Comments Add Comment

हरियो पासपोर्ट नै किन बोक्छन् उपेन्द्र महतो ?

upendra-mahato

प्रकाश ढकाल

२८ मंसिर, कोपेनहेगन (डेनमार्क) । बेलारुसका अर्बपति व्यापारी उपेन्द्र महतो केही दिनअघि डेनमार्कको कोपेनहेगन विमानस्थलमा देखिएपछि केही नेपालीहरु उनीसँग फोटो खिचाउन झुम्मिए ।

जब उनीहरुले उपेन्द्रको हातमा नेपालको हरियो पासपोर्ट देखे, उनीहरुमध्ये धेरैलाई अचम्म लाग्यो । उपेन्द्र महतोको हातमा रातो पासपोर्ट नदेखेपछि एकजनाले सोधी हाले-तपाईसंँग हरियो पासपोर्ट ?

रुसमा २५ वर्षदेखि व्यापार व्यवसाय गरेर उतै बसेका महतोले त्यहिको पासपोर्ट प्रयोग गर्छन् भन्ने धेरैको भ्रम उनले अन्त्य गरिदिए । उनले नेपालको हरियो पासपोर्ट कोटको खल्तीमा राख्दै भने-यसैमा त छ नि मज्जा ।

विदेश जानासाथ हतार-हतार नेपाली नागरिकता त्यागेर विदेशी पासपोर्ट बनाउन मुद्दा मामिला गर्ने नेपालीहरुप्रति व्यंग्य गर्दै उनले भने-नेपाली हुनुमा गर्व गर्नुस् ।

आफूले चाहेमा रातो पासपोर्ट नै प्रयोग गर्न सक्ने भए पनि नेपालीको पहिचान र आफ्नो मुलुकप्रति गर्व गर्न नपाइने भएकाले आफूले नेपालका सामान्य नागरिकले बोक्ने हरियो पासपोर्ट नै प्रयोग गरिरहेको बतए ।

हुन त नेपालका पासपोर्ट देख्नासाथ कतिपय देशका अध्यागमन कर्मचारीले शंकास्पद नजरले नहेर्ने होइनन् । तर, अर्बपति व्यापारी महतो भन्छन्-तिनीहरुको भ्रम तोड्नकै लागि पनि म हरियो पासपोर्ट नै प्रयोग गरिरहन्छु ।

रसियामा सन् २००७ मा “मेनेजर अफ द इयर” को राष्ट्रिय सम्मान पाएका महतो विश्वका कुनै पनि मुलुकमा जाँदा सामान्य कामदार नेपालीलाई भेटे पनि बोलाएर गफ गरिहाल्छन् ।

‘मान्छेहरु नेपालको नागरिकता त्यागेर विदेशी पीआर लिन्छन् अनि नेपालको राष्ट्रियताको चिन्ता गर्छन्’ महतोले भने ‘तर म सयौं अवसर आउँदा पनि नेपाली हुनुको पहिचान कहिल्यै त्याग्न सक्दिँन, विश्वमा जहाँ गए पनि नेपाली देखेपछि बोलाएरै कुरा गर्छु’ ।

उनले रसियाको राजधानी मस्कोबाट यात्रा गर्नुपर्दा कहिले कहीँ उडान समयमा विमानस्थल पुग्न नसकेको आधा घण्टासम्म उनका लागि उडान रोकिएको अनुभव पनि उनले संगालेका छन् ।

गैरआवासीय नेपालीको अध्यक्ष बनिसकेपछि नेपालमा बढी चिनिएका महतोले भने- पैसाले विश्वको कुनै पनि मुलुकको बैभव किन्न सकिएला, तर आफ्नो मातृभूमिको माया किन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment