Comments Add Comment

विदेशीद्वारा सरकारको प्रशंसा, नेपालीबाट बेइज्जत !

१५ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अन्तराष्ट्रिय जगतले नेपाल सरकारको प्रशंसा गरे पनि नेपालीले आलोचना गर्दा देशको बेइज्जत भएको गुनासो गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

ललितपुरको बुङमती र खोकनामा भूकम्पले पुर्‍याएको क्षति शुक्रबार अवलोकन गर्दै मन्त्री गौतमले सरकारले जति काम गरेपनि जस नपाएको बताए ।

‘हाम्रै मान्छेले भएन-भएन भनेर संसारभर बदनाम गरे, त्यस्तो त गर्न भएन नी,’ गृहमन्त्री गौतमले सन्चारकर्मीसँग प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीले कोदालो खनिर बसेपछि चाहिँ सरकारले गरेको हुन्छ ?’

उनले सेना, प्रहरी, कर्मचारी, स्वयमसेवकले भूकम्प प्रभावित क्षेत्रमा गर्दै आएको काम नै सरकारले गरेको हो भनेर बुझिदिनुपर्ने बताए ।

सरकारको एक्लो प्रयासबाट मात्र भौतिक भौतिक पूर्वाधारको पुनर्निर्माण सम्भव नहुने उनले बताए । पुनर्वास र पुनर्निर्माणको काममा सरकारलाई सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

भूकम्प पीडितहरुको सुरक्षित पुनर्वास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको काम व्यवस्थित तरिकारले गर्ने कोशिस सरकारले गरिरहेको मन्त्री गौतमले जानकारी दिए ।

‘सन्चारकर्मीका कारण विदेशी सहयोग रोकियो’

शुक्रबारै आयोजित अर्को कार्यक्रममा गृहमन्त्री गौतमले विपदको बेला पनि केही सन्चारमाध्यम जिम्मेवार बन्न नसकेको आरोप लगाए ।

सामुदायिक सूचना नेटवर्क (सीआईएन)को सातौं वर्ष प्रवेशको अवसरमा शुक्रबार गरेको कार्यक्रममा गौतमले कतिपय सन्चारमाध्यमले सरकारबिरुद्ध जनमत बनाउने काम गरिरहेको आरोप पनि लगाए । सन्चार माध्यमका कारण केही वैदेशिक सहयोग रोकिएको उनले गुनासो गरे ।

रेडियोको नविकरण शूल्क मिनाह गर्न माग

कार्यक्रममा ब्रोडकास्टिक एशोसिएसन अफ नेपाल बानका अध्यक्ष गोपाल झाले रेडियोहरुको नविकरण शूल्क मिनाह गर्न माग गरे । भूकम्पले अधिकांश सामुदायिक र निजी रेडियोहरु प्रभावित भएको भन्दै उनले तत्कालको राहत स्वरुप बाषिर्क रुपमा लिइने नविकरण शूल्क मिनाहको माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सन्चारमाध्यमले सहयोगीको भूमिका निर्वाह गर्दै आएको र गरिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment