Comments Add Comment

हिमपातले सोलुखुम्बुमा ७० पर्यटक अलपत्र

gokyo-ri-2

  • गोक्यो क्षेत्रको फाइल तस्वीर

२९ मंसिर, सोलुखुम्बु । पर्यटकको चाप हुने खुम्बु क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेपछि सोलुखुम्बुको गोक्यो क्षेत्रमा पुगेका ७० जना पर्यटकहरु फर्कन नसकेर अलपत्र परेका छन् । खुम्बु क्षेत्रको गोक्यो ट्रेकिङ रुटमा गएका ४० विदेशी र ३० नेपाली पर्यटक अलपत्र परेका हुन् ।

आइतबार बिहानै नाम्चेतर्फ आउने तयारीमा रहे पनि हिमपात भएपछि उनीहरु गोक्योकै होटलहरुमा बस्न बाध्य भएका छन् । बाक्लो हिउँ परेपछि हिँड्न नसकेर र बाटो पहिल्याउन नसकी होटलमै बस्न बाध्य भएको कान्जीरोआ ट्रेकिङ एजेन्सीका गाईड सार्की तामाङले जानकारी दिए ।

होटलमा सुरक्षितरुपमा बसिरहे पनि आफ्नो देश फर्किने जहाजको टिकट छुट्ने र तालिका बिग्रने भन्दै विदेशी पर्यटकहरु चिन्तित बनेका छन् । हिउँ तत्काल नपग्लने भएकाले फर्किन अझै कम्तिमा ३ दिन कुर्नुपर्ने भएकाले आफूहरुको उद्धार गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

पर्यटकहरु कुन-कुन ट्रेकिङ एजेन्सीबाट गएका हुन् र कुन-कुन देशका नागरिकहरु हुन् भन्ने पूर्ण विवरण आइसकेको छैन । कान्जीरोआ ट्रेकिङ एजेन्सी ट्रेकिङ गाईड तामाङका अनुसार विशेषगरी युके, अस्ट्रेलिया र जर्मनीका नागरिकहरु अलपत्र परेका छन् ।

गाेक्यो । फाइल तस्वीर
गाेक्यो । फाइल तस्वीर

उद्धारको प्रयास गरिने

पर्यटक अलपत्र परेको खबर सााझपख मात्रै पाएकाले सोमबार बिहानैबाट उद्धारको प्रयास गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए । सोबारे केन्द्रमासमेत जानकारी गराइसकेकाले मौसम अनुकूल भएमा सोमबारदेखि पर्यटकहरुको उद्धार गर्ने खड्काको भनाइ छ ।

अहिले पनि हिमपात जारी रहेकोले मौसम अनुकूलताको प्रतिक्षामा रहेको प्रहरीले जनाएको छ ।

(पत्रकार विक्रम श्रेष्ठको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment