Comments Add Comment

एमालेका दुई ‘हात्ती’ मिल्दा बामदेवलाई सकस

Oli,-Nepal-and-Gautam

१५ जेठ, काठमाडौ । ठूला हात्तीले प्रेम गरे पनि या झगडा गरे पनि जंगल फाँडिन्छ भन्ने आहान यतिबेला एमालेभित्र चरितार्थ हुन थालेको छ । गुटका हिसाबले ठूला मानिएका केपी ओली र माधव नेपाल आपसमा मिलेपछि वामदेव गौतमले ओलीबाट धोका पाएको महसुस गर्न थालेका छन् ।

जतिबेला तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल एमाले संसदीय दलको अध्यक्षमा केपी ओलीसँग चुनाव लडिरहेका थिए, त्यसबेला माधव नेपालले खनाललाई साथ दिएका थिए । वामदेवले चाँहि केपी ओलीलाई सघाएका थिए ।

त्यतिबेला ओलीको नारा थियो, एक व्यक्ति एक पदको जिम्मेवारी हुनुपर्छ । पार्टी अध्यक्ष एकजना बन्ने हो भने संसदीय दलको नेता अर्को बन्नुपर्छ ।

त्यसैगरी पार्टीको नवौं महाधिवेशनमा पनि वामदेव गौतमले ओलीलाई बलियोसँग समर्थन गरे । झलनाथ खनालले पनि ओलीप्रति नै सहानुभूति राखे । एमाले स्रोतका अनुसार वामदेवले केपीलाई सघाउनुको भित्री शर्त थियो, आफू अध्यक्ष भएपछि संसदीय दलको नेता वामदेवलाई हस्तान्तरण गर्ने र अर्को महाधिवशेनमा पाटी अध्यक्षमा वामदेवलाई पालो दिने ।

तर, महाधिवेशन सकिएको वर्ष दिन हुन लाग्दा पनि केपी ओलीले वामदेवलाई संसदीय दलको नेता हस्तान्तरण गरेका छैनन् । ओलीले आफ्नो पूर्व अडान विपरीत पार्टी अध्यक्ष र संसदीय दलको नेता दुबै पद आफैंले राखेका छन् ।

माधव नेपालसँग मिलेमतो

महाधिवशेनका प्रत्याशी रहेका माधव र केपी कम्तिमा एक कार्यकाल मिल्न नसक्ने र आफूले ओलीबाट किनै धेरै फाइदा उठाउन सक्ने उपाध्यक्ष गौतमको आँकलन लगभग असफलजस्तै बनेको छ ।

KP-Oli-and-Madhab-Nepalअहिले केपी ओली र माधव नेपाल आपसमा मिलेका छन् ।

राष्ट्रिय सरकार गठन गर्न र ओलीलाई प्रधानमन्त्री बनाउन माधव नेपाल सक्रिय भएर भूमिका खेलिरहेका छन् ।

ओलीसँग सल्लाह गरेर नै नेता नेपालले यो भूमिका अगाडि बढाएका हुन् ।

तर, माधव र ओली मिलेकोमा उपाध्यक्ष गौतम भित्रैबाट असन्तुष्ट देखिएको एमाले सूत्रहरुको दाबी छ । ओलीले आफूसँग गरेको वचन पूरा नगरेर धोका दिएको गौतमले बताउन थालेको निकटस्थहरुको तर्क छ ।

ओली प्रधानमन्त्री भएपछि पार्टी कसले चलाउने ?

एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि पार्टीको कार्यकारी भूमिका कसले हात पार्ने भन्ने पनि हानाथाप रहेको बताइन्छ । पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष भएकाले वामदेव गौतमले पाटीृको कार्यकारी भूमिका दाबी गर्नु स्वाभाविकै छ ।

तर, बरिष्ठतामा अगाडि रहेको र सक्रियताका हिसाबले माधव नेपाल सो जिम्मेवारी लिन आतुर देखिन्छन् । र, झलनाथ खनालले पनि राष्ट्रपतिको उम्मेद्वार बन्न पाएनन् भने केही न केही भूमिका अवश्यै खोज्ने छन् ।

यो स्थितिमा ओलीले आफू प्रधानमन्त्री बनेपछि के गर्लान् भन्ने प्रश्न एमालेभित्र अहम बनेको छ । यसमा उनले अहिले सुशील कोइरालाले गरेजस्तै प्रधानमन्त्री, अध्यक्ष र संसदीय दलको नेता तीनवटै पदहरु आफैंले राख्ने सम्भावना पनि छ । दोस्रो उनले पार्टीको कार्यकारुी जिम्मेवारी माधव नेपाललाई दिने सम्भावना पनि रहेको केही नेताको आँकलन छ ।

कमजोर वामदेव, बलिया माधव

गुटगत शक्तिको हिसाबले एमालेभित्र माधव नेपाल जति बलियो छन्, वामदेव गौतमको गुट त्यति बलियो छैन । यो स्थितिमा वामदेवसँग भन्दा माधव नेपालसँग मिल्दा आफूलाई बढी सजिलो हुने केपी ओलीजस्तो चलाख नेतालाई राम्रोसित थाहा छ ।

bamdev-gautam Storyशायद यही बुझेर ओलीले यतिबेला माधव नेपालसँग सहकार्यको हात बढाएका छन् ।

तर, वामदेव गौतमलाई केपी ओलीले पूरै धोका दिएको भन्न पनि सकिँदैन । किनभने, ओलीले वामदेवलाई गृहमन्त्री र उपप्रधानमन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारी दिएर महाधिवेशनमा लागाएको गुन तिरेकै देखिन्छ ।

जे होस्, कोइराला नेतृत्वको सरकारको विकल्पमा केपी ओली प्रधानमन्त्री बन्ने गृहकार्यसँगै सबैभन्दा बढी राजनीतिक घाटा वामदेव गौतमले महसुस गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment