Comments Add Comment

भूकम्पले क्षतिग्रस्त गोरखादरबारमा प्रवेश प्रतिबन्ध

५ जेठ, गोरखा । भूकम्पका कारण क्षतिग्रस्त बनेको गोरखा दरबार क्षेत्र प्रवेशमा रोक लगाइएको छ । भूकम्पले कमजोर पारेका संरचना पराकम्पनका कारण ढल्ने क्रम बढेकाले दरबार क्षेत्र प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

सर्वसाधारणका लागि कहिलेबाट दर्शनका लागि खुला गर्ने भन्नेबारे छलफल भइरहेको अड्डाका शाखा अधिकृत विष्णु खनालले जानकारी दिए । वैशाख १२ गतेको भूकम्पले चार सय वर्ष पुरानो इतिहास बोकेको गोरखा दरबार र गोरखकाली मन्दिरसहित दर्जनौं सम्पदा भत्किएको कारोबार दैनिकमा खबर छ  ।

दरबार निर्माण राम शाहको पालामा भएको हो भने सोही हाराहारीमा गोरखकाली मन्दिरको पनि निर्माण भएको थियो । भूकम्पका कारण पृथ्वीनारायण शाह जन्मिउको कोठाको गारो भत्किएको छ भने भित्री संरचना पनि ठाउँ ठाउँमा प्वाल परेका छन् ।

त्यस्तै गोरखकाली मन्दिरको पश्चिमपट्टीको किल्ला भ्वाङ परेको छ । अहिले पनि दरबार र मन्दिरको छानोबाट निरन्तर झिँगटी खसिरहेको छ ।

कालिका मन्दिरको झिँगटीको छानो बिगि्रएको छ भने गारो र भुइँ पनि चर्किएर फुटेको छ । तामाको छानो भएको गोरखनाथको मन्दिर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गोरखनाथ मन्दिरको सामग्रीको संरक्षणका लागि पालले छोपेर राखिएको छ । तल्लोकोटको भवन तथा छानो तथा छानो पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

मन्दिरको राम शाहको चौतारो, शितल पाटी, रंग मन्दिर, पण्डित पाटी, चौघेरा दरबार तथा घोडा तबेलामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment