Comments Add Comment

भीमकुमारी भन्छिन्- बिहानै कार्यालय आउन गाह्रो भो

bhimkumaribista finalध्रुव भट्टराई

१ पुस, बिराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता फाँटमा कार्यरत कर्मचारी भीमकुमारी बिष्ट सरकारी उर्दीअनुसार मंगलबार बिहानै आँखा मिच्दै कार्यालयममा हाजिर भइन् ।

बिहानी सेवा कसरी चलिरहेको छ भनेर समाचार संकलन गर्न पुगेका पत्रकारसँग भीमकुमारीले भनिन्- ‘हामी महिला कर्मचारीलाई बिहानको सिफ्टमा काम गर्न गाह्रो हुँदोरहेछ ।’

जिल्ला प्रशासनमा बिहानको सिफ्टमा काम गर्ने भीमकुमारी एकमात्रै महिला कर्मचारी हुन् । अन्य पुरुष कर्मचारीसँगै भीमकुमारी बिहान ६ बजे सीडियो कार्यालय पुगेकी थिइन् ।

‘बिहानै पाँचबजे उठनुपर्छ, आँखा मिच्दै कार्यालय आउन गाडीको समस्या छ,’ विष्टले अनलाइनखबरसँग भनिन्- ‘बिहानै कार्यालय आउन श्रीमानको सहयोग अनिवार्य हुँदोरहेछ, श्रीमान घरमा नभए, कार्यालयसम्म ल्याइदिने मान्छेको अभाव हुने देखियो ।’

 

malpot-morang-final

बिहानको पालोमा काम गर्ने महिला कर्मचारीलाई सरकारले कार्यालयसम्म ल्याउने र पुर्‍याउने यातायातको व्यवस्था गरिदिए राहत पुग्ने विष्टले बताइन् । बिहानको सिफ्ट सञ्चालन भएका सरकारी कार्यालयमा महिलालाई पुरुष कर्मचारीको तुलनामा बढी समस्या परेको भीमकुमारी बताउँछिन्  ।

भीमकुमारीले जस्तै काठमाडौं लगायत अन्य जिल्लामा खटिने महिला कर्मचारीले पनि बालबच्चालाई खाना खुवाउने र विद्यालय पुर्‍याउने समस्या रहेको गुनासो पोखेका छन् ।

बिहान खानाको समस्या, दिउँसो कर्मचारी अभाव हुने

बिहानी सेवा सञ्चालनसँगै दिउँसो काम गर्ने कर्मचारी घट्ने भएकाले कर्मचारी व्यवस्थापनमा समस्या पर्न सक्ने प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अनलाइनखबरलाई बताए ।

कुल ३६ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयमा बिहानको सिफ्टमा काम गर्ने ६ जना कर्मचारी दिउँसो बिदामा बस्नु पर्दा कर्मचारीको व्यवस्थापन गर्न समस्या हुने कार्कीले बताए ।

प्रजिअ कार्की भन्छन्- ‘बिहानैबाट कार्यालयमा आएर काम गर्ने कर्मचारीलाई खानाको समस्या अहिले सबैभन्दा बढी देखिएको छ ।’

morang-sunsan

एकाबिहानै खुलेका कार्यालय सुनसान

सरकारले बिहान ६ बजेबाट सरकारी कार्यालय खुलाउन शुरु गरेको पहिलो बिहान मोरङ जिल्लाका सरकारी कार्यालय सुनसान देखिए । सेवाग्राही नहुँदा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय सुनसान थिए ।

मोरङ जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार बिहान ९ बजेसम्म दुईजनाले राहदानीको सिफारिस लिएका छन् ।

पहिलो दिन भएकाले सेवाग्राही नआउँदा तीनवटै कार्यालय सुनसान बनेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए । तर, भोलिदेखि जनताले जानकारी पाउने र बिहानै सरकारी कार्यालयमा सेवाग्राहीहरु आउने उनले अपेक्षा गरे ।

‘बिहानको सिफटमा काम गर्ने कर्मचारी खटाइएको छ, तर सेवाग्रहीको उपस्थिति ज्यादै न्यून  छ,’ प्रजिअ कार्कीले अनलाइनखबरसँग भने, ‘जिल्ला प्रशासन कार्यालयमा बिहानको सिफ्टमा ६ जना कर्मचारी खटाइएको छ ।

मोरङ जिल्ला प्रशासनमा खटाइएका ६ जना कर्मचारीमध्ये दुईजना नागरिता फाँटमा, ३ जना राहदानी फाँटमा र एकजना नागरिता प्रतिलिपी फाँटमा खटाइएको छ ।

त्यसैगरी बिराटनगरमा नापी कार्यालय र  मालपोत कार्यालय पनि सुनसान छन् । मालतोत कार्यालयमा बिहान ९ बजेसम्म एउटा अशंवण्डको तोक लागेको छ भने नापीमा पनि नक्सा पासको एउटा मात्रै काम भएको छ ।

malpot-morang1

मालपोत अधिकृत गौतमराज अमात्यका अनुसार कार्यालयमा ११ जना कर्मचारी बिहानको सिफ्टमा कार्यरत छन् । मालपोत कार्यालयको मोठमा ९ जना र रजिष्ट्रेशनमा २ जना कर्मचारी खटिएका छन् । मालपोत कार्यालयमा कुल ४२ जना कर्मचारी छन् ।

त्यसैगरी नापी कार्यालय मोरङका निमित्त कार्यालय प्रमुख भीमबहादुर कार्कीका अनुसार बिहानको सिफ्टमा ४ जना कर्मचारी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment