Comments Add Comment

भारतले रुससँग मिलेर दश पारमाणविक भट्टी निर्माण गर्ने

Vladimir-putin-and-Narendra-modi

२५ मंसिर, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । पुटिनसँगको भेटपछि मोदीले मस्कोसँग मिलेर कम्तीमा दश थप पारमाणविक भट्टी निर्माण गर्ने बताएका छन् ।

भारतले कम्तीमा १० वटा थप पारमाणविक ऊर्जा उत्पादन भट्टी स्थापना गर्ने महत्वाकाँक्षी दृष्टिकोणको योजना तयार गरेको उनले बताए । यी भट्टी सुरक्षाको स्तरमा विश्वको सबैभन्दा सुरक्षितमध्ये हुने र यसमा भारतमा उत्पादन भएका उपकरण तथा भाग जडान हुनेछ ।

रसियाले भारतको दक्षिणी भाग कुदानकुलमको संयन्त्रमा दुई पारमाणविक भट्टी आपूर्ति गरेको थियो । उक्त भट्टीका लागि सन् २०१० तथा २००८ मा सम्झौता भएका थिए । यसपछि रसियाले भारतलाई थप भट्टी लिन दबाब दिएको छ ।
युक्रेनको विषयलाई लिएर प्रतिबन्धबाट प्रभावित मस्कोले एसियासँग ऊर्जा, प्रतिरक्षा तथा रणनीतिक सम्बन्ध स्थापना गर्न चाहेको छ । युक्रेनमा विद्रोहलाई समर्थन गरेको तथा क्राइमियालाई आफूमा गाभेकोमा रसिया अमेरिका तथा युरोपेली महासङ्घको प्रतिबन्धमा परेको छ ।

रुसी राष्ट्रपति आफ्नो प्राकृतिक स्रोतका लागि नयाँ बजारको खोजीमा छन् ।

बिहीबार दुई मुलुकले भारतमा रसियाको सबैभन्दा उन्नत हेलिकप्टर तथा सैनिक उपकरणका अतिरिक्त पुर्जा उत्पादन गर्ने कारखाना स्थापना गर्ने सहित १६ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

परम्परागत रूपमा रसियाले भारतलाई उसको सैनिक उपकरणमा ७० प्रतिशतसम्म आपूर्ति गरेको थियो । भारतको घरेलु उद्योगले उच्चप्रविधिको हतियार उत्पादन गर्न प्रयास गरिरहेको छ भने हाल यो मुलुक प्रतिरक्षामा ठूलो खर्च गर्ने तयारीमा रहेको छ ।

रसियामा स्टालिनको मृत्युभएपछि मस्को तथा नयाँ दिल्लीबीच बलियो सम्बन्ध स्थापना भए पनि दुई मुलुकबीच व्यापार प्रतिवर्ष १० अर्ब अमेरिकी डलर बराबर रहेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment