Comments Add Comment

हिमपहिरो र नदी थुनिएको ठाउँ खोज्दै वामदेव धापाखेलमा

२० वैशाख, काठमाडौं । उद्दार र राहतमा जति खटे पनि आलोचनाको वर्षा भइरहेका बेला उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम आइतवार सुटुक्क ललितपुरको धापाखेलस्थित इसिमोडको कार्यालयमा पुगे ।

Bamdev-Gautam

उपप्रधानमन्त्रीसमेत रहेका गौतमले त्यहाँ इसिमोडका विज्ञ र वैज्ञानिकहरुसँग भूकम्पपछि कहाँ-कहाँ पहिरो गयो ? कहाँ नदी थुनिएका छन् र उच्च हिमाली क्षेत्रका हिमतालहरु फुट्ने खतरा छ कि छैन ? यस्तै प्रश्न गरे ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका विज्ञहरुले भू- उपग्रहबाट लिइएका तस्वीर तथा भूकम्प प्रभावित क्षेत्रहरुको अवस्थाका बारेमा उनलाई सचित्र वर्णन गरे ।

विज्ञहरुको ब्रिफिङ सुनेपछि अलिकति राहत महशुस गरेका गौतमले भने-अब तपाईहरु हामीलाई सघाउनुस, गृहमन्त्रालयको एउटा अंग बनेर हामीलाई प्राविधिक सहयोग गर्नुस् ।

सरकारको आग्रहपछि इसिमोडले गृहमन्त्रालयको एउटा अंगकै रुपमा काम गर्ने र राहत तथा उद्दारका लागि प्राविधिक पक्षको जानकारी दिएर पूर्ण रुपमा सघाउने निर्णय गरेको छ ।

Bamdev-Gautam-in-ICIMOD

‘हामी भूकम्पपछि कति ठाउँमा पहिरो गइरहेको छ, कति ठाउँमा नदी र खोलाहरु थुनिएका छन्, कुन-कुन गाउँका वस्ती भूकम्प अघि कस्ता थिए र अहिले कस्तो अवस्थामा छन् भनेर वैज्ञानिक डाटा संकलन गर्दैछौं’ इसिमोडका डाइरेक्टर वसन्त श्रेष्ठले भने ‘केही संकलित सूचना सरकारलाई दिइसकेका छौं ।’

इसिमोडले भू-उपग्रहका माध्यमबाट लिएको तस्वीर र सूचनाका आधारमा तत्काल राहत तथा उद्दारको काम अघि बढाउन सरकारलाई सघाउने गृहमन्त्री गौतमले बताए ।

गौतमले एक वर्षभित्रमा ठूला भवन र विकास संरचना बाहेक भूकम्पबाट ध्वस्त भएका अन्य सबै संरचना पुनःनिर्माण गरिसक्ने लक्ष्य राखिएको समेत बताए ।

उनका अनुसार पहिलो प्राथमिकता जनताका भत्किएका घर, विद्यालय र पुरातात्विक महत्वका संरचनाहरुको पुनःनिर्माणमा दिइने छ । ‘एक वर्षमा हामीले नयाँ संरचना बनाइसक्नुपर्छ’ उनले इसिमोडका पदाधिकारीहरुसँग भने ।

गौतमले कतिपय विकट हिमाली तथा पहाडी गाउँहरुको पहिचान नै हुन नसकेकाले उद्दार र राहतका लागि इसिमोडको बैज्ञानिक सूचना प्रणालीको सहयोग लिन खोजिएको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment