Comments Add Comment

माधव नेपालका आरोपको ओलीले गरे प्रतिवाद

फाइल फोटो
फाइल फोटो

२४ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभासद मनोनयन, मन्त्रीको हेरफेर र संसदीय समितिका सभापतिको चयनमा आफूले माधव नेपालसँग पनि सुझाव लिएको दावी गरेका छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बुधबार अध्यक्ष ओलीले आफूमाथि माधव नेपालले लगाएका आरोपको प्रतिवाद गरेर बैठक स्थगन गरेका छन् ।

अध्यक्षमा पराजित नेपालले ओलीको कार्यशैलीप्रति असन्तुष्छि जनाउँदै पार्टीमा सातबुँदे लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका थिए । जसमा ओलीले एकलौटी ढंगले पार्टी चलाएको, संसदीय समितिका सभापति चयन, मन्त्री हेरफेर लगातमा मनोमानी गरेको आरोप लगाइएको छ ।

नेपालको आरोप खण्डन गर्दै ओलीले सभासद मनोनयनका बेला माधव नेपाललाई फोन गर्दा मिलाएर गर्नु भन्ने जवाफ पाएको बताए । संसदीय समितिको सभापति बनाउने बेला नेपाल पक्षकै नेता राजेन्द्र पाण्डेले दिएका नामबाट आफूले चार जनाको नाम पठाएको जानकारी दिए ।

मन्त्री नियुक्तिको बारेमा भने उनले केही बोलेनन् । ओलीले पार्टीमा छलफल नगरी भीम आचार्य र कर्ण थापालाई हटाएर महेश बस्नेत र दीपकचन्द्र अमात्यलाई मन्त्री बनाएका थिए ।

मन्त्रीबाट हटाइएका आचार्य र थापा स्वयंमले समेत हटाउनुअघि कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

एमाले अध्यक्ष ओलीले स्थायी कमिटी, पोलिटव्यूरो जस्ता कामकाजी कमिटीहरु नभएकाले आपतका बेला निर्णय गर्नुपरेको भन्दै सबैसँग सल्लाह गर्न नपाएकोमा माफी मागेका थिए । अबका दिनमा सल्लाह र परामर्श गर्दै संस्थागत ढंगले काम गर्ने प्रतिबद्धता ओलीले बैठकमा व्यक्त गरेका थिए ।

बैठकमा बोल्न धेरै केन्द्रीय सदस्यले नाम टिपाए पनि बिहीबामात्र बोल्न पाउने गरि बैठक स्थगित भएको छ । ‘४ दलका शीर्ष नताको बैठकमा जान हतार भएकाले अध्यक्षले केही स्पष्ट पारेर बिहीबारसम्मका लागि बैठक स्थगित गर्नुभयो’ केन्द्रीय सदस्य माधव ढुंगेलले भने ।

बैठककै बीचमा केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले राज्य पुनःसंरचनाको विषयमा पार्टीभित्र पर्याप्त छलफल गरेर मात्र साझा धारणा लैजान आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment