+
+

एकात्मक बेलायत अब संघीयतातिर ढल्किँदै

वेलायती संसदका लागि स्कटलैण्डमा ५९ सीट छन् । ती मध्ये ५६ सीट एसएनपीले जितेको छ । यही सीटका कारण यो दल देशकै तेस्रो ठूलो दल बन्न पुगेको छ । तीन ठूला राष्ट्रिय दलहरु कन्जर्भेटिभ, लेबर र लिबरल डेमोक्रेट्सले स्कटल्याण्डमा १/१ सीटमात्रै हात पारेका छन् ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७२ वैशाख २८ गते २०:१५

‘आज म भावविभोर भएको छु । मेरो देश पनि विश्वको एउटा देश, मेरो राष्ट्रियता पनि विश्वको एउटा राष्ट्रियता हुन सक्ने रहेछ । बितेका ३०० वर्षमा यो कुरा मैले पहिलोपटक बुझें । मैले आजसम्म एसएनपीलाई कहिल्यै भोट दिइँन, तर आज ‘एस भोटिङ’ गरेको छु । यतिखेर मेरो शरीर विगतको पश्चाताप र आजको खुशीले एकसाथ कम्पित भएको छ ।’

उपरोक्त भनाइ एक स्कटिस मतदाताको हो । तर, ७ मे २०१५ को आम निर्वाचनको हैन, १८ सेक्टेबर २०१४ मा भएको जनमत संग्रहमा ‘एस भोटिङ’ गर्नुभन्दा अघिको हो ।

जनमत संग्रहमा ‘एस भोटिङ’ को अर्थ स्कटलैण्ड ब्रिटेनबाट छुटि्टनुपर्छ भन्ने हुन्थ्यो । तर, जनमत संग्रहको परिणामले भने ‘एस भोटिङ’ पक्षधरहरुलाई निराश बनाइ दियो । उनीहरुले १६ लाख १७ हजार ९ सय ८९ मत प्राप्त गरेका थिए, जुन ४४.७ प्रतिशत मात्र थियो । जबकि ‘नो भोटिङ’ पक्षधरहरुले २० लाख १ हजार ९ सय ६२ मत प्राप्त गरेका थिए, जुन ५५.३ प्रतिशत थियो । ३ लाख ८३ हजार ९ सय २७ मतान्तरले स्कटलैण्ड स्वतन्त्र देश बन्ने संभावना तुहिएको थियो ।

स्कटल्याण्डको पाँच वर्षे चुनावी नतिजा

जनमत संग्रहमा पराजयपछि बेलायती प्रचलनअनुसार कम्तिमा २० वर्षसम्म त्यो मुद्दा फेरि जनमत संग्रहको विषय बन्न सक्दैन ।

जनमत संग्रहमा स्वतन्त्रता पक्षधरहरुको पराजयपछि स्कटिस नेसनल पार्टी (एसएनपी) का मुख्य नेताहरु एलेक्स सालमण्ड र निकोला स्टुजनको राजनीतिक भविष्यबारे अनेक अनुमानहरु थिए ।

एसएनपीले यसपटकको आम निर्वाचनमा स्वतन्त्रताका लागि हैन, स्कटिस आवाजको सुनुवाइका लागि भनेर भोट माग्यो । वेष्टमिन्ष्टर्समा स्कटिस आवाजको अपमान कसैले गर्न नसकोस् भन्नाका लागि एसएनपीलाई भोट भन्ने नारा दियो ।

जनमत संग्रहमा स्कटल्याण्डको सबैभन्दा ठूलो दल बनेको लेभर पार्टीसहित तीन ठूला राष्ट्रिय दल यो आम निर्वाचनमा एक/एक सीटमा खुम्चिएका छन्, अलग स्कटल्याण्ड माग गर्ने एसएनपीले दिल्लीको केजरीवालले जस्तै जीत हात पारेको छ

वेलायती संसदका लागि स्कटलैण्डमा ५९ सीट छन् । ती मध्ये ५६ सीट एसएनपीले जितेको छ । यही सीटका कारण यो दल देशकै तेस्रो ठूलो दल बन्न पुगेको छ । तीन ठूला राष्ट्रिय दलहरु कन्जर्भेटिभ, लेबर र लिबरल डेमोक्रेट्सले स्कटल्याण्डमा १/१ सीटमात्रै हात पारेका छन् ।

एसएनपीले यो निर्वाचनमा ५० प्रतिशतभन्दा बढी भोट पाएको छ । स्कटलैण्डमा एसएनपीको उदयकै कारण लेबर दल फेरि विपक्षमा धकेलिएको छ । त्यसअघि लेबर त्यहाँको सबैभन्दा ठूलो दल थियो । यस निर्वाचनमा स्कटलैण्डबाट मात्रै लेवरले ४० सीट गुमाएको छ ।

एसएनपी :

एसएनपी सन् १९३४ अप्रिल २० का दिन गठन भएको एउटा सानो पार्टी थियो । सन् १९३५ मा भएको आम चुनावमा यसले पहिलोपटक भाग लियो । तर, शून्य सीट हात लाग्यो । पहिलोपटक चुनावमा भाग लिँदा यो पार्टीले १ प्रतिशत भोट मात्र पाएको थियो ।

सन् १९६६ को चुनावसम्म एसएनपीले कुनै सीट जित्न सकेन । तर, भोट बढाएर ५ प्रतिशत पुर्‍यायो । सन् १९७० को चुनावमा उसले ८ सीट जित्यो र ११ प्रतिशत मत पायो । एलेक्स सालमण्डको पार्टी प्रवेश र उनको प्रभावशाली अभियानकर्मपछि एसएनपीको भोट र सीट दुबै तीव्र गतिले बढ्न थाल्यो ।

सन् १९९० मा सालमण्डले एसएनपीको आन्तरिक महाधिवेशनमा मुख्य नेतृत्वको चुनावमा प्रतिस्पर्धा गरे । उनले आफ्ना प्रतिस्पर्धीलाई भारी मतले हराउँदै एसएनपीको अध्यक्ष पद प्राप्त गरे । यसरी एलेक्स सालमण्डको उदयसँगै स्कटलैण्डको राजनीतिले उलेटफेर गर्न थाल्यो ।
सन् २०१२ को चुनावमा एसएनपी स्कटिस प्रदेशिक संसदको सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि सालमण्ड र क्यामरुन बीच स्कटलैण्डमा जनमत संग्रह गर्ने सम्झौता भएको थियो ।

एलेक्सको कथाः
एलेक्स सालमण्ड कसरी एसएनपीमा लागे भन्ने बारेमा रोचक कथा पढ्न पाइन्छ । उनी भावुक र मेधावी स्वभावका विद्यार्थी थिए । सन् १९५४ डिसेम्बर ३१ का दिन स्कटलैण्डको एउटा गाउँमा कर्मचारी परिवारमा जन्मिएका सालमण्डले स्कटलैण्डको राजधानी शहर इडेनबर्गमा पढेका थिए । इडेनबर्ग अठारौं शताब्दिमा युरोपेली पुनर्जागरण अभियानको केन्द्र थियो ।

Alex_Salmond

अर्थशास्त्रका पिता भनिएका एडम स्मिथले आफ्ना दार्शनिक प्रवचनहरुको शुरुवात् पनि इडेनबर्गबाटै गरेका थिए । इडेनबर्गका स्कुल कलेजमा अहिले पनि सम्मृद्ध बौद्धिक परम्परा छ भनिन्छ ।

सालमण्ड विद्यार्थी हुँदा उनकी एक गर्लफ्रेण्ड थिइन् -डेवी हर्टन । हर्टन इंलैण्डी थिइनन् । उनी पढ्नका लागि लण्डनबाट इडेनबर्ग आएकी थिइन् । एकदिन सालमण्ड र डेबी हर्टनको बीचमा बहस भयो । सालमण्डले भने कि बेलायतले स्कटलैण्डलाई न्याय गर्न सकिरहेको छैन । उसले स्कटलैैण्डको अपमान र शोषण गरिरहेको छ । डेबी हर्टनले भनिन् ‘तिमीलाई त्यस्तो लाग्छ भने त्यो खुनी संगठन एसएनपीमा किन नलागेको त ? तिमी त एसएनपी हुनुपर्ने ।’

नभन्दै सालमण्डले भोलिपल्टै एसएनपीको सदस्यता लिए । यो घटना १९७३ को हो । त्यतिखेरसम्म एसएनपी खासै शक्तिशाली संगठन थिएन । यसको अफिस कहाँ छ भनेर पनि धेरै मान्छेले जान्दैनथे । स्वयं एलेक्स सालमण्डलाई नै एसएनपीको अफिस थाहा थिएन । उनले सोध्दैखोज्दै त्यहाँ पुगेर सदस्यता कटाए । यस घटनापछि डेबी हर्टनसँग उनको मित्रता सधैंका लागि टुट्यो ।

सालमण्डले मोरिया नामकी आफूभन्दा १७ वर्ष जेठी आफूले क्लर्क काम गर्ने अफिसकी हाकिम्नीसँग बिहे गरे । मोरिया एसएनपीकी शुभेच्छुक थिइन् । आफूले जागिर खाएर उनले सालमण्डलाई राजनीति गर्न सहयोग गरिन् । उनीहरुले बालबच्चा पाएनन् । सालमण्ड विद्यार्थी जीवन र जागिर छोडेर स्वतन्त्र स्कटलैण्डको अभियन्ता बनेर निस्किए । एसएनपीबाहेक स्कटिस स्वतन्त्रताको समर्थन गर्ने अरु कुनै पार्टी संगठन थिएन ।

स्कटलैण्डको इतिहास :

Position-of-scotland-in-Great-Britainसन् १७०७ मे १ मा भएको संघसम्बन्धी सन्धीबाट इंग्लैण्ड र स्कटलैण्ड एक भएका थिए । त्यसपछि ग्रेट ब्रिटेन संघमा वेल्स र उत्तरी आयरलैण्ड पनि सामेल भए । यसरी इंगलैण्ड, वेल्स, स्कटलैण्ड र उत्तरी आयरलैण्ड मिलेर वेलायत बनेको ३०० वर्षभन्दा बढी भएको छ ।

यही अबधिमा वेलायत संसारकै सबैभन्दा ठूलो र शक्तिशाली साम्राज्य बन्यो । दोस्रो विश्वयुद्धपछिदेखि भने वेलायतको शक्ति निरन्तर खुम्चिन थाल्यो । विश्वभरि चलेका स्वतन्त्रता र स्वाधीनताका आन्दोलनले विश्वबजार र राजनीतिमा बेलायतको भूमिकालाई संकुचित गर्दै लगे ।

हिंग नभए पनि हिंग बाँधेको टालो भनेझैं आज पनि बेलायत विश्वको छैठौं अर्थतन्त्र भएको देश हो । यसको कुल जनसंख्या ६. ५० करोड छ । स्कटलैण्डले एकीकृत वेलायतको ३२ प्रतिशत भूभाग र ८ प्रतिशत जनसंख्या ओगट्दछ । स्कटलैण्डको क्षेत्रफल करिब ७५ हज्जार बर्ग किमी (नेपालभन्दा करिब आधा सानो) र जनसंख्या करिब ५३ लाख छ । यसरी हेर्दा स्कटलैण्ड स्रोत साधन धेरै र जनसंख्या थोरै भएको प्रान्त हो ।

स्कटलैण्डको दक्षिणमा वेलायत र अरु तीनतिर समुन्द्रले घेरेको छ । एटलान्टिक ओसनमा भएका करिब ७९० वटा स-साना टापुहरु मिलेर बनेको छ स्कटलैण्ड । यसको सबैभन्दा ठूलो शहर ग्लोस्गो हो, जुन विश्वको औद्योगिक विकास र बौद्धिक परम्पराका हिसाबले एउटा उल्लेखनीय शहर हो । दोस्रो शहर इडेनबर्ग हो, जहाँ अहिले प्रादेशिक राजधानी छ । तेस्रो ठूलो शहर अबर्दिन हो, जहाँ युरोपियन युनियनको तेल भण्डारण केन्द्र छ । तसर्थ यसलाई युरोपको तेल राजधानी पनि भनिन्छ । स्कटलैण्डले युरोपियन युनियनको संसदमा ६ सीट पठाउन पाउँछ ।

मिलिवाण्डको संदिग्ध भविष्यः

Ed_Milibandस्कटलैण्डमा नराम्ररी पराजित भए पनि टोरी दलले राष्ट्रियस्तरमा प्रष्ट बहुमत पाएको छ । प्रधानमन्त्री डेविड क्यामरुनको पार्टीले ३३१ सीट हासिल गरेसँगै धेरै विश्लेषकहरु आश्चर्यचकित छन् । प्रतिपक्षी लेवरले भने २३२ सीट मात्र पाएको छ । विपक्षी दल लेवरका नेता इड मिलिवाण्ड निक्कै प्रतिभाशाली भएको हुँदा कन्जर्भेटिभसँग वलियो टक्कर हुने र फेरि हंगपार्लियामेन्ट बन्ने धेरैको विश्लेषण सही सावित भएन ।

निर्वाचन अभियानका क्रममा मिलिवाण्डले आफूलाई समाजवादी बताएका थिए । उनले टोनी ब्लेयर र गोर्डन ब्राउनको भन्दा फरक प्रकारको नयाँ लेवर छवि निर्माण गर्ने प्रयास पनि गरेका थिए । मिलिवाण्डको बामपन्थी छवीलाई वेलायती मतदाताले मन नपराएको कतिको ठहर छ भने कतिले इसाई मतदाताहरुको यहुदीप्रतिको पूर्वाग्रह हुन सक्ने बताएका छन् ।

मिलिवाण्डका आमाबुबा दुबै आप्रवासी यहुदी हुन् । लेवर पार्टीमा मिलिवाण्ड पहिलो यहुदी नेता थिए । पराजयसँगै मिलिवाण्डले लेवर नेतृत्वबाट राजीनामा दिएका छन । यसबाट एउटा आशलाग्दो नेताको उदयक्रम संदिग्ध बन्न पुगेको छ ।

क्यामरुनको प्रतिबद्धता :
टोरी दलले राष्ट्रियस्तरमा प्रष्ट बहुमत पाएको मात्र हैन, ५१ प्रतिशत पपुलर भोट पनि पाएको छ । तर, पनि कन्जर्भेटिभ नेता तथा प्रधानमन्त्री क्यामरुनका चुनौतीहरु घटेका छैनन् । स्कटलैण्डमा एसएनपीको विजयपछि वेल्स र नर्दन आयरलैण्डमा पनि क्षेत्रीय दलहरु जन्मिएका छन । यद्यपि ती दलले यसपटकको निर्वाचनमा खासै उपलब्धि हासिल गरेनन् । तर, आउँदा दिनमा स्कटलैण्डको एसएनपीझैं ती दलहरु बढ्न सक्छन् ।David Cameron UK-Election

गत वर्षको जनमतसंग्रहमा क्यामरुनले ‘नो भोटिङ’ का पक्षमा अभियान चलाउँदै स्कटिस मतदातालाई ‘संगै बस्न, अरु सबै अधिकार लिन’ आव्हान गरेका थिए । यसपालिको निर्वाचनमा आफ्नो पार्टीले जितेमा स्कटलैण्डलाई थप स्वयक्तता र वित्तीय अधिकार दिने क्यामरुनको प्रतिबद्धता छ, उनले यो बाचा कसरी पूरा गर्छन, त्यो भने हेर्न बाँकी छ ।

संघीयतातिर ढल्किदै :
बेलायतलाई एकात्मक राज्य प्रणालीको बलियो उदाहरण मान्ने गरिन्थ्यो । तर, गत वर्षको जनमतसंग्रह र यसपटकको आमनिर्वाचनमा एसएनपीको उदयले वेलायत अब सावित संरचनामा चल्न नसक्ने बरु नयाँ राज्य संरचनामा जानुपर्ने बेला भएको बताउन थालिएको छ ।

स्कटलैण्डले प्राप्त गर्ने स्वायत्ततासँगै त्यही प्रकारको स्वायत्तता वेल्स र नर्दन आयरलैण्डमा पनि माग हुने निश्चित देखिएको छ । यसको अन्तिम निष्कर्ष भनेको वेलायत अब संघीय शासन प्रणालीमा जानु नै हो ।
स्रोतः विभिन्न अनलाइन पत्रिकाहरु

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?