Comments Add Comment

स्टाफ कलेजका कर्मचारी घाम ताप्न निस्किए

२५ मंसिर, काठमाडौं । विगतको सहमति र प्रक्रिया विपरीत कर्मचारी नियुक्त गर्न लागिएको भन्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलका कर्मचारीहरु आन्दोलित भएका छन् ।

Staff-college-jawalakhelअधिकृत प्रथम र तृतीय श्रेणीको कर्मचारी नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरुले विहीबार काम ठप्प पारेका छन् । कर्मचारीहरु हातमा कालोपट्टी बाँधी चौरमा घाम तापेर बसेका छन् ।

विहीबार अधिकृत प्रथम श्रेणीको लिखित परीक्षा छ भने तृतीय श्रेणीको अन्तरवार्ता छ । यद्यपि परीक्षाका यी प्रक्रिया भने रोकिएका छैनन् ।

विहान कर्मचारीहरुले परीक्षा हुनै नदिने भन्दै मुख्य गेटमा तालाबन्दी गरेका थिए । स्थिति असहज बनेपछि प्रहरी बोलाउनुपरेको थियो । ‘आन्दोलनका नाममा हामी असभ्य हुन चाहेनौं र ताला खोलिदियौं,’ तालिम तथा अनुसन्धान अधिकृत विनयहरि मास्केले अनलाइनखबरसँग भने, ‘हाम्रो माग सम्वोधन नभएसम्म काम गर्दैनौं ।’

कानूनी डकैती भयो : कर्मचारी

विशिष्ट श्रेणीमा पास भएका र गोल्ड मेडलिष्टहरुले मात्रै आवेदन दिन पाउने गरी विज्ञापन खोलिएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । ती आवेदकहरुलाई अन्तरवार्ताबाट मात्रै छनौट गर्न लागिएको कर्मचारीहरुको भनाइ छ ।

उनीहरुले ५० प्रतिशत खुल्ला विज्ञापनबाट, २५ प्रतिशत आन्तरिकबाट र २५ प्रतिशत सरकारी कार्यालय तथा संघसंस्थाहरुबाट काजमा नियुक्तिको व्यवस्था मिलाउन माग गरेका छन् ।

‘यहाँ त खुला विज्ञापन नगरेर आफ्ना मान्छे भर्ति गर्ने खेल देखियो,’ तालिम तथा अनुसन्धान अधिकृत मास्केले भने, ‘बर्षौंदेखि सेवा दिइरहेका कर्मचारीहरुलाई पदोन्नती गरेर पनि पदपूर्ति गर्नुपर्‍यो भन्ने हाम्रो माग हो ।’

यसअघि पदपूर्ति गर्दा अहिलेकै जस्तै प्रावधानबाट कर्मचारी छनोट गरिएको थियो । त्यसैलाई नजिर बनाएर प्रशासनिक प्रतिष्ठानले अहिले पनि नियुक्ति प्रक्रिया अघि बढाएको हो । तर, कर्मचारीहरुले यसपटक भने विरोध गरेका छन् ।

‘त्यतिबेला एकपटकलाई भनेर हामीले सहमति जनायौं तर अहिले त्यसैमा टेकेर कानूनी डकैती गरिँदै छ, हामीलाई यो मान्य छैन,’ मास्केले भने ।
कर्मचारीहरुले परीक्षा रोक्न माग गर्दै पुनरावदेन अदालतमा मुद्दा समेत हालेका थिए ।

‘विरोधको औचित्य छैन’

स्टाफ कलेजका उपनिर्देशक तारकबहादुर केसीले कर्मचारी पदपूर्ति प्रक्रिया नियमसंगत नै भएको बताए । ‘पुनरावेदन अदालतले तत्कालका लागि नियुक्ति प्रक्रिया रोक्न नपर्ने भनेपछि हामीले कर्मचारी छनौट प्रक्रिया अघि बढाएका हौं,’ अनलाइनखबरसँग कुरा गर्दै स्टाफ कलेज जावलाखेलका उपनिर्देशक केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment