाएको छ । ‘यो सडकमा केही जेब्राक्रस थपिँदैछन् र कतिपय ठाउँमा मेटिएका जेब्राक्रस पुनःलगाइँदैछ,’ उनले भने ।

पराजुलीका अनुसार फराकिला सडकमा सानो प्यासेजसहित जेब्राक्रस थप्नेबारे पनि अध्ययन भइरहेको छ । उनले भने, ‘जेब्राक्रस देखिएन भन्ने गुनासो आएकाले मार्किङ गर्न थालिएको हो ।’

जेब्राक्रस गर्ने रङ सकियो

प्राधिकरणले जेब्राक्रसिङ मेटिएकाले बटुवाको गुनासो आएको ठहर गर्दै पुनःमार्किङ गर्न थालेको छ । ‘हामी सबै सार्कमा लाग्यौं, जेब्राक्रसमा लगाउने थर्मो प्लास्ट पेन्टिङ पनि त्यसबेला धेरै खपत भयो,’ एक अधिकारीले भने, ‘भारतबाट थर्मो प्लास्ट आउनासाथ जेब्राक्रस चम्किनेछन् ।’

ROADCROSSING at Ktahmandu 2

बटुवाको अल्छे बानी

करीव तीन किलोमिटर दूरीमा अहिले पनि ९ वटा जेब्राक्रस छन् । सरकारी अधिकारीहरुका अनुसार एउटा जेब्राक्रसबाट अर्कोको दूरी ३ सय मिटरभन्दा टाढा छैन । तैपनि पैदल यात्रुले गुनासो गरिरहेका छन् ।

‘अहिले भइरहेका जेब्राक्रसको दूरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै छ, तर पनि पैदल यात्रु र अपांगमैत्री भएन भन्ने कुरा आएको छ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘हामी काठमाडौंका सडकलाई बटुवामैत्री बनाउँदैछौं ।’

जेब्राक्रसको संख्या पर्याप्त रहे पनि मुख्य सडकमा ‘ओभर हेड बि्रज’ (आकाशे पुल) नहुन्जेल बटुवाको गुनासो भने आइरहने पराजुलीको विश्लेषण छ ।

‘हरेकले आफ्नो कार्यालय, रेष्टुरेन्ट वा पसल अगाडिबाटै बाटो काट्न पाइयोस् भन्छन् त्यो त सम्भव हुँदैन,’ उनले भने, ‘दुई मिनेट हिँड्ने कुरालाई कष्ट मान्नु भएन ।’

बटुवा हिँड्नका लागि खाली गरिएको ठाउँ वा जेब्राक्रसबाट पनि गाडी र मोटरसाइकलहरु ‘यू टर्न’ गर्न थालेपछि पैदलयात्रा झनै जोखिमपूर्ण बनेको छ ।

Roadcrossing at kathmandu 3सडक पैदल यात्रुको पनि हो : लामा

‘जेब्रा क्रसमा बटुवालाई हिँड्नसमेत नदिई गाडीहरु हर्न बजाउँदै गुड्छन् सडक सभ्यता सिकाउँदै हिँडेकी अनेरास्ववियुकी महासचिव नविना लामा भन्छिन्, ‘ट्राफिक प्रहरीले त्यस्ता गाडी चालकलाई कारवाही गर्नुपर्छ ।’

‘बटुवाले जेब्रा क्रसबाट मात्रै बाटो काट्नुपर्छ भन्ने हेक्का राख्नुपर्‍यो, सवारी चालकले पनि सडक बटुवाको समेत हो भनेर पालो दिनुपर्‍यो,’ बानेश्वरमा सडक सभ्यता सिकाउँदै गरेकी लामाले भनिन् ‘जेब्राक्रस गर्दा बटुवाले ढुक्कले हिँड्न पाउनुपर्छ ।’

जेब्राक्रसमा गाडी नरोक्ने र बटुवालाई बाटो काट्नसमेत नदिने प्रवृत्ति निरुत्साहित गर्न कडाइ गरिने ट्राफिक प्रहरी प्रवक्ता बसन्त पन्तले बताए ।

काठमाडौंका सुन्दर र फराकिला सडकमा साइकल लेन, बटुवा हिँड्ने पेटी, ओभरहेड बि्रज र रेलिङको व्यवस्थापन गर्न प्राधिकरण दीर्घकालीन योजनामा लागेको छ । पराजुलीले भने, ‘धैर्य गर्नुस्, काठमाडौं शहर संसारकै सुन्दर र यहाँका सडक भव्य हुँदैछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment