Comments Add Comment

मंसिरमा न चले नेपाली, न चले हिन्दी फिल्म

manisr-release-film
कात्तिक २८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जेरी’ले व्यापारिक रुपमा तहल्का मच्चाउँदा धेरैलाई आशा थियो, अब नेपाली चलचित्रको दिन फेरिएको छ । निर्माताले गरेका लगानी फेरि फिर्ता आउने अवस्था भयो ।

तर, एउटा चलचित्र चल्दैमा मख्ख हुने र अब गर्नुपर्ने केही पनि छैन भन्ने कुरा सोच्ने चलचित्रकर्मीको कारण नेपाली चलचित्र बजारमा खस्किदै छ । कात्तिकमा ‘जेरी’ र ‘लज्जा’ले राम्रो व्यापार गरेपनि मंसिरमा चलेका ७ वटा चलचित्रले गतिलो व्यापार गरेनन् ।

मंसिर ५ गते प्रदर्शनमा आएका ‘श्री ५ अम्बरे’ र ‘हमजाएगा’ले बक्स अफिसमा तहल्का मच्चाउन सकेनन् । ‘श्री ५ अम्बरे’ले मंसिरमा चलेका अन्य चलचित्रको तुलानामा राम्रो व्यापार गरेपनि नेपालबाटै निर्माता सुरक्षित भने छैनन् ।

मंसिर १२ मा चलेको ‘मिस्टेक’ पनि असफल रह्यो । मंसिर १९ गते प्रदर्शनमा आएका ‘नाईके’ र ‘रंग बैजनी’ले राम्रो व्यापार गर्ने आश थियो । तर, दुबै चलचित्र असफल रहेको यसका वितरक बताउँछन् । नायक आर्यन सिग्देलको एक्सन अवतारका कारण पनि ‘नाईके’ले बम्पर ओपनिङ गर्छ भन्ने आशा धेरैको थियो । तर, चलचित्रले सोचेको भन्दा धेरै कम व्यापार गर्‍यो ।

प्रिमियरमा नै राम्रो तारिफ पाएको ८ बर्षिय निर्देशक सौगात बिष्टको चलचित्र ‘लभ यू बाबा’ पनि चलेन । मंसिर २६ गतेबाट हलमा लागेको यो चलचित्रले दर्शक सोचे अनुरुप तानेन । यता, पुरन थापाले निर्देशन गरेको कमेडी चलचित्र ‘कान्छी मट्याङ ट्याङ’को व्यापार पनि औषत छ । तर, यो चलचित्रको व्यापार ‘लभ यू बाबा’को भन्दा माथि रहेको छ ।

मंसिर महिनामा नेपाली मात्र होइन, हिन्दी चलचित्र पनि चलेनन् । बलिउडका सुपरस्टारहरुको चलचित्रले नेपाली र भारतको बक्स अफिसमा कुनै कमाल मच्चाएनन् । अजय देवगण र सोनाक्षीको आशातित चलचित्र ‘एक्सन ज्याक्सन’ नेपाल र भारतमा असफल रह्यो । सैफ अली खानको ‘ह्याप्पी इन्डिङ’ र रणवीर सिंहको ‘किल दिल’ पनि दुबै देशका बक्स अफिसमा चलेनन् ।

यसरी, लगातार एकपछि अर्को चलचित्र बक्स अफिसमा पिटिदा दर्शक किन हलसम्म आएनन् भन्ने प्रश्न फेरि उब्जन थालेको छ । आर्यन सिग्देल, गरिमा पन्त, केकी अधिकारी जस्ता अहिलेका चल्तीका कलाकारले दर्शकलाई हलसम्म किन तान्न सकेनन्, सोच्नु पर्ने अवस्था छ । बलिउडमा अब शुक्रबारबाट प्रदर्शनमा आउन लागेको आमिर खान अभिनित चलचित्र ‘पीके’ले बक्स अफिसलाई जुरुक्क उठाउने अपेक्षा धेरैको छ । नेपालमा भने कुन कलाकारको चलचित्रले आशा लाग्दो व्यापार गर्ला त, प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment