Comments Add Comment

अर्को माघमा महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव

prachanda-and-baburam-and-h

  • फाइल फोटो

२८ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को माघमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले अर्को वर्ष माघ तेस्रो साता महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डले  पदाधिकारीसहित स्थायी, पोलिटब्यूरो र केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका छन् ।

‘महाधिवेशन गर्ने निर्णयसँगै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गर्नुभएको छ’ एमाओवादी नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने ।

अध्यक्ष प्रचण्डले महाधिवेशनसँगै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

नेतृत्व हस्तान्तरणमा बहस

नयाँ शिराबाट पार्टी पुनर्गठन गर्ने र ठोस अवधारणा बनाएर नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डले बताएका छन् ।

तर, केही नेताहरुले नेतृत्व हस्तान्तरणमा हतार नगर्न अध्यक्ष प्रचण्डलाई दवाब दिएका छन् । आगामी महाधिवेशनबाट डा. बाबुराम भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्ने गृहकार्य चलिरहेका बेला दोस्रो तहका नेताहरुले नेतृत्व हस्तान्तरणको हतार गर्न नहुने बताएका हुन् ।

प्रचण्ड पक्षका नेताहरुले यसमा अझै बहस आवश्यक रहेको बताएका छन् । ‘चुनवाङ, हेटौडाका बैठकदेखि नै नेतृत्व हस्तान्तरणको कुरा हुँदै आएको हो,’ नेतृत्व हस्तान्तरण त गर्नुपर्छ तर अझै बहस आवश्यक छ, नेता हेमन्तप्रकाश ओलीले अनलाइनखबरसँग भने ।

विचारको विकाससँगै नेतृत्वको पनि विकास हुनुपर्ने उनको भनाइ छ । तर, पार्टीमा ‘छद्म अवसरवाद’ हावी भएकाले यसबाट सचेत हुनुपर्ने ओलीले बताए । छद्म अवसरवादले पार्टी विघटनमा लैजाने उनको तर्क छ ।

नेतृत्व हस्तान्तरणले कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई पनि असर पार्ने भन्दै कतिपय नेताहरु महाधिवेशनपछि पनि प्रचण्डकै नेतृत्व हुनुपर्ने पक्षमा छन् ।

आत्मसमर्पण गरिन्न

बैठकमा बुँदागतरुपमा आफ्नो धारणा राख्दै माओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माण आफ्नो एजेण्डा भएको भन्दै त्यसमा लाग्ने बताएका छन् ।

तर, आफ्ना सबै मुद्दा छाडेर आत्मसमर्पण नगर्ने उनले बताए । ‘जनताका अधिकार स्थापित हुने गरी सहमति गर्न सकिन्छ तर, सबै छाड्न सकिँदैन’ उनले भने ।

कार्यविभाजन अर्को बैठकमा

प्रचण्डले केन्द्रीय समिति बैठकमा हालको केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने प्रस्ताव पेश भए पनि कार्यविभाजनको प्रस्ताव भने अर्को वैठकमा मात्रै पेश हुने भएको छ ।

केन्द्रीय समिति विघटन भए जिल्ला समितिहरु पनि स्वतः विघटन भई सम्मेलन आयोजक समितिमा रुपान्तरण हुने बताइएको छ ।

अहिले संविधान निर्माणमा ध्यान दिनुपर्ने भएकाले यही बैठकबाट कार्यविभाजन गर्न नभ्याइने प्रचण्डको प्रस्तावमा उल्लेख छ । त्यसैले अहिले महाधिवशेन आयोजक समिति बनाएपछि संविधानमा केन्द्रित हुने र अर्को बैठकबाट कार्यविभाजन गर्ने प्रचण्डको प्रस्ताव छ ।

शुरुमा पुस महिनाभरि एक महिने प्रशिक्षण अभियान चलाउने प्रचण्डले बुँदागतरुपमा तयार पारेको प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment