Comments Add Comment

बेलायती राजदूत सुटक्क लण्डन फर्किए

andy-sparkes

२९ मंसिर, काठमाडौं । नेपालमा धर्म परिवर्तनको प्रावधानलाई बलियो बनाउन लबिङ गरेर विवादमा परेका नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्क्स सरकारलाई स्पष्टिकरण दिनुअघि नै बेलायत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरणका लागि बोलाउनुअघि नै राजदूत छुट्टीमा गएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

मन्त्रालयको युरोप शाखाका प्रमुख सहसचिव निर्मल काफ्लेले भने आफू बैठकमै व्यस्त रहेको भन्दै यसबारेमा प्रतिक्रिया दिन चाहेनन् ।

मन्त्रालयका अर्का सहसचिवले राजदूतको विवादस्पद अभिव्यक्तिका बारेमा सरकार गम्भिर भएको भन्दै के गर्ने भन्ने प्रक्रिया कुटनीतिक पद्धति अनुसार अघि बढेको बताए । ‘यो विषय कुटनीतिक आचारसंहिता अनुसार भएको हो कि होइन भन्ने हेरिँदैछ’ ती सहसचिवले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ‘मन्त्रालयले स्पष्टिकरणको प्रक्रिया अघि नबढाउँदै राजदूत छुट्टीमा गएको कुरा आएको छ ।’

राजदूत स्पार्क्सले केही दिनअघि आफ्नो आलेखमार्फत धर्म परिवर्तन समबन्धी अधिकारलाई नेपालको संविधानमै सुनिशिचत गर्न संविधानसभा सदस्यहरुलाई आग्रह गरेका थिए ।

राजदूतको अभिव्यक्तिप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले स्पार्क्सको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित भएको भन्दै राजदूतसँग स्पष्टिकरण सोध्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका थिए ।

बलपूर्वक धर्म परिवर्तनका पक्षमा वकालत गरेको छैन्ः दूताबास

यसैबीच काठमाण्डौंस्थित बेलायती राजदूतावासले सोमबार एक बिज्ञप्ति जारी गर्दै राजदूत स्पार्क्सले बलपूर्वक धर्म परिवर्तनका पक्षमा वकालत नगरेको प्रष्टीकरण दिएको छ । दूताबासले भनेको छ- नेपालको अहिलेको जटिल परिस्थीतिका बेला एक पुरानो मित्र राष्ट्रका हिसावले राजदूतले ‘सहयोगको सन्देश’ मात्र दिनुभएको हो ।’

यसलाई कतिपयले धर्म परिवर्तन गर्न पाउने अधिकारको वकालतका पक्षमा बुझेको भए पनि राजदूतको आशय त्यस्तो नरहेको बिज्ञप्तिमा जनाइएको छ । राजदूतले धर्म परिवर्तन गर्न पाउने संयुक्त राष्ट्रसंघीय अभिसन्धीको दफालाई उल्लेख गर्नुको अर्थ बलपूर्वक धर्म परिवर्तनको पक्षमा रहेको भन्ने नबुझ्न समेत दूतावासले आग्रह गरेको छ ।

नेपालको संबिधानसभामाथि कुनै किसिमको धार्मिक आस्था लाद्न वा कसैको वकालत गर्न नखोजिएको भन्दै दूतावासले भनेको छ- धर्म निरपेक्षताका बिषयमा बेलायती राजदूतावासको कुनै पक्षधरता छैन, किनकी यो नेपालका जनप्रतिनिधिले निर्णय गर्ने बिषय हो ।’

नेपालको धार्मिक बिबिधता, आस्था र संस्कारप्रति बेलायती राजदूतावासको अगाध सम्मान रहेको भन्दै दूतावासको बिज्ञप्तिमा भनिएको छ- राजदूतको अभिब्यक्तिले कतै भ्रम सिर्जना गएको भए क्षमा चाहान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment