Comments Add Comment

८ लाख नतिर्दा एमबीबीएस छात्रवृत्तिमा सभासदपुत्रको नाम निस्केन

शिक्षामन्त्री यादव । संसदको सुशासन तथा अनुगमन समितिको सोमबारको बैठकमा अाफ्ना कुरा राख्दै
शिक्षामन्त्री यादव । संसदको सुशासन तथा अनुगमन समितिको सोमबारको बैठकमा अाफ्ना कुरा राख्दै

२९ मंसिर, काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिको बैठकले एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र विक्री प्रकरणमा आफ्ना कर्मचारीको संलग्नताबारे छानविन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

शिक्षामन्त्रीसहितका अधिकारीहरुसँग छलफलपछि सोमबारको समितिका सभापति शेरधन राईले कर्मचारीको सलग्नताबारे छानविन गरी १५ दिनभित्र समितिलाई प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

बैठकले प्रश्नपत्र किनबेच प्रकरणबारे गम्भीर छानविन गरी दोषीलाई कारबाही गर्न अख्तियारको ध्यानाकर्षण गराएको छ  ।

छानविन भइरहेको छ : शिक्षामन्त्री

बैठकमा शिक्षामन्त्री चित्रलेखा यादवल प्रश्नपत्र किनबेचमा मन्त्रालयका कर्मचारीको संलग्नताबारे छानविन भइरहेको बताइन् । तर, सत्तारुढ नेपाली कांग्रेसकै सभासदले भने ८ लाख रुपैयाँ नतिर्दा एमबीबीएस छात्रवृत्तिमा आफ्नो छोराको नाम ननिस्किएको तितो अनुभव सुनाएका छन् ।

कांग्रेस कोषाध्यक्षसमेत रहेकी शिक्षामन्त्री यादवले संसदको सुशासन तथा अनुगमन समितिको सोमबारको बैठकमा परीक्षा केन्द्र तोकिएको कलेजका स्टाफको संलग्नता देखिएको बताइन् ।

झण्डै सात मिनेट बोलेपछि मन्त्री यादव एमबीबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा सचिवले थप जानकारी दिने भन्दै पन्छिइन् ।

लगत्तै शिक्षा सचिव विश्वप्रकाश पण्डितले परीक्षा केन्द्रमा एउटा भवनबाट अर्कोमा लैजाने क्रममा प्रश्नपत्र फोटोकपी भएको पाइएको बताए । पण्डितले भने-‘अख्तियारले १० वर्षदेखिकै छानविन भइरहेको छ भनेको छ, आजको मितिसम्म शिक्षा मन्त्रालयका कर्मचारीको संलग्नताको छनक छैन ।’

सचिव पण्डितले पनि यसबारे आफूभन्दा छात्रवृत्ति शाखाका प्रमुख सहसचिव डिल्ली रिमालले थप जानकारी दिने बताए ।

समितिमा उपस्थित सहसचिव रिमालले मन्त्री र सचिवले जस्तै कर्मचारीको संलग्नता नभएको दाबी गरे ।

बिचौलियाहरुले अनेक आँकलन गरेका होलान्, रिमालले भने, भित्रको पद्दतिभन्दा बाहिर केन्द्रमा पुगेपछि बममासी भएको छ ।

सभासद भन्छन्-८ लाख मागे

सभासदहरुले भने मन्त्री र सचिवको जवाफ पत्याएनन् । कांग्रेस सभासद ध्यानगोविन्द रन्जितले आफ्नै छोरालाई पढाउन खोज्दा ८ लाख मागेको अनुभव सुनाए । २०६२/६३ मा मेरो छोराले पनि परीक्षा दिएको थियो । तर, आठ लाख मागे ,। नदिँदा मेरो छोरा पास भएन, रञ्जितले बैठकमा भने-‘पास भएकोहरुलाई सोध्दा केहीले पैसा दिएको हो सुनाए ।’

मन्त्री र सचिवले भ्रष्टाचार छैन भनेकोमा व्यंग गर्दै सभासद रञ्जितले कागजमा मात्रै क्लिन भएको बताए । उनले भने, ‘भ्रष्टाचार छैन, कागजी रुपमा सबै क्लिन छ । तर, अन्तराष्ट्रिय समुदायले भनेको छ, भ्रष्टाचार बढेको बढ्यै छ ।’

पूर्वराज्यमन्त्री भन्छन्- पैसाको बिटो लिएर आए

पूर्वशिक्षा राज्यमन्त्री मोहनसिंह राठोरले आफूलाई पनि मन्त्रालयमा रहँदा छात्रवृत्तिमा कुनै अनियमितता हुँदैन भनेर भनिएको बताए ।

उनले भने, तर, केही साथीहरुले पैसाको बिटो लिएर आए । व्यक्तिगत रुपमा लिन आफ्यारो हुन्छ भने पार्टीको नाममा चन्दा हुन्छ समेत भने । यसको अर्थ कहीँ न कहीँ कमजोरी छ ।’

को हुन् बिचौलिया ?

बैठकमा सभासदहरुले हावा नचली पात नहल्लिने बताए । सभासद सिद्धिलाल सिंहले सहसचिवले विचौलिया भनेको भन्दै ‘को हुन् ती बिचौलिया’ भनेर प्रश्न गरे । सचिव, सहसचिवहरु धेरै चलाख हुने भन्दै उनले मन्त्री चित्रलेखालाई उनीहरुबाट सजग रहन आग्रह गरे ।

अर्का सभासद लालबाबु सिंहले प्रश्नपत्र विक्री वितरणको कसले जिम्मा लिने भन्दै प्रश्न गरेका छन् । उनले भने- ‘आज अख्तियारले त्यसै समातेको होइन, लामो छानविनपछि गरेको हो । तर, सचिव र सहसचिवलाई किन थाहा भएन ? यसको जिम्मेवारी कसले लिने ? यसको जिम्मा सहसचिव, सचिव कि मन्त्रीले लिने ?’

दश लाखदेखि ४०/५० लाखको कुरा आइरहेको बताउँदै सिंहले भने-‘घुम्दै घुम्दै खरिदारसम्म पुग्यो भने अर्को वर्ष पनि यस्तै हुन्छ ।’

बैठकमा सभासद अमनलाल मोदी, इकबाल अहमद लगायतले मन्त्रालयकै कर्मचारीको संलग्नता विना प्रश्नपत्र बाहिरिन नसक्ने भन्दै छानविनका लागि उपसमिति बनाउनुपर्ने माग गरेका छन् ।

मंसिर २० गते एमबीबीएसको सरकारी छात्रवृत्तिका लागि भएको परीक्षामा गोल्डेनगेट कलेजका सञ्चालक देवीराम पाण्डेसहितको टोली पक्राउ परेपछि परीक्षा रद्द भएको थियो । सो प्रकरणमा विद्यार्थीबाट पैसा लिने डा. प्रभातकुमार कुशवाह अख्तियारको हिरासतमा छन् ।

रद्द भएको परीक्षा मंसिर २७ मा सम्पन्न भएको छ ।

यो पनि पढ्नुस् 

एमबीबीएस छात्रवृत्तिका लागि सभासदकै फोन आउँछ : शिक्षा सचिव

प्रश्नपत्र बिक्रीमा शिक्षा मन्त्रालयको कनेक्सन रहेको ‘दलाल’को दाबी (भिडियोसहित)

यसरी वेचियो एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र

एमबीबीएसमा दलालले गर्छन् डेढ अर्बको खेल

एमबीबीएसको प्रश्नपत्र किनबेच गर्ने कुशवाहको घरमा अख्तियारको छापा

एमबीबीएसको प्रश्नपत्र बेचेको पैसा पत्नीको खातामा !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment