Comments Add Comment

‘आइसीटी फर एग्रिकल्चर’ बन्यो एप क्याम्पको महाविजेता

ICT-for-Agriculture-

२६ मंसिर, काठमाडौं । कृषि क्षेत्रमा आधारित ‘आइसीटी फर एग्रिकल्चर’ एनसेल एप क्याम्पको महाविजेता बनेको छ । सोल्टी होटलमा बिहीबार साँझा सम्पन्न प्रतियोगितामा २३ प्रतिस्पर्धी समूहरुलाई पछि पार्दै उक्त एप कृषि क्षेत्रको विषयगत तथा महाविजेता बनेको हो ।

यो एप शिवजन चौलागाईं, अविनाश झा, प्रशान्तराज मालाकार, रुविन बज्राचार्य र समिता कार्कीको समूहले विकास गरेको हो । कृषकहरुलाई बाली थन्काउनुपूर्व र त्यसपछि किटनाशकहरुबाट बचाउन सहयोग गर्ने यस एपको निर्माणकर्ताहरु सूचना प्रविधि विषयका विद्यार्थीहरु हुन् ।

‘हामीलाई सबै साथीहरुले कृषि क्षेत्र नरोज्न सुझाव दिएका थिए’ समूह नेता अभिनाश झाले भन- ‘तर, हामीले किसानको समस्या समाधान हुने खालको एप बनाउने निर्णय गर्यौ ।’ यस एपले किसानलाई मौसमसम्बन्धी जानकारी दिनुका साथै बजारसम्बन्धी सूचनासमेत प्रदान गर्दछ । हाल यस एपको ९०० भन्दा बढी प्रयोगकर्ताहरु छन् ।

Ncell-App-Camp-Final

कर्पोरेट सोलुसनतर्फ सेन्टिनेप समूहले बनाएको ओपिनियो नामक एप विजयी भएको छ भने शिक्षा र पर्यटनतर्फ क्रमश रितीरिवाज र लिपी एपहरु विजेता भए । प्रत्येक विषयगत विजेताहरुले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे भने महाविजेताले थप ५ लाख रुपैया नगद पुरस्कार प्राप्त गरे ।

कर्पोरेटतर्फ विजयी ओपिनियोले मानिसहरुको विचार तथा अनुभूतिहरुलाई वर्गिकरण गरी व्यवसायीहरुलाई आफ्नो व्यवसायिक योजना निर्धारण गर्न सहयोग पुर्‍याउँछ । विशेष गरी मिडियातर्फ लक्षित यो एपले प्रकाशित भएका समाचार तथा अन्य प्रतिक्रियाहरुको अध्ययन गरी विश्लेषण गर्ने कार्य गर्दछ ।

‘हामी सबै विद्यार्थी भएकाले पुरस्कार रकमले अब अर्को उचाइमा पुग्न सहयोग गर्नेछ’ समूह नेता चन्दन गुप्ताले भने । शिक्षा क्षेत्रतर्फ विजयी रितीरिवाज नामको एपले नेपालका चाडपर्वहरुबारे जानकारी दिने कार्य गर्दछ । विशेष गरी विदेशमा बस्ने नेपालीहरु र नयाँ पीडिलाई आफ्नो सँस्कृतिको जगेर्ना गर्न सघाउने यो एप एक महिनाभित्र बजारमा आउने समूह नेता मनिश श्रेष्ठले बताए ।

त्यसैगरी, पर्यटनतर्फको विजेता एप लिपीले विशेषतः पर्यटकहरुलाई नेपाली भाषामा लेखिएका तस्बीर उनीहरुले बुझ्ने भाषामा परिवर्तन गरी सहयोग पुर्याउँछ । ‘अब हामी हाम्रो एपलाई परिपक्व बनाउनेछौं’ समूहका व्यवसायिक योजनाकार रुपकराज घिमिरेले भने ।

Ncell-App-Camp-Final--3

प्रतिस्पर्धाको अन्तिम प्रस्तुतिका लागि प्रत्येक समूहले उनीहरुले बनाएको एपबारे अवधारणा साथै उक्त एपको व्यवसायिक रणनीति प्रस्तुत गरेका थिए । प्रस्तुतिका लागि प्रत्येक समूहलाई १० मिनेट समय प्रदान गरिएको थियो जसअन्तर्गत उनीहरुले २ मिनेट निर्णायक मण्डलको प्रश्नको जवाफ दिन र ३ मिनेट आफ्नो एपको नमुना प्रयोग गरेर देखाउन भनिएको थियो ।

पर्यटन व्यवसायी सुमन पाण्डे, कुन्द दिक्षित, नरोत्तम अर्याल, पुर्ण बहादुर क्षेत्री, शौरभ ज्योती, टमी अहोनेन, र टमस मार्टुनस लगायत विभिन्न क्षेत्रका आठ जना विज्ञहरु सम्मिलित निर्णायक मण्डलले प्रतिस्पर्धीहरुलाई उनीहरुले प्रस्तुत गरेका एपले समाधान गर्ने समस्याको प्रकृति, व्यवसायिक नमुना, एप, व्यवसाय विस्तारको सम्भावना र प्रस्तुतिको स्तरका आधारमा अंक प्रदान गरेका थिए ।

४ सय ५७ समूहहरुले सहभागिताका लागि आवेदन दिएको यस प्रतिस्पर्धाको पहिलो चरणमा १ सय १५० समूह छानिएका थिए । ती समूहहरुले विभिन्न तालिम तथा सेमिनारमा सहभागी भइ एप निर्माणको प्राविधिक तथा व्यवसायिक पक्षबारे विज्ञहरुबाट ज्ञान हासिल गरेका थिए । उक्त १ सय ५० समूहहरुमध्ये गत मंसिर १६ गते उत्कृष्ट २४ समूहमा छानिएका २४ समूहहरु आज अन्तिम प्रतिस्पर्धाका लागि भिडेका हुन् ।

Ncell-App-Camp-Final--4

एनसेलकी कर्पोरेट कम्युनिकेसन प्रबन्धक सञ्जू कोइरालाले एनसेलले प्रतिस्पर्धाका सहभागीहरुलाई भविष्यमा पनि सघाउने सम्भावना रहेको बताइन् । ‘एप क्याम्प आज सफलतापूर्वक सम्पन्न भएको छ । तर, यो अन्त्य चाहीं अवश्य होइन । यहाँ सहभागी सबै सक्रिय र सिर्जनशील एप निर्माताहरुलाई उनीहरुको व्यवसाय अघि बढाउन प्रोत्साहन गर्ने खालको नयाँ कार्यक्रम ल्याउनेबारे हामी सोचिरहेका छौं’ उनले भनिन् ।

‘मलाई एकदमै खुसी र गर्व लागेको छ । यो सगरमाथाको मात्र देश होइन। यो टे्रकिंगको देश मात्र होइन । यो प्रविधि र सिर्जनशीलताको पनि देश हो’ एनसेलका कार्यकारी प्रमुख एरिम टायलेनलरले भने- ‘अब तपाईंहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि सहभागी हुनुहोस् ।’

 Ncell-App-Camp-Final-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment