Comments Add Comment

लोकतन्त्रपछि काम खोज्दै साढे ३० लाख युवा विदेशिए

११ वैशाख, काठमाडौं । ०६२/६३ को दोस्रो जनआन्दोलनपछि काम खोज्दै साढे ३० लाख बढी नेपाली युवा विदेशिएका छन् । देशमा निकै ठूलो राजनीतिक परिवर्तन भए पनि स्वदेशमै रोजगारीको अवसर नपाउँदा यति ठूलो जनशक्ति विदेशिन बाध्य भएको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

लोकतन्त्र स्थापनापछि विदेशिनेको संख्या कूल विदेशिने नेपालीको संख्याको ८० प्रतिशत भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष ०६३/०६४ देखि चालू आर्थिक वर्षको फागुन महिनासम्म ३० लाख ५५ हजार ८ सय २१ युवा विदेशिएका छन् ।

स्वदेशमै रोजगारीको अवसर सिर्जना नहुँदा युवाहरु विदेशिन बाध्य भएको बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले अनलाइनखबरलाई बताए ।

हरेक वर्ष श्रम बजारमा साढे चार युवा प्रवेश गर्छन् । तर, देशभित्र एक लाख युवालाई पनि रोजगारीको अवसर सिर्जना हुन सकेको छैन

‘स्वदेशमा रोजगारी नपाएपछि युवाहरु विदेशिएका हुन्, माओवादी द्वन्द्वका बेलामा धेरै मान्छेहरु विदेशिएका थिए । तर, त्यसबेलाको रेकर्ड राखिएको छैन,’ तामाङले भने- ‘अहिले पनि विदेशबाट फर्किएकाहरुको तथ्यांक सरकारसँग छैन ।’

देशमा लामो समयसम्म रहेको राजनीतिक अस्थिरता, ऊर्जा संकट र श्रम विवाद लगायतले औद्योगिक वातावरण प्रभावित भएको छ । यस्तो अवस्थामा नयाँ लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने पुराना उद्योगहरु बन्द हुने क्रम बढ्दो छ ।

हरेक वर्ष श्रम बजारमा साढे चार युवा प्रवेश गर्छन् । तर, देशभित्र एक लाख युवालाई पनि रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । त्यसैले रोजगारीका अवसर खोज्दै युवाहरु विदेशिनु परेको हो ।

मलेसियामा मात्रै १० लाख

लोकतन्त्र आएपछि रोजगारीका लागि मलेसियामा मात्रै १० लाख ३ हजार १ सय ३३ युवा गएको विभागको तथ्यांकमा उल्लेख छ ।

धेरै हदसम्म नेपाल र मलेसियाको हावापानी मिल्ने र बाहिरको काम कमैमात्र गर्नुपर्ने भएपछि नेपाली कामदारहरु मलेसियाप्रति आकषिर्त भएको बताइन्छ । पछिल्लो समय मलेसियाले न्यूनतम पारिश्रमिक समेत तोकेको छ ।

अरबको भूमिमा दशौं लाख

लोकतन्त्र आएपछि अरबको तातो हावामा काम गर्ने नेपालीको अवस्था भयावह छ । कतारमा मात्रै ८ लाख ३ हजार १ सय ८० नेपालीहरु काम गरिरहेका छन् ।

सेक्यूरिटी गार्ड, सेल्सम्यान र सुपरमार्केटका कामका लागि विदेशिने नेपालीहरुको संख्या उच्च छ

त्यसैगरी ५ लाख ९६ हजार ६ सय ८३ नेपालीहरु साउदी अरबका छन् । ३ लाख ८५ हजार १ सय १२ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् ।

त्यस्तै ९७ हजार ९ सय ८१ नेपाली कुवेतका कार्यरत छन् भने ३८ हजार ९ सय २२ जना बहराइनमा कार्यरत छन् । त्यस्तै २५ हजार १ सय ६८ जना नेपाली रोजगारीका लागि ओमान गएको विभागको तथ्यांकमा देखिन्छ ।

पछिल्लो समय विदेशमा सेवा क्षेत्रमा जाने नेपालीहरुको संख्या उच्च रहेको वैदेशिक रोजगार व्यवसायी तामाङले बताए । ‘पछिल्लो समयमा सेक्यूरिटी गार्ड, सेल्सम्यान र सुपरमार्केटका अन्य कामका लागि विदेशिने नेपालीहरुको संख्या उच्च छ ।’ उनले भने ।

आर्थिक वर्ष  विदेशिने संख्या
२०६३/०६४ २,०४,५३३
२०६४/०६५ २,४९,०५१
२०६५/०६६ २,१९,६६५
२०६६/०६७ २,९४,०९४
२०६७/०६८ ३,५४,७१६
२०६८/०६९ ३,८४,६६५
२०६९/०७० ४,५३,५४३
 २०७०/७१ ५,२७,८१४
२०७१/०७२ (फागुनसम्म) ३,६७,७४०
जम्मा ३०,५५,८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment