Comments Add Comment

सिड्नीमा केही व्यक्ति हतियारधारीको बन्धनमा, ५ जना निस्किन सफल

sydney_hostage_drama

दुई दिनको बिदापछि सोमबारबाट खुलेको कार्यालयहरूका निम्ति सिड्नीका सर्वसाधारणहरु लाग्दैगर्दा विहान करिब पौने दश बजेबाट सिड्नीको लिन्ड्ट क्याफेमा हतियारधारीले केही व्यक्तिलाई बन्धक बनाएको घटना लम्बिदै गएको छ ।

अष्ट्रेलियन समय अनुसार साँझको सवा पाँच हुँदा ५ जना व्यक्ति बन्धक बनाइएको भवनबाट बाहिर निस्कन सफल भएका छन् । केही मिनेट अघि मात्रै दुई थप महिला निस्केपछि यो संख्या पाँच पुगेको हो ।

यससँगै प्रहरीले बन्धक बनाउने व्यक्तिसँग सम्पर्क भएको पनि जनाएको छ । उसको मागका विषयमा कुराकानी भइरहेको छ । मध्यस्थकर्ताहरुले यस्तो सम्पर्क गरेको प्रहरी भनाई छ । सकेसम्म शान्तिपूर्ण रुपमा नै घटनालाई सुल्झाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ ।

यतिबेला प्रहरीले सबैभन्दा बढी प्राथमिकता यस घटनाको शान्तिपूर्ण समाधान हो, भनेको छ । र, धैर्यतापूर्वक रहन आग्रह गरेको छ । प्रहरी प्रवक्ताले सर्वसाधारणलाई धैर्यतापूर्वक बस्न र आफ्नो आफ्नो काममा लाग्न आग्रह गरेका छन् ।

मार्टिन प्लेसमा रहेका भवनहरुमा हुनेहरुलाई भने त्यहीँ रहन र अन्यत्र भएकाहरुलाई आफ्नो नियमित काममा फर्कन प्रहरीले आग्रह गरेको हो । प्रहरीले यसलाई शान्तिपूर्ण रुपमा सुल्झाउनका निम्ति समय लाग्नसक्ने र यसमा धैर्यता आवश्यक भएको बताएका छन् ।

पूरै अष्ट्रेलिया एकताबद्ध

हन्टर स्ट्रीट, जर्ज स्ट्रीट, एलिजावेथ स्ट्रीट, मक्वाईरी स्ट्रीटमा मुख्यत कारवाही केन्द्रित भएको छ। एउटा अरविक अक्षरमा लेखिएको झण्डा पनि बन्धक बनाइएको ठाउँमा देखिएका कारण यसलाई गम्भीरतापूर्वक लिइएको हो । झण्डामा ‘अल्लाहबाहेक अरु कुनै भगवान पूजा गर्न योग्य छैनन्’ भन्ने लेखिएको छ ।

यसैबीच, प्रधानमन्त्री टोनी एबोटले राजधानी क्यानबेराबाट सम्बोधन गर्दै सुरक्षाकर्मी आफ्नो व्यवसायिक क्षमताका साथ यस घटनामा परिचालित रहेकोले चिन्ता गर्नुपर्ने विषय नरहेको र धैर्यतापूर्वक सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेका छन् । यस विषयमा सम्भावित सबै उपायहरु अवलम्बन गरिने पनि उनले बताए ।

घटनाका कारण सिड्नीको ओपेरा हाउसलाई समेत खाली गराइएको छ । अष्ट्रेलियाका विपक्षी दलका नेता बिल सोर्टनले क्यानबेराबाट सार्वजनिक सन्देश दिँदै यस घडीमा सबै अष्ट्रेलियावासी एकताबद्ध भएको बताए । साथै, आफू सरकारसँग नियमित सम्पर्कमा रहेको जानकारी गराउँदै उनले यस घटनामा चालिने हरेक कदममा साथ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment