+
+

‘झापा, मोरङ र सुनसरी : बेग्लै प्रदेश बनाऔं’

राज्य पुनःसंरचनाको सीमांकनका सन्दर्भमा तराईका ६ जिल्ला झापा, मोरंग, सुनसरी, चितवन, कैलाली र कञ्चनपुर बढी विवादास्पद देखिएका छन । नेपालको समग्र राजनीति, अर्थतन्त्र र यातायात प्रणालीमा निक्कै ठूलो रणनीतिक महत्व राख्ने यी जिल्लामा प्रदेश रचनाको बहस, आन्दोलन र मागदाबी प्रारम्भदेखि नै खप्टिएका (ओभरल्याप भएका) थिए ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७१ पुष २४ गते १२:५७

राज्य पुनःसंरचनाको सीमांकनका सन्दर्भमा तराईका ६ जिल्ला झापा, मोरंग, सुनसरी, चितवन, कैलाली र कञ्चनपुर बढी विवादास्पद देखिएका छन् । नेपालको समग्र राजनीति, अर्थतन्त्र र यातायात प्रणालीमा निक्कै ठूलो रणनीतिक महत्व राख्ने यी जिल्लामा प्रदेश रचनाको बहस, आन्दोलन र मागदाबी प्रारम्भदेखि नै खप्टिएका (ओभरल्याप भएका) थिए ।

Jhapa Morong Sunsariराजनीतिक उपरीसंरचनामा आ-आफ्नो स्वार्थ मुताविक यी जिल्लाहरुको स्थितिको विश्लेषण गर्ने गरिएता पनि यहाँका बासिन्दाहरुले बहसमा सार्थक सहभागिता जनाउन पाएका छैनन् । राज्य पुनःसंरचनाको बहसमा आफू बसेको भूभाग कुन प्रदेशमा पर्ने हो, कुन प्रदेशमा पर्दा राम्रो हुने हो भन्ने चासो स्थानीय बासिन्दालाई हुन्छ नै । यस पंक्तिकारको जन्म, कर्म र बसोबासको क्षेत्र यिनैमध्येका तीन जिल्ला झापा, मोरंग, सुनसरीसँग जोडिएको हुँदा केही चर्चा गर्ने प्रयास गरेको छु ।

अवस्थितिः

damber-khatiwada
डम्बर खतिवडा

नेपालमा चितवनदेखि पूर्वका जिल्लाहरू पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापालाई पूर्वी तराई भन्ने गरिन्छ । यो भूभाग समुन्द्र सतहको ६० मिटरदेखि ३०० मिटरसम्मको उचाइमा छ । त्यसमध्ये पनि कोशी र मेची नदी बीचको भूभाग सुदूर पूर्वी तराई हो ।

आधुनिक नेपालको निर्माण हुनुअघि यस क्षेत्रको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अन्तक्रिर्या कोशी पश्चिमसंग कम र मेची पूर्वसंग बढी थियो । सुगौली सन्धीपछि टिष्टा र मेचीबीचको भूभाग भारततिर पर्‍यो भने मेची र कोशी बीचको भूभाग नेपालतिर । यसरी प्राचीनकालदेखि नै गहिरो भावनात्मक अन्तर्सम्बन्धमा बाँधिएका यी भूक्षेत्र दुई देशमा बाँडिन पुगे ।

हाल झापाको १६०६, मोरङको १८५५ र सुनसरी जिल्लाको १२५७ वर्ग किलोमिटर गरी सुदुरपूर्वी तराईको कुल क्षेत्रफल ४७१८ वर्ग किलोमिटर छ ।

यस क्षेत्रमा ३७० वर्गकिलोमिटर चुरेक्षेत्र पर्दछ जुन कुल भूभागको करिब ८ प्रतिशत भूभाग मात्र हो । सुनसरीका बराहक्षेत्र, विष्णुपादुका, पाँचकन्या र धरान, मोरङका सिंहदेवी, वारङ्गी, याङसिला, भोगटेनी, रमितेखोला, पाटीगाउँ, टाँडी, जाँते, लेटाङ, केराबारी, मधुमल्लालगायत झापाका केही गाविसहरूको २२८ हेक्टर गरी करिब १९८ वर्गकिलोमिटर पहाडी भूभाग छ, जुन तीन जिल्लाको कुल भूभागको करिब ४.२० प्रतिशत भूभाग मात्र हो ।

भारतीय ७ वटा प्रान्तहरू र केन्द्रशासित प्रदेशहरू (गोवा – ३७०२ वर्गकिलोमिटर, दिल्ली- १४८३ वर्गकिलोमिटर, पान्डीचेरी -४९२ वर्गकिलोमिटर, दद्रा एन्ड नागर हवेली -४९१ वर्गकिलोमिटर, चण्डीगढ -१४४ वर्गकिलोमिटर दामनदीप -१२२ वर्गकिलोमिटर ७. लक्ष्यदीप – ४२ वर्गकिलोमिटर) को भन्दा पूर्वी तराईको क्षेत्रफल बढी छ ।

त्यस्तै अमेरिकी ५० राज्यहरूमध्ये दुई राज्यहरू (कोलम्बिया -१७६ वर्गकिलोमिटर, रोडे आइल्यान्ड – ४००२ वर्गकिलोमिटर ) को भन्दा सुदूर पूर्वी तराईको क्षेत्रफल बढी हुन्छ ।

इतिहास

यस क्षेत्रको इतिहास नेपालको मूल ऐतिहासिक प्रवृतिभन्दा केही फरक छ । सुनसरी जिल्लाको चतरा बजारदेखि करिब १० किलोमिटर उत्तर बराह क्षेत्र र विष्णुपादुका मन्दिर छन् । यससँग जोडिएका कथा, किंवदन्ती, श्रुति र पौराणिक सन्दर्भहरूले बराहक्षेत्र प्राचीन सभ्यतास्थल भएको प्रतीत हुन्छ ।

इतिहासको कुरा गर्ने हो भने पहाडे, मधेसी र थारू यी तीनवटै ठूला समुदाय यो क्षेत्रका लागि ‘बाहिरिया’हरु हुन्, कोचे र मेचे अादिवासी हुन्

बराहपुराणका अनुसार यही स्थानमा बराहरूप विष्णुले पृथ्वीलाई जलमग्न हुनबाट जोगाएका थिए । सप्तकोसी क्षेत्रमा भइरहने ठूल्ठूला जलप्रलयका अवस्थामा मानिसहरूको रक्षा गर्न बराहगणका नायकले गणका सदस्य र परिवारहरूलाई सप्तकोसीका जलमग्न क्षेत्रहरूबाट उद्धार गरी जलप्रकोप नहुने पहाडी क्षेत्रमा लगेको हुनसक्छ ।

बराहसम्यता मूलतः मैदानी सभ्यताको केन्द्रस्थल हो । किनकि सप्तकोसीको स्वभाव र इतिहास हेर्दा यसको जलप्रकोप मूलतः पूर्वी मैदानी भूभागमा नै पर्ने गरेको छ ।

सप्तकोसी नदीलाई कौशिकी नदी पनि भनिन्छ । विश्वमित्रालाई कौशिकी ऋषि भनिन्छ । रामायणकालमा जनकपुर राजधानी भएको मिथिला राज्य थियो । तर, मिथिलाको पूर्वी सिमाना कोशीसम्म मात्रै थियो । मिथिला कोशीबाट मूलतः दक्षिण-पश्चिम फैलिएको राज्य थियो, पूर्व हैन ।

अयोध्याका राजकुमार राम-लक्षण आफ्ना गुरु ऋषि कौशिकीसँगै यस क्षेत्रमा आउँथे । राम-लक्षण सीता स्वयंभवरका लागि शिवधनु भाँच्न जनकपुर जाँदा सुनसरीको रामधुनीमा बास बसी कुशाहाघाटबाट सप्तकोशी तरेर मिथिला प्रवेश गरेका थिए । कोशी तरेपछि मात्र उनीहरुलाई मिथिला प्रवेशमा स्वागत गरिएको थियो ।

महाभारत कालीन सभ्यताका किंवदन्तीहरू पनि सुदुरपूर्वी तराईसँग जोडिन्छन् । पाण्डवहरू वनवास बस्दा बिराट राजाको राज्यक्षेत्रभित्र लुकेका थिए । बिराट राजा मत्स्यवंशी थिए । हालको मोरङ जिल्लाको बिराटनगरदेखि पूर्व बुधनगर भेडियारीमा गरिएको पुरातात्विक उत्खननमा पाइएको भवनको भग्नावशेष नै महाभारत कालीन बिराट राजाको दरबार हो भन्ने गरिएको छ ।

कोशीपूर्व जतिखेर बिराटराज्य थियो, कोशी पश्चिम मगध राज्य थियो । झापाको अर्जुनधारा र किचकबध तथा सुनसरीको कालीन्द्र वन र टेकनपोखरी यसका प्रमाणहरू हुन् । वनबासमा रहँदा भीमले विवाह गरेकी जंगली जातिकी महिला हिडिम्बा सतार कन्या थिइन् भन्ने धेरैको निष्कर्ष छ, जसबाट भीमले घटोत्कच भन्ने छोरा जन्माएका थिए ।

सुदूरपूर्वी तराई आधुनिक कालमा बाहेक इतिहासमा कहिल्यै पनि काठमाण्डौंबाट शासित थिएन । कुनै पनि मध्यतराईका राज्यहरु कोशी तरेर पूर्व गएका थिएनन्

जतिखेर काठमाण्डौं उपत्यकामा किरात राज्य थियो, त्यतिखेर कोसी पूर्वको तराई भूभाग प्रागज्योतिष नामको राज्यको अधीनमा थियो । त्यसका राजा भागदत्त थिए । उनले ज्योतिषपुर (हालको गुवाहाटी) बाट प्रागज्योतिष राज्यको शासन गर्दथे । भागदत्त कौरव महारथी दुर्योधनका साला थिए । प्रागज्योतिषको सिमानाले विदेहलाई छुन्थ्यो । त्यो भनेको सप्तकोसीको सीमाना नै थियो ।

किरातपछि लिच्छवीहरुको शासन आयो, काठमाण्डौंमा । काठमाण्डौमा लिच्छवीहरुको उदयपछि किरातहरु पूर्व भागे । पूर्वी तराईमा लिम्बू राजा माबोहाङको युग शुरु भयो । मानदेवका पालामा नेपालको पूर्वी सीमाना कोशीसम्म मात्रै आएको थियो, कोशीपूर्व तर्न सकेको थिएन ।

मध्यकालमा सिम्रौनगढ राजधानी भएको तिरहुत राज्य बन्यो । तर, त्यसको पनि पूर्वी सीमाना कोशीसम्म मात्र हो । मध्यकालमा केही समय यो क्षेत्र दक्षिणको कुचबिहारबाट शासित भयो, जसको राजधानी कमतापुरमा थियो ।

वि.स. १८३१ मा गोर्खालीहरुले पूर्वका लिम्बु राजाहरुलाई सन्धी गर्न बाध्य पार्नुभन्दा अगाडि यो क्षेत्रमा विजयपुर राज्यका सेन राजाहरुले शासन गर्थे ।

यसले के देखाउँछ भने सुदूरपूर्वी तराई आधुनिक कालमा बाहेक इतिहासमा कहिल्यै पनि काठमाण्डौंबाट शासित थिएन । कुनै पनि मध्यतराईका राज्यहरु कोशी तरेर पूर्व गएका थिएनन् । पूर्वमा लिम्बुराजाहरु शक्तिशाली हुँदा पनि विजयपुर एउटा भिन्नै प्रशासनिक एकाइ रहन्थ्यो ।

पाल्पादेखि टिष्टासम्म सेनवंश फैलिएको अवधिमा पनि कोशी पूर्वलाई कोशी पश्चिमसँग मिसाइएन, बरु मेचीभन्दा पूर्वको भूभागसँग मिसाइयो ।

वर्तमान :

वि.सं. २०६८ को जनगणनाअनुसार सुदूरपूर्वी तराईको जनसंख्या २५, ४१, ५१७ (झापा-८, १२, ६५०, मोरंग-९, ६५, ३७०, सुनसरी-७,६३, ४९७) छ ।

औसत जनसंख्या बृद्धिदरलाई आधार मानी प्रक्षेपण गर्दा यस क्षेत्रको जनसंख्या हाल करिब २९ लाख हुनसक्छ । सन् २०१४ को विश्व जनसङ्ख्या सन्दर्भ विभागले प्रकाशित गरेको विश्वका २०८ वटा देशहरूको जनसङ्ख्या तथ्याङ्कलाई हेर्दा ३० लाख भन्दा कम जनसङ्ख्या भएका देशहरूको सङ्ख्या ७० वटा छन् ।

अमेरिकी राज्यहरुसँग तुलना गर्ने हो भने करिब २१ बटा राज्य ३० लाखभन्दा कम जनसंख्या भएका देखिन्छन् । पूर्वी तराईका यी तीन जिल्लाहरूको समष्टिगत जनघनत्व सन् २००१ मा ४५७ प्रतिवर्गकिलोमिटर थियो भने सन् २०११ मा ५३८ प्रतिवर्ग किलोमिटर पुगेको छ ।

हाल विश्वमा ४०० प्रतिवर्गकिलोमिटर भन्दा बढी जनघनत्व भएका मुलुकहरूको सङ्ख्या १७ वटा मात्र छन् । दक्षिण एसियामा बङ्गलादेश (१०३५ वर्ग किमी) र मालदिभ्स (१०२० वर्ग किमी) उच्च जनघनत्व भएका मुलुकहरू हुन् ।

विश्वका प्रमुख नगरराज्य र ठूला नगरहरूको जनघनत्वभन्दा पूर्वी तराईको जनघनत्व निक्कै कम छ । तर, संसारकै करिब १८० देशहरूको जनघनत्वभन्दा पूर्वीतराईको जनघनत्व बढी हुनेछ । जनघनत्वको स्थिति र प्रवृत्ति विश्लेषण गर्दा सृदुरपूर्वी तराईले आउँदो एक शताब्दीभित्रै नगरराज्यको स्वरूप ग्रहण गर्ने निश्चितप्रायः देखिन्छ ।

बहुजातीय बसोबास

हाल सुदुरपूर्वी तराईमा तीनवटा मुख्य समुदाय छन्, पहाडी, मधेसी र थारु । तर, इतिहासको कुरा गर्ने हो भने यी तीनवटै ठूला समुदाय यो क्षेत्रका लागि ‘बाहिरिया’ हरु हुन् । उत्तरबाट ‘पहाडिया’, दक्षिणबाट ‘देशिया’ (मधेसी ) र कोशी पश्चिमबाट ‘तिरहुतीया'(सप्तरिया) हरु यस क्षेत्रमा आएका थिए ।

यसक्षेत्रका मुख्य आदिबासीहरु ‘कोचे र मेचे’ हुन् । ‘कोचे र मेचे’ शब्द ‘कोशी’ र ‘मेची’ बाट बनेका हुन् । कोशी र मेची नदीबीचको भू-क्षेत्रका बासिन्दा भएकै कारण यिनीहरुलाई अरुले ‘कोचे र मेचे’ संज्ञा दिएका थिए । स्थानीय भाषामा ‘श’ को साटो ‘च’ उच्चारण हुन्छ । तसर्थ कोशीक्षेत्रलाई ‘कोचिला’ भनिन्छ ।

एकथरि थारुहरुले पनि आफूलाई ‘कोचिला’ थारु भन्छन् । तर, सबै थारुहरु कोचिला हैनन् । ‘कोचे र मेचे’ जातिभित्र धिमाल, सतार, राजवंशी, गन्गाई, किसान, ताजपुरिया, मुन्डा, बाँतर, झाँगड, भेडियारी, गडेरी, मल्लाह, केवरथ, बरई, राजभोर, राजधोब, राजधामी, तत्मा आदि जातिहरु पर्दछन् । यी जातिहरु नेपालका यी तीन जिल्लाबाहेक अन्यत्र कतै छैन्न । कि त भारतको मेची र टिष्टाबीचको तराईमा पाइन्छन् । तर यी जातिहरु अहिले असाध्यै अल्पमतमा परिसकेका छन् ।

संघीयताको बहस र बर्चश्वको लडाइँ

नेपालमा संघीयताको बहससँगै यस क्षेत्रमा कयौं अवधारणाहरु खप्टिन पुगेका छन् । लिम्बुवानी अभियन्ताहरु पूर्वी ९ जिल्लाको लिम्बुवान भन्छन् । यी ९ जिल्लाभित्र झापा, मोरङ र सुनसरी जिल्ला पनि पर्दछन् ।

खम्बुवानी अभियन्ताहरु सुनसरी र मोरंगको अधिकांश उत्तरी भूभागलाई खम्बु वा किरातक्षेत्र मान्दछन् ।

मधेस आन्दोलनका मुख्य दुई केन्द्र दक्षिण मोरंग (बिराटनगर) र दक्षिण सुनसरी-इनरुवा) यहीँ पर्दछन् । उनीहरु यी ३ जिल्लालाई कोशी पश्चिमको मधेस क्षेत्रमा मिसाउन चाहन्छन् ।

कांग्रेस-एमालेजस्ता दलहरु यी जिल्लालाई पूर्वका पहाडी प्रदेशसँग मिसाउन चाहन्छन् ।

थारुहरु सिराहा, उदयपुरको केही भाग र सप्तरी समेतलाई यसमा जोडेर पूर्वी थारुवान बनाउन चाहन्छन् ।

कोचे र मेचे जातिहरु भने यी तीन जिल्लाको भिन्नै कोचिला प्रान्त भइदियोस् भन्ने चाहन्छन् । तर, जसरी यी जातिहरु जनसंख्या, राजनीतिक पहुँच र आर्थिक हिसाबले कमजोर छन्, त्यसैगरी उनीहरुको आवाज पनि दबिएको छ । यसरी यी तीन जिल्लामा आज बर्चश्वको लडाइँ भइरहेको छ ।

कता राख्दा के हुन्छ ?

तीन जिल्लालाई पहाडतिर राख्ने हो भने उपेन्द्र यादव र विजय गच्छदारको निर्वाचन क्षेत्र पहाडतिर जान्छ, केपी ओली र कृष्ण सिटौलाको निर्वाचन क्षेत्र मधेसतिर जान्छ ।

यी तीन जिल्ला पहाडतिरको प्रदेशमा राख्ने हो भने उपेन्द्र यादव र विजय गच्छदारजस्ता नेताहरुको निर्वाचनक्षेत्र पनि पहाडी प्रदेशतिर जान्छ । प्रदेश राजनीतिमा उनीहरुको भूमिका बन्न सक्दैन ।

यी तीन जिल्ला मधेसतिर राख्ने हो भने केपी ओली र कृष्ण सिटौलाजस्ता नेताको निर्वाचनक्षेत्र पनि मधेसतिर जान्छ । मधेसको प्रादेशिक राजनीतिमा ओली र सिटौलाको बर्चश्व बन्न सक्दैन ।

यही राजनीतिक स्वार्थ र अन्तरविरोधले तीन जिल्ला विवादको भुवँरीमा फसेका हुन् ।

भविष्य

यी तीन जिल्ला कुन र कस्तो प्रदेशमा राख्दा यहाँका बासिन्दाको भविश्य बढी शान्त, स्थिर, विकासोन्मुख एवं सम्वृद्ध हुन सक्छ भन्ने प्रश्न आज अहम् महत्वको विषय बनेको छ ।

यो पंक्तिकारले निजीरुपमा यसबारे एउटा सर्वेक्षण गरेको थियो । त्यसमा ५ सय ३६ जनाले भाग लिएका थिए । ती मध्ये २६५ जना पहाडीमूलका मानिस र २ सय ७१ जना मधेसी मूलका उत्तरदाता थिए । १ सय ३५ जनाले त फेसबुकबाट आफ्नो धारणा राखेका थिए ।

पहाडी उत्तरदातामध्ये १ सय ४५ अर्थात् ५५ प्रतिशतले यी जिल्लालाई पहाडतिरको प्रदेशमा राख्न चाहेका थिए, जुन कुल सर्वेक्षण संख्याको २७ प्रतिशत मात्रै हो । १ सय १८ जना पहाडी मूलका उत्तरदाताले ३ जिल्लाको भिन्न प्रदेश बनोस् भनेका थिए, जुन पहाडी उत्तरदाताको करिब ४५ प्रतिशत र कुल उत्तरदाताको २२ प्रतिशत हो ।

कुल २ सय ७१ मधेसी उत्तरदातामध्ये १ सय ६५ जनाले झापा मोरङ र सुनसरीलाई मधेसतिरको प्रदेशमा राख्नुपर्ने बताएका थिए, जुन मधेसी उत्तरदाताको ६१ प्रतिशत र कुल उत्तरदाताको ३० प्रतिशत हो ।

पहाडी उत्तरदातामध्ये २ जनाले मात्रै मधेसतिर मिसाए पनि हुने र मधेसी उत्तरदातामध्ये ५ जनाले मात्रै पहाडतिर मिसाए पनि हुने बताएका थिए ।

थारु र आदिवासी मात्रैको संख्या लिँदा उनीहरुमध्ये ९० प्रतिशतले सुनसरी, मोरङ र झापा तीन जिल्लालाई भिन्नै प्रदेश बन्नुुपर्ने उत्तर दिएका थिए ।

तीन जिल्लाको अर्थतन्त्र र राजस्व

यहाँको अर्थतन्त्र र राजस्वको स्थितिबारे कसैले चिन्ता नलिए हुन्छ । यसले आफ्नो प्रदेश सरकार र कर्मचारीतन्त्रलाई सजिलै धान्न सक्छ ।

मेचीपूर्व भारतको सिलीगुडी काठमाण्डौंभन्दा ठूलो अर्थतन्त्र भएको शहर हो, जससँगको आर्थिक अन्तरक्रियाबाट यो प्रदेशले पर्याप्त लाभ उठाउन सक्छ ।

जातीय तथा भाषिक हिसाबले पनि तीव्र संविलयन हुँदै गरेको ‘मेल्टिङ पोट’ हो यो क्षेत्र । क्षेत्रफलमा अलिकति सानो होला, तर सानोपनले नयाँ अवसर दिने छ, त्यो हो नगर-राज्य मोडेलमा विकास गर्ने अवसर । अरु कुनै हिसाबले पनि यो क्षेत्र कमजोर हुँदैन ।

निष्कर्ष :
आफ्नो व्यक्तिगत अनुभव र यो सर्वेक्षण दुबैबाट यो पंक्तिकार तीन जिल्लाको भिन्नै प्रदेश बन्नुपर्ने निष्कर्षमा पुगेको छ ।

यदि पहाडतिर मिसाइए मधेसी जनता र थारुहरुबाट प्रदेश विभाजनको आन्दोलन हुनेछ । मधेसतिर मिसाइए आदिबासी जाति, थारु र पहाडीहरुबाट प्रदेश विभाजनको आन्दोलन हुनेछ ।

दुबै अवस्थामा यो क्षेत्र राजनीतिक रुपले अस्थिर हुनेछ । त्यो अवस्थामा सामुदायिक ध्रुवीकरण झनै बढ्दै जानेछ ।

यो क्षेत्रमा पहिचान जातीय हुने कि नहुने भन्ने कुनै विवाद छैन । वस्तुतः कोचिला शब्द पनि यहाँ जातीय हैन । कोशी नदीकै स्थानीय भाषाको नाम हो । ‘च’ को साटो ‘श’ उच्चारण गर्दा ‘कोचिला’ ‘कोशिला’ हुन्छ, जसको अर्थ हुन्छ कोशी किनारका बासिन्दाहरु । यो नाम कुनै समुदायलाई पनि आपत्तिजनक हुँदैन ।

कोचिलाको साटो बिराट, विजयपुर, पूर्वी तराईजस्ता नामाकरण पनि यहाँ सर्वसम्मत हुन सक्छन् ।

करेक्सन : यसअघिको शीर्षकमा रहेको ‘कोचिला’को  सट्टा  ‘बेग्लै’ लेखिएको छ – सं

(खतिवडा सुनसरीको इटहरी निवासी बुद्धिजीवी हुन् । कुनै पनि दलमा आवद्ध नरहेका खतिवडाको यो व्यक्तिगत विचार हो – सं )

यी समाचार पनि पढ्नुहोस् :

झापालाई मधेसमा गाभ्दा ओली र सिटौलालाई के घाटा ?
पहिचान र पाँच जिल्लासँग एमालेको साइनो

संविधान नबन्नुका कारण : पाँच पद र पाँच जिल्ला

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?