Comments Add Comment

एमाओवादीको जमानत जफत हुनुका ५ कारण

भर्खरै बागलुङमा उपनिर्वाचन भयो । एमाओवादीको चुनावी प्रदर्शन निक्कै कमजोर देखियो । देशको तेस्रो ठूलो वा सम्पूर्ण विपक्षी गठबन्धनको नेतृत्वकर्ता दलको जमानत नै जफत हुने गरी निर्वाचन परिणाम आउनु स्वाभाविक होइन ।

हुनतः यो बिल्कुलै नयाँ कुरा भने हैन । यसअघि भएका कैलाली, बर्दिया र काठमाण्डौंको उपनिर्वाचनमा पनि एमाओवादी उम्मेद्वारहरुको पक्षमा खासै आकर्षण देखिएको थिएन ।

maobadi going down

संसदीय व्यवस्थामा कुनै दल अस्तित्वमा टिकिरहन निर्वाचन नै नजिते पनि झण्डै हाराहारीको जनमतमा देखिन आवश्यक हुन्छ । अनि मात्र त्यो पार्टी भविष्यका लागि विकल्प हुन सक्छ भन्ने जनविश्वास बनिरहन सक्छ ।

पहिलो संविधानसभामा अधिकांश कांग्रेस, एमाले उम्मेद्वारहरु पराजित भए पनि उनीहरुले देशभरिका सबै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी मत पाएका थिए । तर, दोस्रो संविधानसभायता एमाओवादीले पाएको जनमतको ढाँचा फरक छ । यसका उम्मेद्वारले एकदमै न्यूनतम मत पाउन थालेका छन । यसले एमाओवादी पार्टीको चुनावी भविष्यलाई संदिग्ध बनाइदिन्छ । यो प्रवृतिमा सुधार नआएमा अर्को निर्वाचनसम्म टिकिरहन पनि एमाओवादीलाई अप्ठ्यारो पर्न सक्छ ।

झटट् हेर्दा यो प्रचण्ड-बाबुराम नेतृत्वको ‘ए’ माओवादी पार्टीको मात्र समस्या देखिन सक्छ । तर, वास्तविकता त्यस्तो होइन । यो समग्र माओवादी आन्दोलनप्रतिकै विकर्षणको परिणाम हो । एमाओवादीको साटो मोहन बैध, नेत्रविक्रम चन्द, मातृका यादव वा मणि थापा नेतृत्वकै, बी, सी, डी, वा इ माओवादीले चुनावमा भाग लिएको भए पनि नतिजा यसभन्दा राम्रो हुने आधार प्रष्ट छैनन् ।

एमाओवादीको चुनावी प्रदर्शन यस्तै रहेमा यो पार्टीको पुनरुत्थान हुन दशकौं लाग्न सक्छ वा पार्टी नै विघठनतिर जाने सम्भावना पनि रहन्छ । त्यति ठूलो संघर्ष र वलिदानबाट शान्तिपूर्ण बाटोमा आएको पार्टी, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीकरणको युग प्रारम्भ गर्न योगदान गरेको जस पाएको पार्टी, पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा बहुमत पाएको र समग्रमा पहिलो भएको पार्टी, त्यसपछि अनेकन सानातिना समूह र व्यक्तित्वलाई आफूमा प्रवेश गराएको पार्टी, एक दशक नबित्दै किन यति कमजोर भयो ? यी प्रश्न माओवादीका लागि मात्र नभई राजनीति गर्ने र राजनीतिमा रुचि राख्ने सबैका लागि शिक्षाप्रद हुन सक्छन् ।

माओवादीहरु दिनानुदिन कमजोर हुँदै जानुका पछाडि मूलतः पाँचवटा कारण छन् :

माओवाद-लोकतन्त्र विरोधाभाषः

वस्तुतः लोकतन्त्र र माओवादी दर्शन विश्व राजनीतिका सन्दर्भबाट हेर्दा परस्पर विरोधी लाग्छन् । संसारमा माओवादी आन्दोलन कहिँ पनि लोकतन्त्रवादी, बहुलवादी वा बहुदलवादी देखिँदैन । त्यो नयाँ जनवादी, संयुक्त जनवादी अधिनायकत्ववादी, सर्वहारा अधिनायकत्ववादी, एकदलीय र कम्युनवादी नै देखिन्छ । हेगेलको एउटा भनाइ छ, ‘डिफ्रेन्सिया स्पेसिफिका’ । अर्थात् फरक अस्तित्वको विशिष्टता निर्माण गर्न अस्तित्व पनि फरक हुनुपर्छ । सबै समान गुणहरु बोकेर फरक अस्तित्वको निर्माण हुन सक्दैन । सके पनि त्यो दीगो हुँदैन ।

युद्धमा माओवादी पार्टीको विशिष्टता कायम हुनु, तर शान्तिमा नहुनुले माओवादी दर्शनको औचित्य नै युद्धबाट एकदलीय सत्ता स्थापना गर्नु हो, त्यसभन्दा बाहिर उसको सान्दर्भिकता रहँदैन भन्ने हुन सक्छ । हुन तः यो तर्क माओवादीहरुका लागि मात्र हैन, सबै कम्युनिष्टहरुका लागि लागू हुन सक्छ ।

तर, एमालेलगायत अरु कम्युनिष्टहरुले आफूलाई छिटोछिटो लोकतान्त्रिक धारमा ढाले । तर, माओवादीले सकेन, वा ढीलो गर्‍यो वा त्यसो गर्नु पर्छ कि पर्दैन भन्ने विषयमा नै उनीहरुमा अलमल रहृयो । यो अलमल अन्ततः सिंगो माओवादी आन्दोलनकै लागि आत्मघाती सावित भयो ।

विभाजनको प्रभाव :

माओवादीहरुलाई मात्र हैन, नेपालका राजनीतिक दलहरुलाई पनि फुट फापेको छैन । कांग्रेस, एमाले फुटबाट गुज्रेर त्यसको क्षति ब्यहोरेर चेतिसकेका दलहरु हुन् । एकतावद्ध भएको समयमा २०५१ तिर राप्रपा नै पनि निक्कै शक्तिशाली भइसकेको थियो । फुटपछि त्यो दल निरन्तर कमजोर भएर गयो । मधेसवादी धार एकताबद्ध हुने हो भने उनीहरुको चुनावी स्थितिमा तुरुन्तै सुधार हुने सम्भावना अहिले पनि छ ।

नेपाली राजनीतिमा के देखिन्छ भने विभाजनपछि कि त फरक धार निर्माण गर्न सक्नुपर्छ, नसके सानातिना मतभेद, दुःख र पीडा सहेर नै पनि एउटै पार्टीमा चामि्रएर, दामि्रएर बस्नु राम्रो हुन्छ । नत्र एकसाथ सबैको राजनीतिक भविष्य संकटमा पर्न सक्छ ।

प्रचण्ड-बाबुरामको ओरालो यात्रापछि अरु माओवादी समूहले खुच्चिङ गरेर रमाइलो मनाउनु मूर्खताबाहेक अर्थोक केही हैन । अरु समूहले माओवादी आन्दोलनलाई पुनजागिर््रत गर्ने संभावना निक्कै न्यून छ । उनीहरुले फरक कार्यदिशा अवलम्बन गर्न सकेका छैनन् । तसर्थ उनीहरुको फरक अस्तित्व बलशाली होला भन्न सकिन्न । तर, विभाजनपछि एमाओवादी चुनाव जित्ने ठूलो पार्टी बन्न सक्दैन भन्ने मनोविज्ञान मतदातामा तयार भइसकेको थियो ।

पूर्व कार्यकर्ताको प्रतिशोध :

माओवादी आन्दोलनको विश्लेषण गर्नेहरुले एकदमै कम ध्यान दिएको पक्ष हो यो । तर, माओवादी कमजोर हुनुमा यो पक्ष निक्कै बलशाली छ । जनयुद्धकालमा माओवादी आन्दोलनले युवाहरुको ठूलो पंक्तिलाई लपेट्यो । कतिले पढाइ छाडे, कतिले घरबार छोडे । कतिका आफन्त मरे । बेपत्ता भए । कति अझै आफैं घाइते छन् ।

उनीहरुको दुर्दशा शान्ति प्रक्रियासंगै शुरुवात भयो । बाहिर वाइसीएल बलियो बनाउन जनसेनाको एउटा ठूलो पंक्ति क्यान्टोनमेन्टमा गएन । उनीहरुले कुनै आर्थिक सहयोग पाएनन् । क्यान्टोनमेन्टबाटै लडाकूको एउटा पंक्ति अयोग्य भनेर निकालियो । उनीहरुले पनि खासै सहयोग पाएनन् । बाँकी मध्ये ठूलो संख्या थोरै पैसा लिएर बाहिरियो । सानो संख्या मात्र सेना समायोजनमा गयो ।

क्यान्टोनमेन्टमा बस्दा पनि उनीहरुको तलबको एउटा हिस्सा पार्टीले काटेर लान्थ्यो । यसरी क्रान्तिका खातिर व्यक्तिगत पारिवारिक जीवन व्यवस्थापन नै गर्न नसक्ने बन्न पुगेका पूर्वमाओवादी कार्यकर्ताको ठूलो हिस्सा एमाओवादी नेतृत्वप्रति प्रतिशोधको भावना राख्छ । उनीहरु आफ्नै पार्टीलाई हराएर नेतृत्वको मेख मार्न, शान झार्न चाहन्छन् ।

आफू नाङ्गोबुङ्गो हुनु परेको दोष नेतालाई दिन्छन, नेताहरुलाई आफूहरु जस्तै नाङ्गोबुङ्गा बनाइदिने बदलाको भावनाबाट काम गर्छन् । औषत यस्ता कार्यकर्ता र उनीहरुले कांग्रेसलाई भोट दिँदै आएका छन् ।

पहिचानको मुद्दा : मार्क्सिस्ष्ट भर्सेज फ्रेरीयन एप्रोच

माओवादी नेता कार्यकर्ताले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ आदि कम्युनिष्ट नेताहरुकै धेरै रचना पढ्नु, त्यसबाट प्रभावित हुन र लागू गर्न खोज्नु अस्वभाविक हैन । तर, पहिचानको मुद्दामा उनीहरुको मार्क्सिष्ट एप्रोच आत्मघाती भयो ।

मार्क्सवादी शिक्षामा पीडक वर्ग वा समुदायलाई तीव्र निन्दा गरिन्छ । शोषकको जति बढी भण्डाफोर गर्न सक्यो, त्यति नै शोषितहरु बलशाली र संगठित हुन सक्छन् भन्ने गरिन्छ । तर, पहिचानको मुद्दामा त्यस्तो निन्दा र भण्डाफोरलाई नेपालको खस आर्य समाजले आफूविरुद्धको ठूलो षयडन्त्रका रुपमा बुझ्यो, जसले माओवादी विरुद्ध प्रतिसंगठन निर्माण गर्‍यो तर त्यही स्तरमा शोषित समुदायमा जागरण थिएन । अधिकांश आदिवासी जनजाति समूहले आज पनि पहिचानको महत्वलाई हृदयदेखि नै अनुभूत गर्न सकेका छैनन् ।

मार्क्र्सको ‘डाइलेक्टिकल’ प्रारुपको विनिर्माण पाउलो प|mेरीले ‘डाइलजिकल’ मोडेलमा गरेका छन् । यसमा प|mेरी के भन्छन् भने यदि उत्पीडित समुदाय ‘इम्पावर्ड’ छैन भने पीडक समूहप्रतिको भण्डाफोर प्रत्युत्पादक हुन सक्छ । शक्ति कहिल्यै शून्यमा बस्दैन । शक्ति लिनुपर्ने समुदाय शक्ति लिन तयार छैन भने शक्ति दिन चाहेर पनि दिनुपर्ने समुदायले दिन सक्दैन ।

उदाहरणका लागि बाग्लुङका मगरहरुलाई मगरात चाहिएको छैन भने त्यो प्रचण्ड र बाबुरामले दिन चाहेर वा कांग्रेस एमालेले दिन चाहेर पनि दिन सक्दैनन् ।

फ्रेरीको ‘डाइलजिकल’ मोडेलमा पीडक समुदायमा तीव्र आक्रोश जन्माउनु भन्दा प्रतिवर्चश्वद्वारा उनीहरुमा सहानुभूतिको भावना निर्माण गर्नु क्रान्तिका लागि बढी फाइदाजनक हुन्छ ।

संभवतः नेपालका पहिचानवादीहरुको रणनीति अब मार्क्सिष्ट भर्सेज फ्रेरी मोडेल हुनुपर्छ । तर, माओवादीले यो कुरा बुझेनन् । उनीहरुले खसआर्य समाजलाई पनि चिढ्याए । जनजाति समुदाय पनि उनीहरुको पक्षमा हुन सकेन ।

नवीन वर्गको जन्म :

कम्युनिष्ट आन्दोलनले विश्वव्यापीरुपमा नै क्रान्तिकालमा पार्टी पंक्तिभित्र समानताको भावना विस्तार गर्छ । नेतृत्व समूहलाई निजी सम्पतिप्रति मोह नभएका त्यागी र बलिदानीहरुको समूहका रुपमा आदर्शीकरण गर्छ । यो भावनामा बगेर कार्यकर्ता र समर्थक परिवारले धेरै चिजहरु, यहाँसम्म कि पारिवारिक निजी धनसम्पति समेत पार्टीमा होम्छन् । जब कम्युनिष्ट पार्टी सत्तामा पुग्छ, नेता र कार्यकर्ताको बर्ग फरक भइसकेको हुन्छ । नेता नयाँ बुर्जुवा जस्ता देखिन थाल्छन् र कार्यकर्ता नयाँ सर्वहारा । यस्ता नेताहरुको समूहलाई रुसी भाषामा ‘न्यूमेन क्लातुरा’ भनिन्थ्यो ।

अंग्रेजीमा ‘न्यू क्लास’ हुँदै नेपालीमा त्यसलाई ‘नवीन वर्ग’ भन्न सकिन्छ । आज धेरै माओवादी कार्यकर्तालाई प्रचण्डको लाजिम्पाट निवास नयाँ दरबारजस्तो लाग्छ । उनीहरु त्यसमा क्रान्तिकालमा गुमेका आफ्ना झुप्राहरुको कुलयोग देख्छन् ।

नाम खुलाउन चाहन्न । केही समय अगाडि यो पंक्तिकारसँग एमाओवादीका माथिल्लो तहकै एक नेताले ‘देशमन्ड टुटु’ को क्रिश्चियन मेसिनरीसम्बन्धी ‘कोटेसन’ लाई माओवादीकरण गर्दै भनेका थिए ‘जनयुद्ध शुरुवात हुनुअघि हाम्रो आफ्नै घर थियो, कमरेड प्रचण्ड कम्युनिष्ट घोषणापत्र लिएर आए । हाम्रा हातमा घोषणापत्र राखिदँदै क्रान्तिका लागि सपथ गराए । हामीले लालझण्डा सामू मुठठी कसेर आँखा चिम्लिएर क्रान्तिको सपथ लियौं । अहिले आँखा उघारेर हेर्दा कमरेड प्रचण्डहरुसँग घर छ र हाम्रो हातमा कम्युनिष्ट घोषणापत्र’ ।

वस्तुतः यो एमाओवादीको मात्र हैन, संसारभरिकै कम्युनिष्टहरुको नियति हो । एमालेमा मदन भण्डारीले ठूलो दुर्घटना हुन नदिइकनै यो समस्या व्यवस्थापन गरे, पूर्णकालीन कार्यकर्ताहरुको अवधारणा हटाएर र त्यसलाई सीमितीकरण गरेर । प्रचण्ड यहाँनेर पनि चुके ।
यतिखेर एमाओवादी पार्टीभित्रै वर्गसंघर्षको भावना तीव्र छ, त्यसले बाहिरको बर्ग संघर्षको कसरी नेतृत्व गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डम्बर खतिवडा

मोफसलमा बसेर राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा नयाँशक्ति पार्टीमा आवद्ध छन् ।

ट्रेन्डिङ

Advertisment