Comments Add Comment

भूकम्प पीडितलाई रौतहटबाट सहयोग जारी

गौतम श्रेष्ठ
२२ वैशाख, गौर । भूकम्प पीडितहरुलाई रौतहटका विभिन्न क्षेत्रबाट ४० लाख भन्दा बढी राहत पठाइएको छ भने २ लाख ३४ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा राखिएको छ ।

Rautahat-Rahat

  • नुवाकोटमा राहत सामग्री हस्तान्तरण गर्दै रौतहटको टोली

पहाडी भेगमा विपत परेका बेला तराई-मधेसका जनताले गरेको सहयोगले भौगोलिक अवस्था फरक भए पनि नेपाली मन सबैसँग रहेको प्रष्ट पारेको छ ।

विभिन्न संघसंस्था र व्यक्तिगत पहलमा दैनिकरुपमा रौतहटबाट राहत बोकेका ट्रकहरु भूकम्प प्रभावित क्षेत्रमा जाने गरेका छन् । खाद्यान्न लगायतका ति राहत सामग्रीहरु भूकम्प प्रभावित सिन्धुपाल्चोक, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, काठमाडौं, काभ्रे, दोलखा, मकवानपुर सिन्धुली लगायतका जिल्लामा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

चामल, च्यूरा, दाल, चाउचाउ, पानी, औषधि, चिनी, त्रिपाल तथा कम्बल लगायतका सामाग्रीहरु वितरण गरिएको समेत उनले बताए । विपदका बेला संकलन गरिएका राहत सामग्रीहरु जिल्ला प्रशासनलाई जानकारी गराएर अन्यत्र पठाइएकोले एकै स्थानमा राहत नदोहोरिएको प्रशासनको दावी छ ।

Rautahat-Rahat

  • भूकम्प प्रभावित क्षेत्रमा पठाउनका लागि रौतहटमा संकलित राहत

उद्योग वाणिज्य संघ रौतहट, चन्द्रपुर उद्योग वाणिज्य संघ, राजदेवी एफएम, मारवाडी सेवा समिति, विभिन्न मदरसाहरु, संघसंस्था तथा विद्यार्थी समूहहरुले राहत संकलन गरेका छन् ।

सबैभन्दा पहिले उद्योग वाणिज्य संघ रौतहटले सात लाख बराबरको राहत सामग्री गोरखामा बाँडेको थियो । दुई दिन अघि मात्र राजदेवी एफएम ले पनि ३ लाख बराबरको सामाग्री नुवाकोटमा वितरण गरेको छ । यसैगरी जमिते उलमाए नेपाल संस्थाले पनि सोमवार राहत सामग्री रसुवा पठाएको छ ।

राहत सामग्री बाहेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा पनि व्यक्तिगत र संस्थागत रुपमा सहयोग प्रदान गरिएको छ । विगत चार दिनमा राहत कोषको बैंक खातामा २ लाख ३४ हजार रुपैंया जम्मा गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment