Comments Add Comment

नेपाली युवामा कोरियाको आकर्षण घट्यो

eps (22)
६ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहाने युवाहरुको पहिलो रोजाइमा पर्दै आएको कोरियामा यस वर्ष आकर्षण घटेको छ । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम भर्नेहरुको संख्या १७.६२ प्रतिशतले घटेपछि यस्तो देखिएको हो ।

यस वर्ष ५१ हजार ४ सय ९९ जना युवाले कोरियन भाषा परिक्षाका लागि आवेदन फारम भरेका छन् । जबकी अघिल्लो वर्षको परीक्षाका लागि ६२ हजार ५ सय १४ जनाले आवेदन दिएका थिए ।

जेठ ३० र ३१ गते हुन लागेको भाषा परिक्षाका लागि वैशाख ३ गतेदेखि ६ गतेसम्म आवेदन खुलाइएको थियो । अघिल्लो वर्ष भन्दा यसवर्ष करिव ११ हजार आवेदक घटेका छन् ।

इपिएस कोरिया शाखाका प्रमुख डिल्ली वास्तोला कोरियामा यूवाहरुको आकर्षण घटेको मान्न तयार छैनन् । यस पटक आवेदन घट्नुमा तीनवटा मूख्य कारणहरु रहेको उनको अनुमान छ ।

पहिलो कारणमा ११ र १२ कक्षाको परीक्षा यही महिनामा पर्नु रहेको छ भने दोस्रो कारणमा शिक्षक सेवा आयोगले यही वर्ष ठूलो संख्यामा शिक्षकहरू माग्नु रहेको छ । त्यस्तै, तेस्रो कारणमा भाषा परीक्षा २/३ महिना अगाडि सर्दा आवश्यक तयारी पुरा नहुने भएपछि आवेदन नभरिएको हुनसक्छ ।

कुल आवेदनमध्ये महिलाको संख्या ८ देखि १० प्रतिशतको हाराहारीमा रहने बास्तोलाले बताए । कोरियाले महिला कामदारलाई प्राथमिकतामा नराख्ने भएपछि आकर्षण कम देखिएको हो ।

यसपटकको भाषा परीक्षामा ७ हजार १ सय जनालाई पास गराउने वास्तोलाले बताए । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय जना र कृषि तथा पशुपालनमा २ हजार २ सय जना रहनेछन् ।

सरकारले काठमाडौं उपत्यकामा ५ ठाउँबाट र उपत्यका बाहिर ५ स्थानबाट आवेदन संकलन गरेको थियो । विगतका वर्षमा आवेदकको निकै चाप देखिएपछि  सरकारले यस वर्ष तीनवटा आवेदन संकलन केन्द्र थप गरेको थियो ।

काठमाडौं उपत्यकामा दुईवटा र उपत्यका बाहिर जनकपुरमा केन्द्र थप गरिएको हो । उपत्यकाको नेपाल वेद विद्याश्रम संस्कृत मावी वनकाली, गौशाला, काठमाडौं भ्याली उच्च मावी महाराजगञ्ज, ल्याबरोटरी उच्च मावी कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोवाटो र च्यास फृुटबल मैदानबाट फारम भर्ने व्यवस्था मिलाइएको थियो ।

राजधानी बाहिर धरान, जनकपुर, बुटवल, पोखरा र डढेलुधुराबाट फारम भर्ने व्यवस्था मिलाइएको थियो । केन्द्र थपेपछि यस वर्ष आवेदकहरुले सहज रुपमा फारम भर्न पाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment