Comments Add Comment

बिजुली निकाल्न खोलामा जाँदा ‘लाहुरे’ माथि बञ्चरो प्रहार

मात्रिका पौडेल

२९ मंसिर, काठमाडौं । अफगानिस्तानको युद्धमा साहसिक प्रदर्शन गरेर ‘दुश्मनलाई’ भगाएका गोर्खा सैनिक धिरेन्द्रकुमार लिम्बु गत साता आफ्नै मुलुकमा आफ्नै भनिएकाबाट ज्यान जोगाउनका लागि भाग्न बाध्य भए ।

धिरेन्द्र लिम्बु
धिरेन्द्र लिम्बु

सिन्धुपाल्चोकको जलबीरे नजिकै गेलुङखोलाबाट बिजुली निकालेर मुलुकलाई उज्यालो दिन आएका ‘ब्रिटिश लाहुरे’माथि स्थानीयले आक्रमण गरेपछि उनीहरुको उज्यालोको सपना अन्धकार बनेको हो ।

गेलुङखोला जलविद्युत आयोजनाको कामका लागि जलबीरे पुग्दा उनीमाथि बञ्चरो र ढुंगा प्रहार भयो । हगाम गाविसका बहादुर गोलेको नेतृत्वमा आक्रमण भएको भन्दै उनले प्रहरीमा जाहेरी दिएका छन् ।

लाहुरेको बन्दूक र रगतसँग साटिएको पैसा संकलन गरेर नेपालमा विद्युत उत्पादन गर्न लागेका बेला आफूसँग स्थानीय केही गुण्डाहरुले लाखौं रुकम मागेको र आफूले नदिएका कारण बञ्चरो प्रहार भएको लिम्बु बताउँछन् ।

के सोचेँ मैले, के भयो अहिले ?

एक वर्षअघि ब्रिटिस गोर्खा राइफलबाट राजीनामा दिएर नेपाल फर्किंदा धिरेन्द्रकुमार लिम्बुले नयाँ नेपाल बनाउने सपना सँगै लिएर आएका थिए ।

पराई मुलुकमा भाडाको सिपाही भएर अरुका लागि लड्नुभन्दा आफ्नै मुलुकको सम्बृद्धिका लागि आफूले लाहुरे भएर कमाएको पैसा लगानी गर्ने उनको योजना थियो ।

उनीजस्तै ब्रिटिश गोरखा सैनिकबाट अवकाश भएका र राजीनामा दिएका साथीभाइ मिलेर नेपालको विकासका लागि उर्जाको संकट देखेपछि जलविद्युतमा लगानी गर्ने निधो गरेका हुन् ।

उनीहरुमध्ये कोही अफगान युद्धमा घाइते भएकाहरु पनि थिए भने कोही इराक युद्धमा बहादुरी देखाएका ‘वीर गोरखाली’ थिए । वहालवाला र भूपू गोरखा सैनिक मिलेर नेपालमा जलविद्युतमा लगानी गर्ने निधो गरे ।

उनीहरुले ब्रम्हाण्ड इन्भेष्टमेन्ट गु्रप अफ कम्पनी खोलेर सिन्धुपाल्चोकको गेलुङखोला जलविद्युत आयोजनामा ३५ प्रतिशत अर्थात ४ करोड रुपैयाँ लगानी गरेर आफ्नो अभियान प्रारम्भ गरेका थिए ।

कुल ५० करोड लगानीको साँढे ३ मेगावाट क्षमताको गेलुङखोला जलविद्युत आयोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । यो आयोजना सफल भएपछि ४० मेगावाट क्षमताको अर्को आयोजनामा लगानी जुटाउन उनीहरुले ब्रिटिस लाहुरेहरुसँग छलफल गरिसकेका थिए ।

‘तर अब मन मर्न थालेको छ, युद्ध मैदानमा दुश्मनसँग लडेर जित्न सजिलो थियो । तर, आफ्नै भूमिमा असुरक्षित महसुस गरेर के लगानी गर्ने ?’ धिरेन्द्र लिम्बुले अनलाइनखबरसँग भने ‘ज्यान हत्केलामा राखेर कमाएको बेलायती पाउण्ड आफ्नो मुलुकमा लगानी गर्ने योजना बोकेर आएका थियौं । तर, अब निराश भइसकेका छौं’ ।

लाहुरेहरुले गोर्खा राइफलका तर्फबाट विश्वभर लडाइ लडिरहेका छन् । उनीहरुले कमाएको पैसालाई नेपालमा ल्याएर देशको विकासमा लगाउने योजना बनाएकाहरु लगानी गर्ने वातावरण नै नभएको भन्दै निराश बनेका छन् ।

‘हामी खान नपाएर नेपाल फर्किएका होइनौं, उता शानदार जीवन बिताइरहेका थियौं’ गुण्डाहरुको आक्रमणबाट मुखमा भएको घाउ देखाउँदै धिरेन्द्रले भने ‘अहिले ममाथि यस्तो घटना भयो भन्ने थाहा पाएपछि लाहुरे साथीहरुले खुब देशको सेवा गर्छु भनेर गाको थिस्, देखिस् नि भन्न थालेका छन्’ ।

धिरेन्द्रकुमार लिम्बु
धिरेन्द्रकुमार लिम्बु

अफगान युद्धको घाउ

ब्रिटिस गोरखा रेजिमेन्टकै अर्का लाहुरे दावाफिन्जो भोटे लामाले विश्वका बिभिन्न कुनामा बेलायती साम्राज्यका लागि लडाइँ लडे । अफगान युद्धमा बंकरभित्रै हमला हुँदा उनले धेरै दुश्मनलाई मारे र आफ्नो कानको जाली गुमाए ।

लाहुरे जीवन छाडेर मातृभूमिको ऋण तिर्न भन्दै फर्किएका दावाफिन्जो यो जलविद्युत आयोजनामा लाहुरेको कम्पनीका तर्फबाट फिल्डमा खटिएका थिए ।

बिभिन्न पार्टी, क्लव वा स्कूलका नाममा बहादुर गोलेको टिमले लाखौं रुपैयाँ मागेको लिम्बु बताउँछन् । ‘उनीहरु गाउँमा बिजुली बल्दा खुसी होलान् भनेको त उल्टै हामीसँग पैसा असूल्न पो चाहँदारहेछन्’ उनी भन्छन् ‘बेकारमा बेलायत छाडेर आइएछ जस्तो लागिरहेको छ’ ।

अफगान र इराकका बंकरबाट बाँचेर आएका लाहुरेहरु अहिले आफ्नै मातृभूमिको सम्वृद्धिका लागि विदेशी पैसा लिएर आउँदा आफ्नै गाउँ ठाउँमा असुरक्षित महसुस गरिरहेका छन् ।

‘हामी जलविद्युतलाई नेपालको विकासको आधार भन्छौं । तर, स्वयंसेवी रुपमा विदेशबाट पैसा ल्याएर लगानी गर्दा हामी जस्तालाई यस्तो हमला हुन्छ’ उनीहरु भन्छन् ‘जब हाम्रो लगानी नै सुरक्षित छैन भने कसरी अरुलाई आऊ भन्न सक्छौं यस्तो ठाउँमा’ ।

तिनीहरुले मार्न सक्छन्

आफूहरुमाथि सांघातिक हमला भएपछि धीरेन्द्रलगायतका लाहुरे लगानीकर्ताहरु आयोजनास्थलमा फर्केर जान सकेका छैनन् । ‘उनीहरुलाई पैसा नदिए मार्न सक्छन्, त्यस्तो ठाउँमा कसरी जाने ?’ धीरेन्द्रको प्रश्न छ ।

आफूमाथि आक्रमण गरेको र बहादुर गोलेसहित ७ जनाविरुद्ध उनले ज्यान मार्ने उद्योग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चौतारामा किटानी जाहेरी दिएका छन् ।

जिप्रका सिन्धुपाल्चोकका प्रमुख डीएसपी दीपक खरेलले अभियुक्तहरुलाई पक्राउ गर्न आदेश दिइसकिएको र एकजना पक्राउ परेको अनलाइनखबरलाई बताए ।

एकातिर मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६ अर्बको शेयर सित्तैमा पाउनुपर्ने भनेर सिन्धुपाल्चोकका राजनीतिक दलहरुले आन्दोलन गरिरहेका बेला लाहुरेको लगानीमा गुण्डाको आक्रमण भएपछि नेपाल जलविद्युतमा लगानी गर्नेहरुका लागि असुरक्षित मुलुक बन्ने खतरा बढेको लिम्बु बताउँछन् ।

गाउँमा कुनै पनि विद्युत आयोजना आउँदा स्थानीय विद्यालय, बाटो, सामाजिक संस्था आदिका नाममा लगानीकर्ताले आर्थिक सहायता गर्नुपर्ने भन्दै मागहरु तेस्र्याउने प्रचलन नेपालमा बढ्न थालेको छ ।

विशेष गरी आदिवासी जनजातिहरुले आएएलओ १६९ अनुसार स्थानीयले केही पाउनैपर्ने माग गर्ने गरेका छन् भने कतिपय गुण्डाहरुले दादाभत्ता मागेर लगानीकर्तालाई सताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment