Comments Add Comment

पुनःबहालीको माग गर्दै कर्मचारी आमरण अनशनमा

१ पुस, राजविराज । कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन नम्बर २ कार्यालयबाट  हटाइएका ज्यालादारी कर्मचारीहरुले पुनःबहालीको माग गर्दै आमरण अनशन जारी राखेका छन् ।

गत कात्तिक १ गतेदेखि हटाइएका ज्यालादारी कर्मचारीले पुनःबहालीको माग गर्दै आए पनि सिँचाइ विभाग र सम्बन्धित निकायले सुनुवाइ नगरेको भन्दै अनसन सुरु गरेका हुन् । लामो समयदेखि कार्यरत सो पम्पका ३२ कर्मचारीलाई उमेरको हद देखाई हटाइएको थियो ।

ज्यालादारीमा कार्यरत र हटाइएका कर्मचारीसम्मिलित संघर्ष समिति सिँचाइ विभाग र कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजनमा समेत पाँचबुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै यही मंसिर ११ गतेदेखि आन्दोलनमा उत्रेका हुन् ।

ज्ञापनपत्रमा श्रमिकको कामलाई निरन्तरता दिनुपर्ने, १० वर्षदेखि ३० वर्षसम्म निरन्तर काम गरेका दक्ष श्रमिकलाई उमेर हद लगाई हटाउँदा एक मुष्ट एक वर्ष बराबर दुई महिनाको खाइपाई आएको तलब रकम उपलब्ध गराइनुपर्ने माग गरिएको छ । यसैगरी संवेदनशील क्षेत्रमा काम गर्ने श्रमिकको जीवन बिमा तथा दुर्घटना बिमासम्बन्धी सम्झौता कार्यान्वयन हुनुपर्ने र कर्मचारीको तलबअनुसार दैनिक ज्यालादारीलाई पनि पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

कर्मचारी लामो समयदेखि आन्दोलनमा उत्रेपछि कार्यालयका कामकाज प्रभावित भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment